काठमाडौं-काठमाडौंको सडकमैत्री विद्युतीय बस सञ्चालनको सम्भाव्यता अध्ययन गर्न चिनियाँ टोली काठमाडौं आएको छ । उसले यहाँको सडकको संरचना र विद्युत वितरणसम्बन्धी अध्ययन गर्न उनीहरू केही दिनदेखि काठमाडौंमा छन् ।
काठमाडौं महानगरपालिकाको निमन्त्रणामा चीनको हुनान प्रान्तको टायम्स् इलेक्ट्रोनिक्स भेइकल कम्पनी लिमिटेडले टोली पठाएको हो । महानगर प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार टोलीले सम्भाव्यता अध्ययनको रिपोर्ट महानगरलाई बुझाउनेछ ।
करिब एक महिनाअघि कार्कीको नेतृत्वमा महानगर टोलीले चीनले उत्पादन गरिरहेको विद्युतीय सवारीको सम्भाव्यता अध्ययनपछि चिनियाँ टोली पनि काठमाडौं आएको उनले बताए ।
कार्कीका अनुसार टोलीले प्रधानमन्त्री, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, साझा यातायात, विद्युत प्राधिकरण लगायतका पदाधिकारीसँग भेट गरिसकेका छन् ।
काठमाडौंका सडकमा गुडाउन २० वटा बसमध्ये १२ वटा महानगर र सरकारले खरिद गर्ने योजना छ । यसबाहेक ८ वटा बस चीन सरकारसँग अनुदान माग्ने तयारी गरिएको छ ।
बुधबार इन्जिनियरसहित काठमाडौं आएको चिनियाँ टोलीले साझा बसमै यात्रा गरेर सडकको अवस्थाको अध्ययन गरेको उनले बताए । सोह्रखुट्टेको उकालो सडक लगायतका संरचनाको अध्ययन चिनियाँ पक्षले गरिसकेको छ ।
'टोलीले हामीलाई आफ्नो राय बुझाउनेछ,' कार्कीले भने, 'त्यसलाई हामीले प्रधानमन्त्रीको कार्यालयलाई बुझाउने छौं । प्रधानमन्त्रीको चीन भ्रमणका बेला सम्झौता गर्ने गरी योजना बनिरहेको छ ।'
चिनियाँ पक्षले यहाँको विद्युतीय सप्लाईका बारेमा बिहीबार विद्युत प्राधिकरणसँग पनि छलफल गरेको थियो । महानगरले विद्युतीय बस पनि खरिद गरेर साझालाई सार्वजनिक–निजी साझेदारीअनुसार सञ्चालन गर्न दिने तयारी गरिरहेको छ । यसअघि पनि महानगरले साझालाई १० करोड रुपैयाँ बराबरका २५ वटा ठूला बस खरिद गर्न साउनमा सम्झौता गरिसकेको छ ।
बुधबार साझा यातायात पुगेका चिनियाँ टोलीले साझाका बसको क्षमताका बारेमा जानकारी राखेको साझा यातायात सदस्य भूषण तुलाधरले बताए ।
'यहाँको विद्युत वितरण प्रणाली र साझाले त्यसको व्यवस्थापन गर्न सक्ने वा नसक्नेबारे बुझ्न टोली आएको थियो,' तुलाधरले भने, 'हामीले आफ्नो क्षमताबारे जानकारी दियौं ।'
उनका अनुसार साझाका बस प्रतिदिन गुड्ने दुरी, विद्युतीय बस चार्ज गर्ने क्षेत्र र साझाको जनशक्तिबारे टोलीले बुझेको छ ।
'काठमाडौंमा विद्युतीय बस सञ्चालन गर्न सकिन्छ तर सुरुको मूल्य एकदमै महँगो हुन्छ । यदि कसैले अनुदान दिन्छ भने साझा सञ्चालन लागि सक्षम र तयार छ,' तुलाधरले भने, 'सञ्चालन खर्च न्यून हुने भएकाले र मर्मत खर्च पनि तेलले चल्ने भन्दा कम लाग्छ । नाफाको हिसाबले साझालाई ठीक छ ।'
महानगरले चीनबाट ल्याइने विद्युतीय बस साझालाई सञ्चालन गर्न दिने कुरा भइरहेका बेला साझा उपयुक्त साझेदार हुन सक्छ वा सक्दैन भन्ने हेर्न पनि चिनियाँ टोली साझा पुगेको हो । साधारण रुपमा ३ घन्टा चार्ज गर्दा २ सय किलोमिटर गुड्न सक्ने क्षमता यस्ता बसमा रहेको महानगर टोलीको भनाइ छ । यसबाहेक करिब १५ देखि २० मिनेटमै चार्ज गर्दा पनि कुनै बस पूर्ण चार्ज हुने क्षमता रहेको महानगरको भनाइ छ ।
चीनको सांघाईस्थित सांघाई सेन्लोङ बस कम्पनी लिमिटेड र हुनान प्रान्तको टायम्स् इलेक्ट्रोनिक्स भेइकल कम्पनी लिमिटेडमा महानगर टोलीले गएको महिना गरेको अध्ययनबाट यस्तो सम्भावना देखिएको थियो । यी बस काठमाडौंका सडकमैत्री बनाउन र पाटपुर्जा पाउन भने मुस्किल हुने टोलीको निष्कर्ष छ ।
यस्ता बस झण्डै १ करोड ८० लाख रुपैयाँसम्म पर्ने भए पनि सडकअनुसार मोडिफाइ गरे करिब एक करोडसम्म खरिद गर्न सकिने टोलीको निष्कर्ष छ ।
टोलीले १० मिटर लामा बस उपयुक्त हुने देखेको छ । बसको तल्लो भाग र भुइँको दुरी (ग्राउन्ड क्लियरेन्स) मात्र २० इन्च हुँदा काठमाडौंमैत्री नदेखिएको चीन गएको महानगर टोलीका एक सदस्यले बताए । ग्राउन्ड क्लियरेन्स ३६ इन्चसम्म बढाउने, बसमुनि रहने ब्याट्री सडकको पानीले असर नपार्न अन्य ठाउँमा राख्नेजस्ता सुझाव उत्पादक कम्पनीलाई महानगर टोलीले दिएको थियो । Nagarik News बाट
काठमाडौंमा विद्युतीय सहरी बस !
Posted by Unknown
Posted on 8:30 PM
with No comments
Labels:
news

0 comments:
Post a Comment