Home » » मधेसमा आन्दोलन चर्काउने सप्तरीका नेताको दाबी

मधेसमा आन्दोलन चर्काउने सप्तरीका नेताको दाबी


१ पुस, सप्तरी । ‘न आन्दोलन, न बन्द खुल्ला’ को स्थितिमा रहेको तराई-मधेसमा अब पुनः आन्दोलन तात्ने संकेत देखापरेको छ । अब फेरि मधेसमा प्रदर्शनलगायतको सशक्त आन्दोलन अविलम्व शुरु हुने सप्तरीका आन्दोलनकारीले बताएका छन् ।

मंगलबार संसदमा पुनर्निमाणसँगै संविधान संशोधन विधेयकसमेत पेश भएपछि मधेसका नेताहरुले आन्दोलन चर्काउने संकेत दिएका हुन् ।

‘मझधार’को स्थितिमा रहेको आन्दोलन र समस्या समाधानको बिषयमा अनलाइनखबरले राजविराजमा रहेका मोर्चाका युवा नेताहरुसँग बुधबार गरेको कुराकानीका क्रममा उनीहरुले आन्दोलनलाई तुहाउन मुख्य तीन पार्टीले बिभिन्न किसिमको षड्यन्त्र गरेको बताए । साथै मधेसमा भइरहेको तस्करीमा पनि उनीहरुकै संलग्नता रहेको मधेसी युवा नेताले आरोप लगाएका छन् ।

‘लामो समयसम्मको आन्दोलनको अवमूल्यन गर्दै एकतर्फी रुपमा जुन संशोधन विधेयक पेश गरिएको छ, त्यसले समस्या अझ जन्माउने निश्चित छ’ संघीय समाजवादी फोरम नेपालको विद्यार्थी संगठन संघीय विद्यार्थी फोरमका केन्द्रीय विद्यार्थी इञ्चार्ज अशोक यादवले भने, ‘यो एक्लै दौडेर प्रथम हुने चाहनाबाहेक केही पनि होइन ।’

‘राजनीतिक सहमति गरेर संशोधन विधेयक पेश गरेको भए समस्याको निदान चाँडो हुन्थ्यो’ उनले भने, “खस ब्राम्हणको संविधानलाई लागू गराउन जति कोशिस गरेपनि सफल भइँदैन ।’

सदभावना पार्टीको विद्यार्थी संगठन विद्यार्थी मञ्चका राष्ट्रिय अध्यक्ष किशोरकुमार यादव ‘केसी’ संविधान संशोधन विधेयक संसदमा पेश गरेर कांग्रेस, एमाले र एमाओवादीका नेताहरुले जहानियाँ राणा शाषणभन्दा निरंकुशता प्रस्तुत गरेको बताए ।

तराई मधेस लोकतान्त्रिक पार्टीको भ्रातृ संगठन तराई मधेस युवा फ्रन्टका केन्द्रीय सदस्य फणिकान्त झाले आफ्नै तरिकाले मधेसीको माग पूरा नगर्ने मनसाय भएको बताए । उनले राजनीतिक सहमति गर्ने नाममा मुख्य दलका नेताहरुले आफैं अलोकतान्त्रिक राजनीतिलाई जारी राखिए युवाहरु झन् सशक्त भएर लाग्ने बताए ।

मधेस आन्दोलन नरोकिएको र जारी रहेको बताउँदै संघीय विद्यार्थी फोरमका इञ्चार्ज अशोकले काँग्रेस, एमाले, एमाओवादीका नेताहरुले ब्राम्हणबादी चरित्र देखाइरहे झन् आन्दोलन लम्बिने उल्लेख गरे ।

जारी रहेको आन्दोलनसँगै तराई-मधेसबाट कांग्रेस, एमाले र एमाओवादीको पत्ता साफ हुँदै गएको बताउँदै युवा फ्रन्टका केन्द्रीय सदस्य झाले आन्दोलन कमजोर भएको भन्नु भ्रम मात्रै भएको बताए । उनले भने, ‘धान भित्र्याउने र गहुँ रोप्ने समय भएकाले जनता पातलिएका मात्रै हुन्, आन्दोलन कुनै पनि हालतमा थामिएको छैन र थामिनेवाला पनि छैन ।’

संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश यादव पनि आन्दोलन नथामिएको र नयाँ ढँगको आन्दोलनका लागि बिभिन्न क्षेत्रका संघ-संगठन र व्यक्तिहरुसँग कुराकानी भइरहेको बताए ।

उनीहरुले मोर्चाकै नेताहरुले कथमकदाचित कुनै गलत सम्झौता गरे नेताहरु आफै नाश हुनेसमेत बताए ।

आन्दोलनकारी युवाले नै बन्दको मौका छोपी तस्करी गराउने काम सत्तापक्षबाटै भइरहेको आरोप लगाएका छन् । ‘मधेसी मोर्चाले त नाकाबन्द गराएको छ, तर सरकार र तीन दलले तस्करी गराएर आन्दोलनलाई बदनाम गराउने काम गरेको छ’ विद्यार्थी मञ्चका अध्यक्ष केसीले भने, ‘भारतबाट तेल, ग्यास ल्याउनेमा कांग्रेस, एमाले र एमाओवादीकै कार्यकर्ता बढी छन् ।’

उनले सरकारी पक्षले नै एम्बुलेन्समा पनि तस्करी गराइरहेको आरोप लगाउँदै यस्तो तस्करी गर्ने एम्बुलेन्सलाई तोडफोड गरेपछि आफूहरुलाई आलोचनाको शिकार बन्नुपरिरहेको बताए ।

आन्दोलनलाई बदनाम गराउन जुन किसिमले तस्करी फष्टाएको छ, त्यसलाई रोक्ने एउटा कठोर कदम मोर्चालाई उठाउन लगाउने उनीहरुले उद्घोष गरे ।

अशोक, किशोर र फणिकान्त मात्र होइन, संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश यादव पनि बन्दका क्रममा मोटरसाइकल समेत चल्न नदिइने उल्लेख गरे । यद्यपि किसानहरुको पहिचान गरी उनीहरुलाई पाँच लिटरका दरले नाकाहरुबाट इन्धन ल्याउन दिने गरी यो कदम उठाइने उनीहरुको तर्क छ ।ऑनलाइन खबर बाट।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved