Home » » सबैलाई समेटेर पार्टी हाँक्छु: शेरबहादुर देउवा

सबैलाई समेटेर पार्टी हाँक्छु: शेरबहादुर देउवा

फाल्गुन २०, २०७२- संस्थापन पक्षतिर एकल उम्मेदवार घोषणा गर्न असमर्थ भएको सकसपूर्ण दृश्य नियालिरहेका कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा भावी सभापति निम्ति बाटो खुल्नेमा ढुक्क देखिन्थे । उनी तीनपटक प्रधानमन्त्री भए, तर नेपाली कांग्रेसको वैधानिक सभापति बन्न पाएका छैनन्– २०५९ असारमा पार्टी विभाजनपछि निर्मित कांग्रेस (प्रजातान्त्रिक) को सभापति हुनुबाहेक । झन्डै पचास वर्षदेखि राजनीतिमा सक्रिय देउवा यतिखेर राजनीतिक सहयात्री कार्यवाहक सभापति रामचन्द्र पौडेलसँग प्रतिस्पर्धा गर्दै छन् । संस्थापन पक्षबाट कृष्ण सिटौला र सुजाता कोइरालाले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेको पृष्ठभूमिमा देउवा आफ्नो पल्ला भारी हुनेमा विश्वस्त देखिन्छन् । ‘म तीनैजना नेताको गुण बोकेर कांग्रेस हाँक्छु’, कान्तिपुरसँगको कुराकानीमा भने, ‘मसँग गिरिजाप्रसाद कोइरालाको जस्तो तत्काल निर्णय लिने क्षमता, कृष्णप्रसाद भट्टराईको जस्तो न्याय गर्ने पद्धति र गणेशमान सिंहले उठाएको समावेशीपन बोक्ने चरित्र छ ।’ देउवाले नारा अघि सारेका छन्, ‘रुपान्तरित पार्टी, रुपान्तरित नेतृत्व, संविधान कार्यान्वयन, हाम्रो संकल्प : हाम्रै दायित्व ।’ उनी पार्टीभित्र मौलाउँदै गएको गुटतन्त्र र भागबन्डा अन्त्य गरी योग्यता र क्षमताका आधारमा न्याय गर्ने बताउँदै थिए । मुलुकका सामु उत्पन्न परिस्थिति, महाधिवेशनले लिने निर्णय र सभापतिको उम्मेदवारीबारे कान्तिपुरका लागि हरिबहादुर थापा , कुलचन्द्र न्यौपाने र
चन्द्रशेखर अधिकारी ले गरेको कुराकानीको अंश :
संविधान जारी भएपछि संक्रमणकालीन राजनीतिक अवस्थामा प्रमुख दल कांग्रेसको महाधिवेशन हुँदैछ, कंग्रेसले यो अवस्थालाई कसरी सम्बोधन गर्छ ?
अब कांग्रेस मुलुक र दलभित्रका समस्या सुल्झाउनेमा ध्यान केन्द्रित गरेर अघि बढ्ने हो । संविधान जारी भएपछि धेरै मुद्दाहरू सम्बोधन भएका छन् । अझै कतिपय मुद्दा सम्बोधन हुने क्रममा छन् । महिला, मधेसी, जनजाति, दलित, आदिवासी लगायतका कतिपय माग पुरा हुने क्रममा छन् । म तराई–मधेसका समस्या समाधान गर्न खुलेर लागेको हुँ । मैले कति विषयमा दलभित्र झगडा नै गरेर सम्बोधन पनि गराएँ । मधेसमा सीमांकन लगायतका विषय अझै थाँती छन् । यसको पनि सम्बोधन हुनुपर्छ । संविधान घोषणापछि त्यसले पहाड र मधेसबीच मनोवैज्ञानिक दूरी खडा गरेको छ । यो दूरीलाई जोड्न आवश्यक छ । खासगरी प्रदेश नम्बर– २ को समस्या छ । म मधेसका यी समस्या नेतृत्वमा पुगेपछि समाधान गरेरै छाड्छु । देशलाई मनोवैज्ञानिक रूपमा समेत एक बनाउनु जरुरी छ । त्यसलाई एक बनाउन मेरो पुरै प्रयत्न हुनेछ ।
मधेसका मुद्दाहरूमा तपाईं कसरी समाधान खोज्नुहुन्छ ?
सत्य के हो भने मधेसमा जुत्ता लगाउन सक्नेहरू छन्, तर पहाडमा खाली खुट्टा हिँड्न बाध्य छन् । मधेसमा विद्यालय, कलेज, उद्योग, कलकारखना र खेतीयोग्य जग्गा पनि छ, तर त्यो पनि पहाडमा छैन । यति हुँदाहुँदै पनि किन मधेसमा विकास हुनसकेको छैन ? किन समस्या देखिएको छ ? हामीले त्यसमा सोच्नुपर्छ । सम्बोधन गर्ने राजनीतिक नेतृत्वले नै हो । पहाडीले ‘डोमिनेट’ गरेको छ भन्ने मनोविज्ञानबाट मुक्त बनाउनु जरुरी छ । नेतृत्व वर्गमा रहनेहरूले यसलाई जोड दिन र समस्या कहाँनेर हो भनेर खोज्नुपर्छ । सधंै रुलिङ क्लासमा पहाडी रहे । त्यही कराण मधेसमा हामी दोस्रो दर्जाका नागरिक भयौं भन्ने जुन खालको मनोविज्ञानले काम गरिरहेको छ, यसलाई हटाउन म सक्छु । सीमांकन लगायतका विषयमा सम्बोधन गरी पहाड र तराई–मधेस बीचको दूरी हटाउन सकिन्छ ।
तपाईं आफ्नो टिममा मधेसीलाई कस्तो स्थान दिँदै हुनुहुन्छ ?
म प्रधानमन्त्री हुँदा आरक्षण व्यवस्थाको सुरुआत गरेको हो । समावेशीको मुद्दा मैले उठाएको मात्रै छैन, व्यवहारमा नै लागु गरेर देखाएको छु । महिला, जनजाति आदिवासी, पिछडा वर्ग लगायतलाई आरक्षण दिने काम मैले नै थालेको हुँ । पार्टी विभाजन भएर दुइटा हुँदा मैले आफ्नो नेतृत्वमा रहेको पार्टीलाई समावेशी बनाएको थिएँ, त्यतिबेला ‘कदमजम’ (कर्णाली, दलित, मधेस, जनजाति र महिला) को अवधारणा ल्याएको थिएँ । समावेशी बाटो मैले देखाएको हो । नेपाललाई साँच्चै एक बनाएर लैजाने हो भने समावेशीलाई हामीले ध्यान दिनैपर्छ । सबैलाई समान महत्त्व दिनु जरुरी छ । कांग्रेसले यसमा विशेष जोड दिनेछ ।
तपाईंको एजेन्डा केके छन् ?
कांग्रेसको नेतृत्वमा आएको संविधान कांग्रेसले कार्यान्वयन तहमा लैजानुपर्छ । अन्य दलबाट सम्भव देखिँदैन । नेपालप्रति सबैको अपनत्व अनुभूत गराउनेछु । लोकतन्त्र ‘वे अफ लाइफ’ बनाउने माहोल सिर्जना गर्छु । समावेशीबाट यो सम्बोधन हुँदै आएको छ । नेपालमा दलित किन प्रधानमन्त्री हुन नसक्ने भन्ने अवस्था सिर्जना गर्न आवश्यक छ । एकीकृत नेपाल भनेकै त्यही हो, त्यसैका लागि कांग्रेसको सबल नेतृत्व चाहिन्छ ।
सभापति निर्वाचित हुनुभएमा यी सबै विषय सम्बोधन गर्न सक्नुहुन्छ भन्ने आधार केके छन् ?
यस्ता विषय सम्बोधन नगरी सुखै छैन । म त पहिलेदेखि नै समानतानिम्ति अघि बढेको व्यक्ति हुँ । तत्कालीन कांग्रेस प्रजातान्त्रिक र कांग्रेसलाई एक बनाउने बेलामा मैले गिरिजाबाबुलाई सबैको अधिकार तथा आरक्षण हुने प्रणाली राख्नुपर्ने अडान लिएको थिएँ । भलै नेतृत्व उहाँले गर्नुभयो । मलाई त्यो बेलामा कार्यभार सभापति दिने भन्नुभएको थियो । हामीले संस्कार पाएकै कारण मैले उहाँको अभिभावकत्व स्वीकारेँ । जुन विचार र अवधारणा मेरो थियो, त्यही आधारमा गिरिजाबाबु पनि अघि बढ्नुभयो । नेपाल एक बनाउने र राष्ट्रिय एकताको माध्यम नै समावेशी हो ।
तपाईंको टिममा अनुहारबाटै समावेशी झल्कने अवस्था कति छ ?
टिम बनाउँदा चुनाव जित्ने रणनीतिमा आधारित रहेर पनि बनाउनुपर्ने हुन्छ । मैले टिमभन्दा पनि हाम्रो राज्य संरचना र प्रणालीलाई समावेशी बनाउनुपर्छ भन्ने जोड दिंँदै आएको छु । चुनावमा जित्नेगरी अघि बढ्नुपर्ने हुन्छ । यसमा म सचेत छु । समावेशीलाई ध्यान दिएरै मेरो उम्मेदवारी अघि बढेको हो । पार्टीभित्र पदाधिकारी बढाउने विषय पनि आए । महाधिवेशनपछि महासमिति बैठक बोलाएर सबैलाई समेट्नेगरी पार्टी संरचना बनाउन सकिन्छ । त्यति हुँदाहुँदै पनि सबैलाई समेट्ने प्रयत्न जारी छ । मेरो टिम समावेशी भयो या भएन भन्दा पनि पद्धति र प्रणाली समावेशी भयो, भएन भन्ने महत्त्वपूर्ण कुरा हो ।
विचारका दृष्टिले कांग्रेसभित्र किन बहस र छलफल हुँदैन ?
विचारका दृष्टिले हामीबीच खासै भिन्नता छैन । कम्युनिष्टको जस्तो दुई लाइन संघर्ष हाम्रो पार्टीमा हुँदैन । सहमतिमा हामी अघि बढ्छौं । प्रजातन्त्रको मूलभूत मान्यतामा असर गर्ने खालको हाम्रो कुनै पनि नीति र कार्यक्रम बन्दैन । बहुदलीय प्रजातन्त्र, बहुलवाद, मानवअधिकार, प्रेस स्वतन्त्रता, मित्रराष्ट्रहरूसँगको समान सम्बन्ध लगायतका लोकतन्त्रका मान्यताविरुद्ध कांग्रेस कहिल्यै जान सक्दैन । यी विषयमा कांग्रेसमा कहिल्यै मतभिन्नता हुँदैन । अब दरबार भन्ने इतिहास भइसकेको छ । बाबुलाई बचाएर ल्याउने व्यक्तिलाई राजा महेन्द्रले जेल हालेकै हो । पटक–पटक प्रजातन्त्र र कांग्रेसमाथि दु:ख दिने काम तत्कालीन दरबारले गरेकै हो । जसको परिणामबाट उनीहरू एकादेशका राजा भए । अब लोकतन्त्र र स्वतन्त्रतालाई लिएर पटक–पटक आन्दोलन गर्नु नपर्ने स्थायी शासन व्यवस्था कायम गर्ने हाम्रो चुनौती छ । त्यसका लागि पहिलो काम संविधानको कार्यान्वयन पक्ष हो । संविधान कार्यान्वयनका बेला सबै पक्षले अपनत्व महसुस गर्ने माहोल सिर्जना गर्नुपर्छ । अर्कातिर विगतमा पार्टी सञ्चालन परम्परागत ढर्राबाट अघि बढ्यो । समयमा निर्णय हुन सकेन । यसबाट हामीले साथीभाइलाई दिन सकिने थुप्रै अवसर गुमायौं । यतिखेर म कसैलाई दोष दिन चाहन्न । समयमा निर्णय नगर्दा भूकम्पपछिको पुनर्निर्माण विधेयक नै हामीले गुमायौं । सरकारले मनोनीत गर्ने सांसद पनि गुमायौं । अब म त्यस्तो अवस्था आउन दिन्न ।
नेतृत्वका लागि २१ वर्षपछि कोइराला परिवार बाहिर प्रतिस्पर्धा हुँदैछ, यसलाई कसरी लिनुभएको छ ?
अब पनि परिवारको नाममा पार्टी नेतृत्व लिन्छु भन्नु जनताप्रति अन्याय हुन्छ । पार्टीमा काम गरेर कोही आउँछन्, त्यसमा केही छैन । तर पारिवारिक लिगेसी बुबा, हजुरबुबा, काका, फुपूको नामबाट आउने होइन कि क्षमताका आधारमा हुनुपर्छ । परिवार भनेको कोइराला मात्रै होइन, ‘कोइराला थर’ खोज्नुभएको हो भने त्यसलाई म मान्दिन । परिवार भनेका हामी नै हौं । म कोइराला थरको कुनै ‘लिगेसी’मा विश्वास गर्दिन । शेरबहादुर देउवा बीपीले अघि बढाएको गिरिजाप्रसादसँग लडेर आएको व्यक्ति हो । मलाई यो हैसियतमा ल्याउने काम गिरिजाप्रसादले नै गर्नुभएको हो ।
तर लामो समयपछि कोइराला परिवार बाहिरबाट प्रतिस्पर्धा हुँदैछ नि त ?
यो पार्टीमा कोइराला परिवारको मात्र योगदान छ भन्नु अन्याय हुन्छ । कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, सुवर्णशमशेरको योगदानलाई पनि हामीले भुल्नहुन्न । हामीले झन्डै एक दशक लगाएर संविधान बनायौं । तर भट्टराईले त्यतिबेला ६ महिनामै संविधान बनाएका हुन् । २०४६ सालका कमाण्डर गणेशमान पार्टीबाट बाहिरिने अवस्था आयो । भट्टराई र सिंहले पार्टी छाड्ने अवस्था कसरी आयो ? त्यसलाई ह्दयंगम गरी अघि बढ्न जरुरी छ । अब त्यस्तो अवस्था आउन नदिन पार्टीभित्र युवा पंक्ति सचेत भएर आएको छ ।
तपाईंले नेतृत्व गर्ने क्षमता आफूसँग मात्रै छ भन्न खोज्नुभएको हो ?
शेरबहादुर नभए अब को हुने त ? म तीनपटक प्रधानमन्त्री भएको व्यक्ति, कांग्रेस विभाजित हुँदा पनि हाराहारीको पार्टी बनाएँ । मलाई २०५९ सालमा कांग्रेसको साधारण सदस्यबाट निकालेका गिरिजाबाबुले पाँच वर्षपछि ‘रेड कार्पेट’ बिछ्याउनुभएको होइन र ? क्षमता नभएको या केही गर्न नसक्ने भए किन त्यस्तो हुन्थ्यो ? त्यसैले पार्टी र मुलुकलाई नेतृत्व दिनसक्ने कांग्रेसमा म मुख्य दाबेदार हुँ । मलाई अरू लोभ पनि छैन । कांग्रेसलाई एकढिक्का बनाउने, मुलुकको एकता कायम गरी राष्ट्रियता बलियो बनाउने मेरो स्वार्थ छ । कांग्रेसलाई तलदेखि माथिसम्म बलियो र भावनात्मक रूपमा एक बनाउने जोड मेरो छ । यसका लागि नै मेरो उम्मेदवारी हो । निर्णय लिन सक्ने र पार्टीका तमाम साथीहरूलाई न्याय दिन सक्ने व्यक्तिले मात्र पार्टी चलाउन सक्छ ।
नेतृत्वका लागि सहमति हुने सम्भावना कतिको छ ?
अब धेरै ढिलो भयो । सबैलाई आफ्नो नेतृत्व चाहिएको छ । कसरी सहमति हुन्छ ? म नै अब मुख्य दाबेदार हुँ । सुशीलपछि दोस्रो नम्बरमा म नै हुँ । त्यसैले मेरो स्वाभाविक दाबी हो । पार्टी एक बनाउन सकिन भने मलाई त्यसपछि मेरो आलोचना गर्नुहोला । म पार्टी मिलाएर सोचेको भन्दा पनि माथिल्लो स्तरमा पुर्याउँछु, त्यो क्षमता मसँग छ । मेरो कुनै कोटरी छैन । सुझाव लिन्छु । तर निर्णय आफैं गर्छु ।
गिरिजाप्रसादको जस्तै तत्काल निर्णय गर्न सक्ने बानी आफूमा भएको दाबी हो तपाईंको ?
गिरिजाप्रसाद कोइरालामात्रै होइन, गणेशमान र कृष्णप्रसादको गुण पनि मसँग छ । मैले उहाँहरूसँग नजिक रहेर काम गरेँ । गिरिजाप्रसादको जस्तो तत्काल निर्णय गर्ने क्षमता, गणेशमानको जस्तो समावेशी हुनुपर्छ भन्ने भावना र कृष्णप्रसादको जस्तो न्याय गर्ने शैली मेरो छ । तीनै नेताहरूको गुण र बीपीको आदर्श बोकेर म पार्टीलाई अब्बल बनाउन चाहन्छु । मुलुकमा सिर्जित समस्याको तत्काल निकास दिनसक्ने एक ढिक्काको कांग्रेस बनाउन चाहन्छु । मैले यी कुरा दाबी गरेको मात्रै छैन, व्यवहारमा देखाइरहेको छु । म निकट रहेकाहरूले त्याग गर्नुभएको छ । पदाधिकारी हुने हैसियत नभएका कारण होइन । पार्टी एक बनाउन उहाँहरूले त्याग देखाउनुभएको छ । यो भावना म भोलि निर्वाचित भएपछि अघि बढाउन चाहन्छु । म जित्ने र हार्नेबीच दूरी बढ्न दिन्न । सबैलाई न्याय गर्छु ।
यस्तो विभाजनबीच महाधिवेशन हुँदैछ भने भावनात्मक एकता कसरी सम्भव छ ?
पार्टी एक बनाउन नसके म किन उम्मेदवार दिने ? पार्टीका सबै साथीलाई न्याय दिने काम मबाट हुन्छ । भागबन्डा हुन्न । कांग्रेस सधंै दु:ख पाएको पार्टी हो । राणा, पञ्चायत र राजतन्त्र अन्त्य गर्ने पार्टी हो । बीपीले सुर्वणशमशेर, किसुनजी, गणेशमान, सूर्यप्रसादसँग सल्लाहगरेर नै पार्टी चलाउनुभएको हो । म त्यही शैलीबाट पार्टी चलाउँछु ।
त्यसो भए संस्थापन र देउवा भन्ने अब रहँदैन ?
यो त तपाईं (सञ्चारकर्मी) हरूले बनाएको हो । संस्थापन र अर्को पक्ष भन्ने नै छैन । सुशीलको निधनपछि म दोस्रो नेता भएपछि संस्थापन म नै भएँ । अब त हामी एक भएर लोकतन्त्रलाई जीवन पद्धतिको रूपमा अघि बढाउनुपर्छ । लोकतन्त्रलाई जीवन पद्धतिको रूपमा विकास गर्नसके मात्रै कसैले खोस्न सक्दैन ।
अझै लोकतन्त्रमा खतरा देख्नुभएको छ र ?
लोकतन्त्रमा खतरा कतैबाट छैन । यसलाई जनताको जीवन पद्धति बनाउने भन्ने हो । किनभने फेरि लोकतन्त्रको नाममा कसैले पनि संघर्ष गर्न नपरोस् भन्ने हो । म त्यही भएर बारम्बार भन्छु– स्वतन्त्रता, स्वतन्त्रता, स्वतन्त्रता । अमेरिका, भारतमा प्रजातन्त्र कसैले खोस्न सक्दैन । तर नेपालमा किन यस्ता घटना बारम्बार भइरहन्छन् ? अब हाम्रो राज्य प्रणालीका अंगहरूलाई यस्तो बनाउनुपर्छ, जसले चाहेर पनि हाम्रो लोकतन्त्र र स्वतन्त्रता हरण गर्न नसकोस् । प्रतिपक्ष बलियो भयो भनेमात्र प्रजातन्त्र संस्थागत हुन्छ । ग्रासरुटमा लोकतन्त्र बलियो बनाएर लैजानुपर्छ । महाधिवेशन प्रतिनिधिमा बुझेका नेताहरू आउनुभएको छ । उहाँहरूबाट म न्याय खोजिरहेको छु । जिल्ला, क्षेत्रबाट आउनुभएका नेता–कार्यकर्ताहरूको न्यायले नै कांग्रेस र मुलुकले न्याय पाउने हो । सबैको साथमा हुँदामात्र देउवा अघि बढ्न सक्छ ।
कांग्रेसमा देखिएका गुट र टुटफुटले गर्दा नेपालमा अन्य शक्तिहरूको प्रभाव बढेको भन्ने छ हो ?
कहाँ त्यस्तो छ र ? जहिले पनि कांग्रेसकै जित भएको छ । कम्युनिष्टहरू कांग्रेसले लिएको बहुदलीय शासन प्रणालीको प्रक्रियामा आइसके । हामी त जन्मदै ‘डेमोक्र्याट’ । कम्युनिष्टहरू हाम्रै सिद्धान्त पछ्याएर रूपान्तरण हुँदैछन् । उनीहरू हाम्रो बाटोमा आएका छन् भने हामी कसरी कमजोर ?
आफ्नै समकालीन साथी रामचन्द्र पौडेलसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ, कस्तो लागेको छ ?
मैले त भनेकै हो । मिलेर जाऔं । आवश्यकता पर्दा सरकार तपाई चलाउनुस्, पार्टी म चलाउँछु । उहाँले मान्नु भएन । उहाँले पार्टी र सरकार दुवै चलाउँछु भन्ने सोच राख्नुभयो । अब मैदानमा लोकतान्त्रिक पद्धतिअनुरूप छिनोफानो भइहाल्छ । २०५६ सालमा भट्टराई प्रधानमन्त्री हुँदा फ्रान्स भ्रमण गरेपछि राजीनामा दिन्छु भन्दा पनि छुट दिइएन । भट्टराईमाथि त्यसरी अन्याय भएकै कारण म दसौं महाधिवेशनमा गिरिजाबाबुसँग चुनाव उठेको हुँ, जित्न होइन ।
युवाहरूलाई पदाधिकारीमा नल्याएकोमा गुनासो छ, तपाईंले युवाहरूलाई स्थान दिने विषयमा कस्तो सोच बनाउनुभएको छ ?
युवाहरूको गुनासो जायज हो । कांग्रेसको त ‘दाइ कल्चर’ छ । हाम्रोमा दाइहरूलाई सम्मान गर्ने ‘संस्कृति’ छ, कम्युनिष्टमा कमरेड कल्चरजस्तै । यसैले पनि ‘सान्दाज’ु, ‘ठूल्दाजु’ भन्ने कल्चरले भाइहरूलाई अन्याय परेको अनुभव भएको होला । कतै न कतै भाइहरूलाई विस्तारै ल्याउन जरुरी छ । म पनि विद्यार्थी नेताबाट आएको हुँ । मैले त्यो भावना बुझेको छु । एकैचोटी पदमा भन्दा पनि आफूलाई दिएको जिम्मेवारीमा बढी केन्द्रित हुनसके माथि उठ्न सकिन्छ । क्षमता आफूमा पनि विकास गर्नु जरुरी छ । युवाहरूले पनि आकांक्षा धेरै राख्नेभन्दा पनि काम गरेर अघि बढ्नु जरुरी छ ।
कांग्रेसको केन्द्रीय सदस्य पाका छन्, तर एमालेमा युवाहरू नै पदाधिकारीहरूमा हावी भएको अवस्था छ, तपाईंहरू कसरी मिलाउँदै हुनुहुन्छ ?
यो पार्टी नै पुरानो हो । छिटो इतिहास भएका पार्टीहरूमा त्यस्तो हुनसक्छ । कांग्रेस जस्तो पुरानो पार्टीमा सबै कुरा एकैचोटी हुन्न । इतिहास बोकेको पार्टीमा पाकाहरूको बाहुल्य देखिनु अस्वाभाविक होइन । तर पाकाहरूले युवाका भावना बुझेर अघि बढ्न जरुरी छ । म युवा, महिला, जनजाति, मधेसी, थारु लगायत सबैलाई मिलाएर अघि बढाउन चाहन्छु ।
नेपाली कांग्रेसको महाधिवेशनमा मित्रराष्ट्रको भूमिका कस्तो छ ?
विदेशीसँग सम्बन्ध हाम्रो धेरै राम्रो छ । पुरानो दल भएको कारण सबैसँग सम्बन्ध हुनु स्वाभाविक हो । दक्षिण एसियामा नेपाली कांग्रेस निकै पुरानो पार्टी हो । नेपालमा प्रजातन्त्रका लागि संघर्ष गर्दा भारतमा रहेको कारण पनि नेपाली नेताको भारतसँग सद्भाव रहन्छ । खासगरी नेपालीको भारतसँगको सम्बन्ध विशेष नै छ । चाहेर वा नचाहेर पनि त्यो सम्बन्ध छ । पारिवारिक सम्बन्ध छ । खुला सीमा छ । विहार र उत्तराखण्डसँग हाम्रो विशेष सम्बन्ध छ । पछिल्लो समय भारतसँग असमझदारी देखिएको हो । त्यो छलफलबाट टुंगोमा पुग्न सक्ने अवस्था थियो । त्यो असझदारी हटाएर अघि बढ्न जरुरी छ । महाधिवेशनमा भारत, चीन लगायत अन्य मुलुकका नेता तथा प्रतिनिधिहरू आउँछन् । विशेषगरी नेपालको विकासमा उनीहरूको चासो रहन्छ नै ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved