Home » » भ्रमणमा भारतले राखेको ‘खतरनाक’ प्रस्ताव सार्वजनिक

भ्रमणमा भारतले राखेको ‘खतरनाक’ प्रस्ताव सार्वजनिक


काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न भारत भ्रमणको क्रममा नेपाली प्रतिनिधिमण्डललाई भारतीय पक्षकोतर्फबाट नेपाल टुक्राउने धम्की दिइएको रहस्य सार्वजनिक भएको छ ।
भ्रमणसँगै गएका सांसदसहितको प्रतिनिधि मण्डललाई भारतीय सेना र खुफिया विभागका अवकाश प्राप्त अधिकारीसहितको भारतीय कुटनीतिज्ञको टोलीले नेपाललाई पूर्वी पाकिस्तान जस्तो हविगत बनाई दिने सांकेतिक चेतावनी दिएका थिए । भारतीय कूटनीतिज्ञहरूले चीनसँग खुला सम्बन्ध नराख्न दबाब दिएको पनि खुलेको छ ।
भारतीय पक्षले नेपालको अहिलेको स्थिति सन् १९७१ मा पूर्वी पाकिस्तानको जस्तो हुनसक्ने भएकोले जनताको आकांक्षा पूरा गर्नुपर्ने धारणा राखेका थिए । सन् १९७१ मा पूर्वी पाकिस्तानका बासिन्दाको आकांक्षा पूरा गर्न नसक्दा भारत र पाकिस्तानबीच युद्ध भएपछि पूर्वी पाकिस्तान टुक्रिएर बंगलादेश बनेको थियो ।
यो घटना प्रम ओलीको भारत भ्रमणको चौथो दिन फागुन १० गते सोमबार नयाँ दिल्लीको चाणक्यपुरीस्थित विवेकानन्द फाउन्डेसनको हलमा दिउँसो ३ बजे भएको कार्यक्रमलाई भारतीय परराष्ट्र मन्त्रालय र नेपाली दूतावास दुवैले अफिसियल कार्यक्रम सूचीमा समावेश गरेको थिएन ।
पत्रकारहरुसमेत उपस्थित नगराइएको सो कार्यक्रमलाई आवरणमा ‘नेपाली बिजनेस एन्ड ट्रेड डेलिगेसनसितको अन्तरक्रिया’ भनिएको थियो । तर, कार्यक्रममा लगानी बोर्डका सिइओ राधेश पन्तबाहेक कोही पनि बिजनेस र ट्रेडसँग सम्बन्धित व्यक्ति थिएनन् । पुनर्निर्माण प्राधिकरणका सिइओ सुशील ज्ञवालीसमेत उपस्थित यो कार्यक्रममा सांसदहरुको बाहुल्य थियो । एमालेका राजन भट्टराई, राप्रपाका विक्रम पाण्डे, एमाओवादीका हितराज पान्डे, एमालेका सचेतक भानुभक्त ढकाल, मालेका अइन्द्रसुन्दर नेम्वाङ, राष्ट्रिय जनमुक्ति पार्टीकी सीमा विक, राप्रपा नेपालका भक्तबहादुर खपाङ्गी र एमालेकै लालबाबु यादवको उपस्थिति रहेको थियो । भारतीय टोलीले भने आफ्नो परिचय दिएन ।
बिजनेस एन्ड ट्रेड डेलिगेसनसँगको अन्तरक्रिया भनिए पनि भारतीय पक्षले यसबाट सांसदहरुलाई मनोवैज्ञानिक दबाब दिने साधनका रुपमा उपयोग गर्न खोजेको प्रष्ट देखिन्थ्यो ।
बिजनेसको थोरै संविधान र राजनीतिको धेरै कुरा भएको अन्तरक्रिया कार्यक्रममा पूर्व राजदूत राजीव सिकरीले भारतलाई पर राखेर नेपालको विकास हुन सक्छ कि सक्दैन भन्ने प्रश्नको जवाफ खोज्न नेपालीलाई आग्रह गरेका थिए । ‘भारतसँग खुला सीमा भए जस्तै नेपालले चीनसँग खुला सम्बन्ध कायम राख्न सकिँदैन । किनभने स्वभाविक रुपमा त्यसले भारतलाई असर पार्छ । तपाईँहरुले यसमा ध्यान दिनुस्,’ भन्दै उनले चीनको विषयमा चेतावनीमूलक भाषामा आफ्नो विचार राखेका थिए ।
बंगलादेशका पूर्व राजदूत तारिक करिमले बंगलादेशले भारतसँगको द्विपक्षीय सम्बन्ध राम्रो बनाउनु पर्ने कुरा पछि बुझेको उल्लेख गर्दै आफूहरु अन्तरनिर्भर रहेको बताए । News24Nepal.com बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved