काठमाडौं-चीन नेपालको आग्रह स्विकार्दै केरुङबाट काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्ग निर्माण गरिदिन सहमत भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको जारी चीन भ्रमणक्रममा उनले रेलमार्ग निर्माण गरिदिन गरेको आग्रहमा चीनले स्विकारेको हो।
चीनले सहमति जनाएको नेपाली प्रस्तावमा रेलमार्ग केरुङबाट काठमाडौं हुँदै पोखरा पुग्ने र त्यहाँबाट लुम्बिनीसम्म विस्तार हुने उल्लेख छ । चीनको 'क्यामसी' नामक कम्पनीले यसअघि नै काठमाडौं–पोखरा रेलमार्ग अध्ययन सुरु गरिसकेको छ ।
नेपालमा रेलमार्ग निर्माण गर्न भारत जुन रुपमा अघि सरेको छ, त्यही गतिमा चीनले समेत चासो र इच्छा देखाएको छ । रेलमार्ग विस्तारमा दुवै देशको चासो उच्च हुनुले यहाँसम्म कसले पहिला आफ्नो पहुँच बढाउने भन्नेमा प्रतिस्पर्धा सुरु भएको पूर्वाधार क्षेत्रका विश्लेषकको टिप्पणी छ ।
चिनियाँ कम्पनीले काठमाडौं–पोखरा खण्ड अध्ययन गरिरहँदा केरुङ–काठमाडौं खण्डमा पनि उत्तिकै चासो देखाएको रेलविभागका महानिर्देशक अनन्त आचार्यले बताए । 'क्यामसीले काठमाडौं–पोखरा अध्ययन गर्दैछ तर अहिलेसम्म प्रतिवेदन बुझाएको छैन,' उनले नागरिकसँग भने, 'हामीले पोखरा–लुम्बिनी खण्ड पनि अध्ययन गरिदिन आग्रह गरेका छौं ।'
दुई देशबीच सोमबार पारवहनलगायत दसबुँदे सम्झौता तथा समझदारी भइसकेको छ ।
भारतले पनि गएको फागुन १४ संसद बैठकमा रेल बजेट प्रस्तुत गर्दै उत्तरप्रदेशको सिद्धार्थनगरदेखि काठमाडौंसम्म रेलमार्ग विस्तार गर्न बजेट छुट्याएको छ । एकै समयमा चीनले नेपालको प्रस्ताव स्विकार्नुलाई दुवै मुलुकले यहाँसम्म रेलमार्ग विस्तार गर्दै आफ्नो भूमिका देखाउन खोजेको यस क्षेत्रका जानकार बताउँछन् ।
दुवैले रेलमार्ग बनाउन प्रतिस्पर्धा गरे पनि भारतको भन्दा आधुनिक प्रविधि चीनसँग भएकाले उतै जोडिँदा नेपाललाई फाइदा हुने पूर्वाधार क्षेत्रका विज्ञ सूर्यराज आचार्यले बताए । 'चीनले चासो देखाउँदा भारत अघि आउनु स्वाभाविक हो तर विगतमा भारतका काम हेर्दा अवरोध बढी हुने गरेको छ,' आचार्यले नागरिकसँग भने, 'प्रधानमन्त्रीको भ्रमणमा चीनले सहमति जनाउनु सकारात्मक कुरा हो ।'
आचार्यका अनुसार चीनको रेलमार्ग निर्माण प्रविधि संसारमै उत्कृष्ट छ । यही कारण भारतभन्दा चीनको चासो र सहमति बढी फाइदाजनक हुने देखिन्छ । 'चीनले चाहे रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनीसम्म सजिलै रेलमार्ग विस्तार हुन सक्छ तर भारतले चाहेर पनि काठमाडौंसम्म रेल आउँदैन,' उनले भने ।
चीनसँग प्रधानमन्त्री ओलीले रणनीतिक तहमा छलफल गरेको भए त्यो निकै उपलब्धिमूलक हुने आचार्यको तर्क छ । बुलेट रेलमार्ग निर्माणको आधुनिक प्रविधि सुरुमा सन् १९६४ मा जापानले सुरु गरेको थियो । ५२ वर्षमा जापानले करिब २ हजार ८ सय किलोमिटर मात्र निर्माण गर्न सक्यो तर चीनले पछिल्लो १० वर्षमा १९ हजार किलोमिटर बुलेट रेलमार्ग निर्माण गरिसकेको आचार्यले जनाए ।
भारतले रेलमार्ग निर्माणमा प्रयोग गरेको प्रविधि 'ब्रोड गेज' हो भने चीनमा विस्तार भएको स्ट्यन्र्डर्ड गेज हो । संसारभर अहिले ७० प्रतिशतभन्दा बढी स्ट्यान्र्डर्ड गेज प्रविधिमा रेलमार्ग निर्माण भइरहेको आचार्य बताउँछन् ।
ओली भ्रमणक्रममा चीनले नेपालको आग्रहमा सहमति जनाएको हो भने नेपालमा स्ट्यान्र्डर्ड गेज प्रणालीमै रेलमार्ग बन्न सक्छ । राजनीतिक र रणनीतिक तहमा छलफल गरेर चीनको सहमति कार्यान्वयन गर्न जोड दिनुपर्नेमा विभागकै कर्मचारी समेत जोड दिन्छन् ।
चीनले सन् २०२० सम्म तिब्बतको सिगात्सेबाट केरुङसम्म रेल ल्याउँदैछ । नेपालले पहल गरे उक्त मार्ग रसुवागढी–काठमाडौं हुँदै पोखराबाट लुम्बिनी जोड्न सकिने आचार्य बताउँछन् । काठमाडौं वा नेपालमा रेलमार्ग विस्तारमा चीनको गतिविधि नजिकबाट नियालिरहेको भारतले एकतर्फी सिद्धार्थनगर–काठमाडौं रेलमार्ग बनाउन ५४ करोड भारु छुट्ट्याएको छ । 'रेल इन्डिया टेक्निकल एन्ड इकोनोमिक सर्भिस (राइट्स)' ले २०६६ मै पूर्व–पश्चिम विद्युतीय रेलमार्गसँगै काठमाडौं–आँबुखैरेनी–तमसरिया (नवलपरासी) को समेत सम्भाव्यता अध्ययन गरेको थियो ।
काठमाडौं हुँदै नेपालभरि रेलमार्ग निर्माण गर्न चीन र भारतले देखाएको चासो स्ट्यान्र्डर्ड र ब्रोड गेज प्रणालीको प्रतिस्पर्धा भएको पूर्वाधार विज्ञ आचार्यको तर्क छ । उनका अनुसार ब्रोड गेज लिकको चौडाइ ५.१६ इन्च हुन्छ भने स्ट्यान्र्डर्ड गेजमा ४.८ इन्च मात्र ।
ब्रोड गेजका लिकमा चल्ने रेलका डब्बा फराकिला हुन्छन्, यी समथर क्षेत्रमा बढी उपयोगी हुन्छन् तर स्ट्यान्र्डर्ड गेजमा रेल पहाडी क्षेत्रमा पनि सजिलै चल्न सक्ने हुँदा चीनको प्रविधि नेपालमा बढी उपयोगी हुने उनी दाबी गर्छन् ।
भारतले सन् २०१२ देखि २०१४ सम्म कुशिनगर–कपिलवस्तु १ सय ३५ किलोमिटर रेलमार्ग निर्माण गर्न जोड गरेको थियो तर नेपालले चासो नदेखाएपछि त्यत्तिकै थन्कियो । कुनै न कुनै स्थानबाट चीनले भन्दा पहिला नेपालमा रेल ल्याउन भारत लागेको विभागकै अधिकारी बताउँछन् ।
चीनलाई पछि पार्न भारतले सीमा क्षेत्रका ५ स्थानबाट नेपाल जोड्न रेलमार्ग निर्माण सुरु गरिसकेको छ । विभागका अनुसार भारतीय सहयोगमा जोगबनी–विराटनगर (१८ किलोमिटर) र जयनगर–जनकपुर–बिजलपुरा (६९ किलोमिटर) को ४० प्रतिशत काम भइसकेको छ । न्युजलपाइगुढी–काँकडभित्ता (४६ किलोमिटर), नौतनवा–भैरहवा (१२ किलोमिटर) र नेपालगन्ज रोड–नेपालगन्ज (१५ किलोमटिर) खण्ड दोस्रो चरणमा बनाइदिने वचन दिएको छ ।
तराईमा रेलमार्ग विस्तारमा भारत अघि देखिए पनि उसको प्रविधिले काठमाडौं वा पहाडी क्षेत्र जोड्न नसक्ने आचार्यको ठहर छ । 'भारतले अपनाएको ब्रोड गेज प्रणाली विश्वबाटै हराउँदै गएकाले पनि नेपालका लागि त्यो उपयोगी हुँदैन,' उनले थपे, 'हामीले विश्वमा प्रयोग भएको आधुनिक प्रणाली अपनाउन जरुरी छ ।'
स्ट्यान्र्डर्ड गेज प्रणाली नभएकैले भारतले अहमदाबाद–बम्बई (५ सय ५० किलोमिटर) बुलेट रेलमार्ग निर्माण गर्न जापानलाई अनुरोध गरेको छ । भारतकै अनुरोधमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले उक्त मार्ग निर्माण तयारी गरेको छ ।nagarik news बाट
Home »
international news
» रेलमार्ग बनाइदिन चीन तयार
रेलमार्ग बनाइदिन चीन तयार
Posted by Unknown
Posted on 7:55 PM
with No comments
Labels:
international news
0 comments:
Post a Comment