Home » » हिसिलाले गरेकी थिइन् सिंगल इञ्जिनका विमान उडाउन दिने निर्णय....

हिसिलाले गरेकी थिइन् सिंगल इञ्जिनका विमान उडाउन दिने निर्णय....


फागुन १६ |
काठमाडौं–तारा एयरको विमान दुर्घटना भएको केहि दिनमै एयर काष्ठमण्डपको अर्को विमान दुर्घटनामा पर्यो । दुर्घटनामा विमान चालक र सहचालकको मृत्यु भयो भने अन्य यात्रुहरु घाइते भए । एक हप्तामै भएका दुई विमान दुर्घटनाले नेपाली आकाशको सुरक्षा र विमानहरुको स्थितिमाथि नै प्रश्न उठेको छ । भने लगातार दुई दुर्घटना भएपछि सरकारले सिंगल इञ्जिनको विमानमा यात्रु बोक्न सरकारले रोक लगाएको छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले नेपाल नागरिक उडड्यन प्राधिकरणमार्फत सबै सिंगल इञ्जिन भएका विमानमा यात्रु बोकाउन नपाउने कडा व्यवस्था गर्न निर्देशन दिइसकेको छ । पछिल्लो समय विकसित भएका घटनाक्रमले नेपालमा सिंगल इञ्जिन सम्बन्धि कानुन, नेपालमा त्यसको कार्यन्वयन लगायतका विषयमा बहस हुन थालेका छन् ।
के छ कानुनमा ?
नेपालको कानुनी व्यवस्थाअनुसार सिंगल इञ्जिनका विमानले यात्रु बोक्न पाउँदैनन् । सिंगल इञ्जिन भएका विमानहरु विशेषगरी सामान ओसारपसारमा मात्र प्रयोग गर्न पाइन्छ । यद्यपी कानुनले दुर्गम क्षेत्रमा चार्टर गरेर यात्रु लैजान भने छुट दिएको छ । तर, तालिका बनाएरै यात्रु बोक्न अधिकार भने यस्ता विमानहरुलाई हुँदैन । अन्तराष्ट्रिय अभ्यास हेर्ने हो भने सिंगल इन्जिन भएका विमानहरु विशेष परिस्थितिमा मात्र प्रयोग गर्न पाइन्छ । भारतकै अभ्यास हेर्ने हो भने पनि सिंगल इन्जिन भएका विमानहरु विशेष परिस्थितिमा र दिनमा मात्र कानुनअनुसार मापदण्ड पूरा गरेर उडाउन पाइन्छ । तर, नेपालमा भएको यससम्बन्धि कानुनको बर्खिलाप गर्दै विभिन्न विमान कम्पनीहरुले तालिका बनाएर नै यात्रु बोकाउने काम गरिरहेका छन् । सुरुवाती दिनहरुमा यससम्बन्धि कानुन र त्यसको कार्यान्वयनमा निकै कडाइ भएको भएपनि तत्कालिन पर्यटनमन्त्री हिसिला यमीले काम चलाउ पर्यटनमन्त्रीको हैसियतमा यस्ता विमानहरुले पनि यात्रु बोक्ने कार्यमा छुट दिएपछि उक्त कानुनको कार्यान्वयन फितलो भएको हो । नागरिक उड्ययन प्राधिकरणका एक कर्मचारी भन्छन्, ’मैले थाहा पाए अनुसार सुरुवातीका दिनहरुमा सिंगल इन्जिन भएका विमानहरुले यात्रु बोक्ने पाउँदैनथे । हिसिला यमीले पर्यटनमन्त्रीबाट राजिनामा दिएर काम चलाउ पर्यटनमन्त्री भएपछि यसखाले विमानलाई यात्रु बोक्न छुट दिइएको हो ।’
हिसिलाले गरेकी थिईन् सिंगल इन्जिनका विमान उडाउन दिने निर्णय
नेपालको विमान दुर्घटनालाई हेर्ने हो भने पछिल्लो समय दुर्घटनामा परेका विमानहरु सिंगल इन्जिन भएका विमानहरू हुन् । कानुन विपरित तत्कालिन पर्यटनमन्त्री हिसिला यमीले त्यस्ता विमानहरुमा यात्रु बोक्न छुट दिएकाले विमान दुर्घटनाको यस्तो अवस्था आएको पर्यटन मन्त्रालयका एक कर्मचारीले रातोपाटीलाई बताए । ‘तत्कालिन समयमा पर्यटनमन्त्रीबाट राजिनामा दिएर काम चलाउ पर्यटनमन्त्रीको रुपमा जिम्मेवारी सम्हालिरहेकी हिसिला यमीले लामो समयदेखि उडान इजाजतका लागि आवेदन दिएका कम्पनीलाई पर्यटन मन्त्रालयले धमाधम इजाजत दिने निर्णय गरेकी थिईन् ।’ पर्यटन मन्त्रालयका अर्का एक कर्मचारीले रातोपाटीलाइ बताए । कामचलाउ मन्त्रीका रुपमा उनले मुक्तिनाथ एयर, हेलिकप्टर सञ्चालन गर्ने इम्प्रो एयरलाई ‘सिंगल इन्जिन’ को जहाज र प्यारानोभा प्याराग्लाइडिङलाई उडान अनुमति दिएकी थिइन् । यससँगै आन्तरिक उडान भर्ने तारा एयर र अन्तर्राष्ट्रिय उडान गर्ने डाइनामिक एयरलाई पनि उडान अनुमति दिएकी थिइन् । यसबाहेक नियमअनुसार चल्न नमिल्ने विमानहरुलाई पनि उडान भर्न उनले अनुमति दिएकी थिईन्’ उनले भने । उनकाअनुसार त्यसअघि सिंगल इन्जिन भएको विमानलाई उडान भर्न रोक लगाइएको भएपनि हिसिला यमीको ठाडो निर्देशनमा उनी काम चलाउ पर्यटनमन्त्री भएका बेला यस्तो निर्णय भएको थियो ।
लगातार दुइ विमान दुर्घटनापछि सरकारले रोक लगायो
तारा एयर दुर्घटनामा परेको केहि दिनमै एयर काष्ठमण्डपको विमान पनि दुर्घटना भएपछि सरकारले सिंगल इञ्जिनको विमानमा यात्रु बोक्न रोक लगाएको छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले आज नेपाल नागरिक उडड्यन प्राधिकरणमार्फत सबै सिंगल इञ्जिन भएका विमानमा यात्रु बोकाउन नपाउने कडा व्यवस्था गर्न निर्देशन दिएको छ । तर विमान दुर्घटना भइसकेपछि आएको यो नियमले दुई विमान दुर्घटना हुँदा कानुनलाई मिचेर जनताका जीवनसँग खेल्न दिने अघिल्ला निर्णय गर्नेहरुलाई छुट दिन नहुने बहस पनि उठिरहेको छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved