Home » » एउटा मधेशी मोर्चा आन्दोलन चर्काउँदै, अर्को मोर्चा सरकारमा जाने वातावरण मिलाउँदै

एउटा मधेशी मोर्चा आन्दोलन चर्काउँदै, अर्को मोर्चा सरकारमा जाने वातावरण मिलाउँदै

काठमाडौं, ५ पुस । सरकारले बेवास्ता गरेको भन्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले
शनिवारदेखि थप कडा आन्दोलन चर्काएको छ ।
मधेशमा रहेको अर्को मोर्चा संघीय समावेशी मधेशी गठबन्धनका नेताहरू भने प्रधानमन्त्रीसंग
भइरहेको निरन्तर वार्तालाई सकारात्मक भएको निष्कर्षका साथ बालुवाटारसंग आफ्नो
नजदीकी बढाउंदै छन् ।
जेपी गुप्ता, शरद सिंह भण्डारी, अनिल कुमार झा र राजकिशोर यादव सम्मिलित गठबन्धन र
प्रम ओली बीच बालुवाटारमा कैयौं पटक वार्ता भइसकेको र हरेक वार्ता पछि यी नेताहरूको
प्रतिक्रिया र सत्तारूढ गठबन्धनका अन्य घटकसंगको बढ्दो हिमचिमले सरकारमा केही मधेशी
दलहरू थपिने संकेत देखा परेको छ ।
प्रम ओलीसंगको भेटपछि संघीय मधेशी गठबन्धनका नेताहरू जेपी गुप्ता, शरद सिंह भण्डारी,
राजकिशोर यादव र अनिल कुमार झाले वार्ता निकै नै फलदायी भएको र प्रम ओलीले
आफ्ना मागबारे निकै नै लचिलो रहेको प्रतिक्रिया दिँदै आई रहेका छन् । बालुवाटारको
बैठकमा निरन्तर सहभागी हुने नेताहरू तमरा अभियानका देवेश झा, रामसपाका केशव झा र
नेसपाका राजीव झाले आ–आफ्नो फेसबुकमार्फत वार्ता बारे निकै उत्साहित प्रतिक्रिया
लेखेका छन् ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आफूहरू लाई कुनै भाव नदिएको भन्दै साना मधेशी
दलहरूका नेताले अर्को मोर्चा गठन गरेका थिए । तमलोपा केन्द्रीय कार्यालय बिजुली
बजारमा हालै सम्पन्न संयुक्त लोकतांत्रिक मधेशी मोर्चाको बैठकमा मधेशी गठबन्धन र
सरकारसंगको वार्ताबारे करिब घण्टाभरि चर्चा चलेको थियो । सरकारले आफ्नो
मोर्चालाई नजरअन्दाज गरेको र समानान्तर मोर्चालाई महत्व दिएको भन्दै उपेन्द्र यादव र
महन्थ ठाकुरले आपत्ति जनाएका थिए । आफ्नो मोर्चालाई कमजोर गर्दै जाने र अर्को
मोर्चासंग सहमति गर्ने सरकारी योजनाबारे आशंका पनि व्यक्त गरिएको थियो ।
स्रोतले बताए अनुसार शरद, जेपी, अनिल र राजकिशोरको मोर्चासंग सरकार सहमतिको धेरै
नजिक पुगेको छ । तीन महिनाभित्र सीमांकनसहित सबै माग पूरा हुने गरि राजनीतिक
सहमतिमा सरकार र मधेसी गठबन्धनले हस्ताक्षर गर्ने, संसदमा प्रस्तुत गरिएको संविधान संशोधन
विधेयकलाई केही परिमार्जन गरि पारित गर्ने आन्तरिक सहमति भएको बुझिएको छ ।
बालुवाटारमा यस मधेश गठबन्धन र सरकारी पक्षबीच भएको वार्तामा यस्तो सहमति भएको
गठबन्धनका एक नेताले नाम नखुलाउने शर्तमा दैनिक नेपाललाई जानकारी गराएका थिए ।
उक्त वार्तामा प्रम ओली सहित झलनाथ खनाल, भीम रावल, बिजय गच्छदार समेतको
उपस्थिति थियो ।
सरकारी पक्ष यो सहमति हुनेमा पुरै विश्वस्त छ । यो सहमति भए उपेन्द्र, महन्थ, राजेन्द्रको
मोर्चाको आन्दोलन कमजोर हुंदै जाने, भारतले गरेको नाकाबन्दी खुल्न दबाब पर्ने र मधेशमा
सत्ता पक्षधर नेतालाई जान सजिलो वातावरण बन्ने अनुमान गरिएको छ । उपेन्द्र
राजेन्द्रहरूको मोर्चाको आन्दोलनलाई जसरी पनि तह लगाउने, उनीहरूले गरेको मागलाई
प्रतिद्वन्दी मोर्चामार्फत सहमति गरि सम्बोधन गर्ने रणनीतिको तहत सत्ता पक्षले तयारी
शुरू गरेको छ । सरकारका वरिष्ठ मन्त्रीहरूले पनि मधेशी मोर्चा तयार नभएपनि संविधान
संशोधन विधेयक हर हालमा पारित गराउने अभिव्यक्ति दिई सकेका छन् ।
प्रतिद्वन्दी मोर्चाले पनि आफूसंग राजनीतिक सहमतिमा हस्ताक्षर भए संविधान संशोधन
विधेयक पारित गर्नको लागि सदनभित्र सहयोग गर्ने वचन दिएको छ । साथै सहमति र
संविधान संशोधनपछि मधेशका जिल्लाहरूमा सरकार र गठबन्धनको संयुक्त सभाहरूको आयोजन
गरि मधेशमा रहेको भ्रमलाई निवारण गर्न सहयोग गर्ने वाचा दिएका छन् । स्रोतले दिएको
जानकारी अनुसार यस्तो सहयोग बापत संघीय समावेशी मधेशी गठबन्धन सरकारमा समेत
सहभागिताको इच्छा देखाएको छ ।
सरकारका उपप्रधानमंत्री तथा फोरम लोकतांत्रिकका अध्यक्ष बिजय गच्छदार मार्फत शरद,
अनिल र राजकिशोरले सरकारमा सम्मानजनक स्थानपाए सहभागी हुन सक्ने सन्देश बालुवाटार
पठाएका थिए । गठबन्धनको उक्त प्रस्तावमा प्रम ओली र एमाले पार्टी दुबै सकारात्मक रहेको
कुरा फोरम लोकतांत्रिकका एक वरिष्ठ नेताले जानकारी दिएका छन् ।
१६ बुँदे सहमतिमा हस्ताक्षर गरेको कारण गच्छदारलाई मधेशी मोर्चाबाट निष्कासित
गरिएकोमा अहिले गच्छदारले त्यसको बदला लिन मधेशी गठबन्धन बनाउन सहयोग गरेका थिए
। मोर्चा बाहिर रहेका सबै दलहरूलाई एउटै गठबन्धन बनाई गच्छदारले नै प्रम ओलीलाई दबाब
दिई गठन भएको दोस्रो दिननै वार्तामा आउन पत्र समेत पठाउन लगाएका थिए । प्रम ओलीसंग
भएको प्रत्येक भेटको समय गच्छदारले नै मिलाई दिएको र नयाँ राजनीतिक सहमतिमा
हस्ताक्षर गर्नेदेखि लिएर गठबन्धनलाई सरकारमा सम्मिलित गराउने योजनामा रहेका छन् ।
संघीय समावेशी गठबन्धनमा आबद्ध शरदको तीन र अनिल झा तथा राजकिशोरको १–१
सांसद गरि कुल ५ सांसद छन् । फोरम लोकतांत्रिकका ती नेताका अनुसार एउटा मन्त्री,
एउटा राज्य तथा एउटा सहायक मन्त्री दिने आन्तरिक तयारी समेत भइरहेको छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved