Home » » कञ्चनपुरः औषधि अभाव हुँदा सर्पदंश उपचार केन्द्र बन्द हुने अवस्थामा

कञ्चनपुरः औषधि अभाव हुँदा सर्पदंश उपचार केन्द्र बन्द हुने अवस्थामा


कञ्चनपुर, ७ चैत । सर्पदंशका बिरामीलाई सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले कञ्चनपुरको अर्जुनीमा स्थापना भएको सर्पदंश उपचार केन्द्रमा औषधि अभाव भएको छ ।
नेपाली सेनाको प्राविधिक सहयोगमा समुदायद्वारा सञ्चालनमा ल्याइएको उपचार केन्द्रमा ‘एन्टी स्नेक भेनम’को अभाव भएको हो ।
निःशुल्क रुपमा औषधि उपलब्ध गराउनका लागि सरकारी निकायले चासो नराख्दा सर्पदंशका बिरामीलाई सेवा दिन नसकिने अवस्था रहेको केन्द्रका अध्यक्ष लोकेन्द्र ऐरीले बताए ।
“औषधि अभाव भएपछि सर्पदंशका बिरामीलाई अन्यत्र पठाउनुपर्ने अवस्था सिर्जना भएको छ” – उनले भने ।
यसैगरी, सर्पदंशका बिरामीलाई सहज रुपमा सेवा दिनका लागि निर्माण थालिएको भवनसमेत रकम अभावले अलपत्र परेको छ ।
जिल्ला विकास समिति कञ्चनपुरले रु एक लाख २५ हजार र झलारी पिपलाडी नगरपालिकाले रु एक लाख ५० हजार रकम प्रदान गरेर निर्माण थालेको भवनको छाना राख्नका लागि रकम अपुग भएपछि अलपत्र परेको हो ।
निर्माणाधीन चारकोठे भवनका लागि अझै रु १२ लाख आवश्यक पर्छ अध्यक्ष ऐरीले भने – “रकम जुटाउनका लागि दातृनिकायसँग आग्रह गरेका छौँ ।” हालसम्म कुनै पनि निकायबाट रकमको व्यवस्था नहुँदा केन्द्रको भवन निर्माणको कार्य चार महिनादेखि अलपत्र परेको हो ।
गत वर्षदेखि सञ्चालनमा आएको सर्पदंश उपचार केन्द्र नेपाली सेनाकै ब्यारेकको कोठामा सञ्चालन हुँदै आएको छ ।
उपचार केन्द्रमा एक वर्षअघि निःशुल्क रुपमा ५० बढी सर्पदंशका बिरामीको उपचार गरिएको छ ।
http://swasthyakhabar.com/ बाट


Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved