Home » » प्रधानमन्त्री फागुनभित्रै भारत र चीन जाने...

प्रधानमन्त्री फागुनभित्रै भारत र चीन जाने...

पुस १९, २०७२- आफू नेतृत्वको
सरकार कति समय टिक्छ भन्ने
चिन्ता नभएको बताइरहेका
प्रधानमन्त्री केपी शर्मा ओलीले
आगामी १० साता (अढाइ महिना)
भित्रै दुवै छिमेकी मुलुकको भ्रमण गर्ने गरी
तयारी अघि बढाएका छन् ।
उनले फागुन पहिलो साताभित्र भारत
भ्रमण गरिसक्ने र त्यसै महिना तेस्रो
साता चीन जाने तयारी भइरहेको
परराष्ट्र मन्त्रालय स्रोतले बतायो ।
दुवै मुलुकका सरकार प्रमुखबाट निम्तो
पाएका प्रधानमन्त्री ओलीले चीनबाट
विदेश यात्रा आरम्भ गर्ने अधिकारीहरूले
बताउँदै आए पनि उनी पहिले दक्षिणतर्फ
नै जाने सम्भावना बढेको परराष्ट्र
अधिकारीले बताए ।
वीरगन्ज नाका नखुलेसम्म भारत भ्रमण
नगर्ने अडानमा रहेका प्रधानमन्त्री
फागुनमा भारत जाने योजना रहेको, तर
नाका खुल्न ढिला गरिएमा पहिले चीन
जाने विकल्प खुला नै राखिएको अर्का
अधिकारीले बताए ।
प्रधानमन्त्रीका राजनीतिक
मामिलासम्बन्धी प्रमुख सल्लाहकार
विष्णु रिमालले आगामी तीन
महिनाभित्र दुवै छिमेकीको औपचारिक
भ्रमण गर्ने तयारीअनुरूप अघि बढेको
बताए । ‘मधेसीसहित सबैको समर्थनमा
राष्ट्रिय एजेन्डामा एक भएर सम्बन्धमा
थप आयाम आउने गरी भ्रमणको तयारीहरू
अघि बढेको हो,’ रिमालले बताए ।
प्रमुख सल्लाहकार रिमालका अनुसार,
‘भ्रमणअगाडि विविध दुईपक्षीय बैठकहरू
लगातार हुनेछन् अनि मात्र भ्रमणमा
जाने तयारी छ । भारत र चीन दुवै
तर्फबाट भ्रमणको निमन्त्रणा आएकाले
तयारी पनि त्यहीअनुरूप अघि बढेको हो
।’
स्रोतका अनुसार प्रधानमन्त्री बेइजिङ
जाने तयारी स्वरूप नै चीनका लागि
राजदूत महेशकुमार मास्केको समयावधि
चार महिना थपिएको हो । भारत भ्रमण
केही ढिलो हुने संकेत आएपछि चार
महिना समय थपिएको परराष्ट्र
अधिकारीले बताए ।
प्रधानमन्त्री ओलीले भारतीय समकक्षी
नरेन्द्र मोदीसँग तीन दिनअघि टेलिफोन
संवाद गरेपछि भारत भ्रमणको
समयतालिका तय गर्न उनले हतारो
देखाएको एक अधिकारीले बताए ।
यद्यपि फ्रान्सका राष्ट्रपति फ्राँस्वा
ओलान्डको प्रमुख आतिथ्य रहने भारतको
गणतन्त्र दिवस (जनवरी २६)
समारोहपश्चात् मात्र ओलीको दिल्ली
भ्रमण सम्भव हुने स्रोतको भनाइ छ ।
प्रधानमन्त्री ओलीले भारतीय
समकक्षीलाई फोन गरेर नेपालमा
भइरहेको राजनीतिक विकासक्रमबारे
जानकारी दिँदै समस्या समाधानका
लागि वीरगन्ज नाका खोल्न आग्रह
गरेका थिए ।
उनले मधेसी दलसँगको वार्ता अघि
बढेको र समस्या समाधानका लागि
संविधानसमेत संशोधनमा गइसकेको भन्दै
मोदीसँग छलफल गरेका थिए ।
‘भ्रमणको बारेमा अनौपचारिक छलफल
भएको होला, कूटनीतिक च्यानलबाट
औपचारिक रूपमा अघि बढेको छैन ।
आन्तरिक समस्या समाधान हुने भएपछि
तिथिमितिबारे छलफल होला तर
निश्चित नभएसम्म कसरी भन्नु,’ परराष्ट्र
प्रवक्ता ताराप्रसाद पोखरेलले
कान्तिपुरसँग भने ।
यसैबीच, भारतीय विदेश मन्त्रालयको
नेपालसमेत हेर्ने नर्थ डेक्स प्रमुख अभय
ठाकुरसहितको टोली यतिबेला
काठमाडौंमा छ । भारतका लागि
नेपालका राजदूत दीपकुमार उपाध्याय
पनि नेपाल आएका छन् ।
बीपी कोइराला फाउन्डेसनको बोर्ड
बैठकमा सहभागी हुन उनीहरू आएका हुन् ।
दुवै राजदूतको सहसंयोजनमा हुने उक्त
बैठकमा नेपाल र भारतबीचको सहयोग र
सहकार्यको प्राथमिकताबारे छलफल
हुनेछ । बैठक आइतबारबाट दुई दिन चल्नेछ ।
भारतीय टिमले तीन दिनपछि हुने
पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाका
सम्बन्धमा समेत छलफल गर्नेछ । भारतीय
दूतावासमा शनिबार विभिन्न
राजनीतिक दलका नेता तथा परराष्ट्र
क्षेत्रका विज्ञसँग छलफल गर्दै ठाकुरले
नेपालमा भारतविरोधी भावना
बढेकोमा चिन्ता व्यक्त गरेका थिए ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved