Home » » मधेसी मोर्चाभित्रै चिनियाँ कार्ड ! यसरी हुँदैछ मधेसमा चीनलाई तान्ने प्रयास

मधेसी मोर्चाभित्रै चिनियाँ कार्ड ! यसरी हुँदैछ मधेसमा चीनलाई तान्ने प्रयास


६ पुस, काठमाडौं ।  मधेसी मोर्चाका नेताहरुले चिनियाँ राजदूत उ चुन्ताईसँग भेटवार्ता गरेको र राजदूतले मधेस आन्दोलनलाई समर्थन जनाएको समाचार मधेसबाट प्रकाशित केही मिडियामा छाएको छ । तर, चिनियाँ राजदूतलाई मधेसी नेताहरुले भेटेको समाचारलाई मोर्चाभित्रैबाटै खेलिएको चिनियाँ कार्डका रुपमा हेर्न थालिएको छ ।

‘यो मोर्चाभित्रैका केही साथीहरुले चलाएको होहल्ला हो, कोही पनि नेताले चिनियाँ राजदूतलाई भेटेकै छैन,’ संघीय समाजवादी फोरमका एक नेताले अनलाइनखबरसँग भने, ‘चिनियाँ राजदूताबासका डीसीएमले तमलोपाको कार्यालयमै आएर महन्थ ठाकुरजीलाई भेट्नुभएको हो, राजदूतसँग कसैको भेट भएको छैन ।’

काठमाडौंमा रहेका मोर्चाका नेताले चिनियाँ राजदूतसँग भेटेको हल्ला चलाएर सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफूलाई भारतको प्यारो देखाउन यस्तो हल्ला चलाएको फोरमका नेताको आरोप छ ।

‘आफ्नो नाम उल्लेख गर्न इन्कार गर्दै ती नेताले अनलाइनखबरसँग भने- ‘यो सबै काम राजेन्द्र महतोजीबाट भइरहेको छ, उहाँ तमलोपा र फोरमका नेतालाई चीनसँग उठबस गरेको देखाएर आफू भारतको प्यारो बन्ने सोचाइमा हुनुहुन्छ ।’

के भयो चिनियाँसँग छलफलमा ?

स्रोतका अनुसार तमलोपा कार्यालयमा भएको चिनियाँ अधिकारी र मोर्चाका नेता ठाकुरसँगको छलफलमा चिनियाँ अधिकारीले मोर्चाको मागबारे चासो राखेका थिए ।

स्रोतले भन्यो- ‘त्यहाँ चिनियाँहरुले मधेस आन्दोलनबारे आफ्नो धारणा राख्नुभन्दा पनि हाम्रो विषयमा चासो राखेर सोधीखोजी गरेका थिए । मधेस आन्दोलनको मागबारे उनीहरुको चासो थियो ।’

तर, चिनियाँ राजदूतले मोर्चाका नेतालाई भेटेको वा आन्दोलनको समर्थन गरेको चर्चा झूठो रहेको स्रोतले बतायो ।

महतो भन्छन्-चिनियाँ राजदूतलाई भेट्नु स्वाभाविकै हो

यसैवीच मधेसमा रहेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अनलाइनखरसँग कुरा गर्दै चिनियाँ राजदूतसँग मधेसी मोर्चाका नेताहरुले भेट्नु आपत्तिजनक कुरो नभएको बताए ।

‘काठमाडौंमा रहेका मोर्चाका नेताहरुले राजदूतसँग भेट्न सक्नुहुन्छ, यो हामीसँग सल्लाह गरिरहनुपर्ने विषय नै होइन,’ महतोले अनलाइनखबरसँग भने, ‘चिनियाँ राजदूत वा जोसुकैलाई पनि मोर्चाका नेताहरुले भेट गर्नु स्वाभाविकै हो, यसमा आपत्ति किन ?’

मधेसमा चीनलाई तान्ने प्रयास

मधेस आन्दोलनको सुरुमै सुनसरी लगायत केही स्थानमा मधेसी मोर्चाका कार्यकर्ताले चीनको झण्डा जलाएका थिए । तर, सो घटनाप्रति उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले सार्वजनिकरुपमै आपत्ति जनाएको थियो ।

यो घटनालाई लिएर फोरम अध्यक्ष उपेन्द्र यादवले राजेन्द्र महतोमाथि सार्वजनिकरुपमै आलोचना गर्दै चीनको विरोध गर्दा भारतले आफ्नो मानषपुत्र ठानेर माया गर्ला कि भन्ने सोचाइले काम गरेको टिप्प्णी गरेका थिए ।

चीनको झण्डा जलाउने क्रम रोकिएपछि मधेसमा चीनविरुद्ध पदर्शन समेत भए । विशेष गरी चीनबाट तेल ल्याउने सम्झौता अघि बढेपछि त्यसको विरोधमा मोर्चाका कार्यकर्ताले केही जिल्लामा चीन विरुद्ध प्रदर्शन गरेका थिए ।

त्यसैक्रममा केही आदिवासी जनजाति समूहले चिनियाँ नाकामा समेत नाकाबान्दी गर्ने चेतावनी दिएका थिए, तर त्यो सम्भव भएन । मधेस आन्दोलनमा चीनलाई तान्न खोज्ने यही सिलसिलामा अहिले चिनियाँ राजदूतले मोर्चाका नेतालाई भेटेको र चीनले मधेस आन्दोलनमा समर्थन जनाएको प्रचार थालिएको छ ।

त्यसो त मधेस आन्दोलनमा चीनलाई मुछ्ने प्रयास मोर्चाका नेताहरुले मात्रै गरेको नभई भारतीय पक्षबाट पनि भइरहेको छ । भारतीयहरुले नेपालमा लगाएको नाकाबन्दीसँगै चिनियाँ प्रभाव बढेको आरोप लगाउँदै आएका छन् ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved