Home » » प्रधानमन्त्रीको चीन भ्रमण ऐतिहासिक हुने–मन्त्री राई

प्रधानमन्त्रीको चीन भ्रमण ऐतिहासिक हुने–मन्त्री राई


चैत्र ०२,
काठमाडौँ / सूचना तथा सञ्चारमन्त्री शेरधन राईले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण ऐतिहासिक र उपलब्धिमूलक हुने दाबी गर्नुभएको छ । रिपोटर्स क्लबद्वारा आज यहाँ आयोजित साक्षात्कारमा बोल्दै मन्त्री राईले प्रधानमन्त्री ओलीको भ्रमण दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा केन्द्रित रहने भन्दै उहाँले राष्ट्रहित विपरीत कुनै पनि सम्झौता र समझदारी नहुने स्पष्ट पार्नुभयो ।
चीनसँग व्यापारिक सम्झौता गर्नका लागि परराष्ट्र मन्त्रालयका टोली यसअघि नै चीन गएको जानकारी गराउँदै उहाँले व्यापार तथा पारवहन, इन्धन र ऊर्जालगायतका विषयमा सम्झौतासमेत गरिने जानकारी दिनुभयो । सञ्चारमन्त्री राईले सरकार भारतमा गएर चीन विरोधी कुरा गर्ने र चीनमा गएर भारत विरोधी कुरा गरेर दोहोरो ‘कार्ड’ प्रयोग गर्ने गल्ती कहिल्यै गर्दैन, दुवै देशबीचको सम्बन्धमा समान व्यवहार गर्दछ’ भन्नुभयो ।
मुलुकको समस्या समाधान गर्न राष्ट्रिय सहमतिको आवश्यकता रहेको भन्दै संविधान कार्यान्वयन, पुनःनिर्माण, स्थानीय निकायको निर्वाचन, सीमाङ्कन र सङ्घीय निर्वाचन गर्नु अहिलेको मुख्य एजेन्डा भएको मन्त्री राईको भनाइ छ । सो अवसरमा नेपाली काँग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य बालकृष्ण खाँणले प्रधानमन्त्रीको चीन भ्रमणबाट खासै उपलब्धि नहुने विचार व्यक्त गर्दै राष्ट्रिय सहमतिको सरकारबिना मुलुक अघि बढ्न नसक्ने बताउनुभयो ।
उहाँले सबैभन्दा ठूलो दलको नेतृत्वमा नभए प्रभावशाली सरकार बन्न नसक्ने भन्दै अबको सरकार बन्दा ठूलो पार्टीको सभापतिको हैसियतले शेरबहादुर देउवाकै नेतृत्वमा बन्नुपर्ने भनाइ व्यक्त गर्नुभयो । त्यसैगरी तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले मधेसको समस्या समाधान नगरी प्रधानमन्त्रीले गर्ने विदेश भ्रमण जनताको हितमा नहुने विचार व्यक्त गर्नुभयो । उहाँले आफूहरुको माग पूरा नभए नेपालीको महान पर्व होलीपछि सशक्त आन्दोलनमा उत्रने चेतावनी दिनुभयो ।
नेकपा माओवादीका प्रवक्ता दीनानाथ शर्माले प्रधानमन्त्रीको भ्रमणले दुई देशबीचको सम्बन्ध सुदृढ हुने भन्दै चीनसँग राष्ट्रिय हितविपरीत सन्धिसम्झौता नगर्नेमा आफ्नो पार्टी विश्वस्त रहेको बताउनुभयो । उहाँले राष्ट्र निर्माणका लागि पनि राष्ट्रिय सरकारको आवश्यकता रहेको औँल्याउनुभयो ।
पुर्बेलीन्युजबाट


Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved