' विद्या हराए काँसी जानु, न्याय हराए गोर्खा जानु' भन्ने पुरानो उक्ति छ। भारतीयहरु नेपालीलाई प्राय: गोर्खाली भनेर सम्बोधन् गर्छन्। एक भारतीय महिला यतिबेला न्याय खोज्दै नेपाल आइपुगेकी छिन्। तर , उनीमाथि अन्याय भने नेपाली पुरुषले नै गरेका रहेछन्।
तर न्यायका लागि गोर्खा भूमिमा उनलाई सहयोग गर्ने कोही थिएनन्।
भाषा नमिल्दा महिला अधिकारकर्मीलाई कुरो बुझ्न समस्या भएको रहेछ। उनी नेपाली बुझ्दिन थिइन् तर प्रष्ट हिन्दी बोल्थिन्। टुटेफुटेको हिन्दी बोल्न सक्ने हुनाले मैले नै उनीसँग कुरा गरेँ।
भारत महाराष्ट्रको अमरावतीकी दिपाली। कामको खोजीमा बर्षौं पहिले भारत हान्निएका बैतडी, शिवनाथका बहादुर चन्दले उनीसँग सन् २००९ मे २५मा प्रेम विवाह गरेका रहेछन्। घरमा श्रीमती हुँदाहुँदै भारत पसेर अर्को बिहे गरेका बहादुर विवाहित हुन भन्ने पत्तै दिपालीलाई भएन।
अलिकति च्यातिएको विवाह कार्ड देखाउँदै उनले भनिन्: ‘ हाम्रो प्रेमपछि धुमधामका साथ मेरा बाबुआमाले बहादुरसँग बिहे गर्दा मेरो खुसीको सीमा नै थिएन । ’
बिहेपछि महाराष्ट्रको अमरावतीमा एक नीजि कम्पनीमा मार्केटिङको काम गर्ने चन्दले दिपालीसँग दाइजो माग्न थाले। घर नै दाइजो माग्न थालेपछि सम्बन्ध दिनदिनै बिग्रँदै गयो। बिहेको एक बर्षमै उनी गर्भवती भइन्। त्यस अवधिमा उनलाई बहादुरले नेपाल ल्याए। तर दुई श्रीमती सँगसँगै बस्न समस्या भएपछि उतै फर्किनुपर्यो। छोरा जन्मिएसँगै दाइजोको बिषयलाई लिएर नेपाली बहादुरको ब्यवहार पुरै बदलियो। केहीवर्ष जसोतसो सम्बन्ध अघि बढ्यो। बहादुर मदिरा सेवन गरेर दिपालीलाई दिनहुँ कुटपिट गर्न थाले।
तनको दुरी नभएपनि मनको दूरी धेरै बढिसकेछ। बहादुर छोरालाई साथमा लिएर नेपाल फर्किए। दिपालीलाई थाहै नदिई दुधे बालक छुट्दाको पीडा उनलाई मात्र थाहा थियो। बालखका लागि कानुनी सहायता लिन उनी जिल्ला अदालत महाराष्ट्रको ढोकासम्म पुगिन्। अदालतले उनको पक्षमा फैसला गर्दै छोराको पालन पोषणको जिम्मा दिपालीलाई दिन आदेश गर्यो। त्यसपछि हाई कोर्टले पनि सोही फैसलालाई निरन्तरता दियो। जसको एक प्रति फोटोकपी बोकेर उनी नेपाल आएकी हुन्।
इन्टरपोल मार्फत नेपाल प्रहरीलाई दुई महिनाअघि एउटा पत्र आयो। जसमा दिपालीका पक्षमा भारतको हाइ कोर्टले गरेको फैसला कार्यान्वयनका लागि नेपाल प्रहरीलाई अनुरोध गरिएको थियो। जिल्ला प्रहरी कार्यालय , बैतडीका सूचना अधिकृत लक्ष्मण शाहीले तत्कालै बहादुरको खोजी गरेपनि फेला नपरेको प्रतिक्रिया दिए। उनले दक्षिणवर्ती शिवनाथ गाविसका बहादुर हाल कंचनपुर बस्ने गरेको जानकारी प्रहरीलाई आएको बताए। त्यसपछि प्रहरी चुपचाप बस्यो।
महाराष्ट्रबाट फागुन दोस्रो हप्ता दिपाली नेपाल आइन्। उनका भाई साथमा थिए। बैतडी आएपछि प्रहरी, प्रमुख जिल्ला अधिकारी , मानवअधिकारकर्मी, महिला अधिकारकर्मीहरु , नेता सबैलाई भेटिन्। कसैले उनको कुरै बुझेनन्, कसैले सहयोग गरौंला भन्दै आफ्नो बाटो लागे। प्रहरी प्रशासनबाट पनि सहयोगको आश्वासन मात्र पाएकी दिपाली रसिला आँखा लिएर त्यो दिन जिविस पुगेकी रहिछन्।
उनका हातमा छोराका केही फोटा थिए। घरपरिवार अनि लोग्ने बहादुरसँग बिहेको बखत खिचिएका फोटा देखाउँदै उनका आँखा रसाइरहेका थिए। पछ्यौरी घरीघरी आँखा छेउ पुगिरहेको थियो। उनको कुरा र व्यवहारले वरीपरी उभिएका धेरैका आँखा रसाइसकेका थिए। महिला शक्ति केन्द्र,
बैतडीकी अध्यक्ष देवू ठगुन्ना उनको पीडा सुनेर सबैभन्दा बढी रोइरहेकी थिइन्। केही मिनेटको कुराकानीसँगै त्यहाँको माहोल भावुक बन्यो। मलाई कुरो टुंग्याएर भीडबाट बाहिर निस्कन मन लाग्यो।
‘ चिन्ता नगर्नुस् , हामी सहयोग गर्छौं ,’ भन्दै म भीडबाट उम्किएँ।
उनी सुँक्कसुँक्क गर्दै आँखा मिच्दै सकेसम्म सबैको जवाफ दिने प्रयास गर्दै थिइन्।
त्यो भीडबाट बाहिर आमएपछि प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीसँग भेट भयो। प्रहरीका सूचना अधिकृत लक्ष्मण शाही, केही नेता , केही महिला र केही पत्रकारसँग उनको बारेमा कुरा गरे। खास कसैले चासो देखाएनन्। सिडिओ अधिकारीले उनी भारतीय नागरिक भएपनि मानवीय हिसाबले सहयोग गर्न सकिने बताए।
दिपालीको माग धेरै ठूलो थिएन। आफूले जन्म दिएको बच्चाको उचित पालन पोषण र पढाईबारे उनी चिन्तित देखिन्थिन्। लोग्नेले बच्चालाई गाउँमा लगेर उचित पालन पोषण नगरेको र उ पढाईबाट समेत बञ्चित रहेको भन्दै उनी रोइरहेकी थिइन्। पाँच बर्षिय छोरा वन्स चन्दलाई पढाउन विद्यालय भर्नासम्म गरिदिए सबै खर्च ब्यहोर्न उनी तयार थिइन्। तर उता बहादुरले भने छोरा दिने शर्तमा पाँच लाख मागिरहेका थिए। जसको फोन रेकर्ड समेत सुनाइन् उनले। फोनमा ऊ बेस्सरी गाली गरिरहेको थियो। पाँच लाख रुपैंया नदिए अबोध बालकलाई मारिदिने धम्की दिँदै थियो। दिपाली भने नम्र भएर छोरा दिने भए पाँच लाख दिन समेत राजी थिइन्।
महाराष्ट्रबाट आफ्नो छोरालाई खोज्न कयौं हण्डर, ठक्कर खाँदै महाकाली तरेर आएकी दिपाली बैतडी छोडेर झुलाघाटतर्फ जाँदै गर्दा मन अमिलो भयो।
Imagekhabar बाट
Home »
international news
» न्याय खोज्दै नेपाल आएकी भारतीय चेली
न्याय खोज्दै नेपाल आएकी भारतीय चेली
Posted by Unknown
Posted on 7:18 AM
with No comments
Labels:
international news

0 comments:
Post a Comment