Home » » माफ गर्नुहोला राष्ट्रपतिज्यू, बिनानिम्तो आउँदा स्वागत हुँदैन

माफ गर्नुहोला राष्ट्रपतिज्यू, बिनानिम्तो आउँदा स्वागत हुँदैन


 
सुस्ताएको मधेस आन्दोलनलाई पुनः
प्राणवायु दिएकोमा धन्यवाद छ, प्रथम
महिला राष्ट्रपति एवं गणतान्त्रिक
नेपालका द्वितीय राष्ट्रपति विद्यादेवी
भण्डारीलाई । नेताहरूको दिल्ली
दौडाहापछि शिथिलतातिर गएझैँ
देखिएको मधेस आन्दोलनलाई पुनः गतिशील
बनाउन उनले शान्त पोखरीमा ढुंगा
फालेकी छिन् ।
अहिले त उनी स्वतन्त्र छिन् र हुनुपर्छ पनि ।
तर, हिजो उनी एमाले नेतृ थिइन् ।
आज जसरी मधेस आन्दोलनमा छ, यो एकैपटक
सतहमा देखिएको आन्दोलन होइन । यो
सतहमा आउनुमा ठूला पार्टीहरु र
सत्ताधारी पार्टीको भूमिका छ नै ।
वास्तवमा मधेस आन्दोलन आज जुन उचाइमा
पुगेको छ, यसमा उपेन्द्र, महन्थ वा
राजेन्द्रको राजनीतिभन्दा एमालेका
शीर्षस्थ नेता केपी ओली, माधव नेपाल,
झलनाथ खनालहरुको बोलीले बढी काम
गरेको देखिन्छ ।
त्यस्तै, मधेस आन्दोलन यो उचाइमा पुग्नुमा
सबैभन्दा ठूलो पार्टी कांग्रेसका नेता
सुशील कोइराला, शेरबहादुर देउवा,
रामचन्द्र पौडेलहरु पनि जिम्मेवार हुने नै भए ।
र, एमाओवादी नेता प्रचण्ड,
नारायणकाजी श्रेष्ठको भूमिका छ नै ।
परापूर्व कालमा हिमालय ऋषिकी छोरी
तथा महादेवकी पहिलो पत्नी सती
बिनानिम्तो उनको बाबाले आयोजना
गरेको यज्ञमा गएको र त्यो यज्ञ विध्वंश
भएको इतिहास छ । त्यही इतिहासलाई
दोहोर्याउँदै मधेसी जनताले राष्ट्रपतिको
रुपमा ‘नचिनेको’ तथा बिनानिम्तो
आएकी भूतपूर्व क. विद्यादेवी भण्डारीले
राम जानकी विवाह महायज्ञलाई ध्वंश
गरेकी छन् । देशको नागरिक देशभरि घुम्नु,
तीर्थ जानु, मन्दिर, मस्जिद, चर्च लगायतमा
जानु सामान्य हो । तर, देशको उच्च पदमा
आसिन व्यक्तित्व बिनानिम्तो कुनै पनि
समारोहमा जानु हुँदैन, गए सम्मान पाइँदैन ।
यो कुरा देशको सर्वोच्च पदमा आसीन
व्यक्तिले बुझ्नुपर्ने हो । उनलाई सल्लाह दिने
सल्लाहकारले पनि उनलाई सम्झाउनुपर्ने हो
। तर, न त राष्ट्रपति र उनका
सल्लाहकारहरूले नै उचित निर्णय गरेको
देखिन्छ ।
सैन्य बलको भरमा जानकी मन्दिरलाई
छाउनीमा परिणत गरी भण्डारीले जुन
ताण्डव प्रस्तुत गरिन्, त्यसलाई जनकपुरले
वर्षौं स्मरण गरिरहनेछ । विवाह पञ्चमीको
इतिहासमा पहिलोपटक श्रद्धालुले
प्रहरीको लाठी खाएका छन् । राम
जानकीको डोली नगर परिक्रमा गरेको छैन
। उत्सव कर्मकाण्डीय हिसाबमा मात्र
मनाइएको छ, त्यो पनि अन्तिम समयमा
युवा क्लबहरूको अगुवाइमा, जसले जनकपुरको
अस्मिताप्रति चिन्ता गर्छ र त्यसको
रक्षाका लागि सधैंभरि प्रयत्नशील रहन्छ ।
भूतपूर्व कमरेड भण्डारीलाई विवाह
महोत्सवको मूल आयोजक जानकी मन्दिरले
आमन्त्रण गरेको होइन । जानकी मन्दिरका
महन्थ रामतपेश्वर दास चिच्याइचिच्याई
कसैलाई पनि निम्तो नगरेको बताउने गरेका
छन् । उनी निर्वाचित हुँदै गर्दा ब्लाक आउट
गरेका मधेसी जनताले उनलाई
‘राष्ट्रपति’को रुपमा चिन्दैनन् । उनलाई
थाहा हुनुपर्ने हो, अब उनी एमालेको
कार्यकर्ताभन्दा पनि देशको राष्ट्रपति हुन्
। उनका व्यवहार, विचार, बोलाई तथा
गराईले बृहत राष्ट्रिय एकतालाई
परिलक्षित गर्नुपर्छ । तर उनी मधेसी
जनताको व्यापक विरोधका बाबजुद
हठजोडले जनकपुर आइन् । उनले पूर्वराष्ट्रपति
डा. रामवरण यादवबाट केही सिक्न सकिनन्
। प्रथम तथा द्वितीय मधेस आन्दोलनलाई
व्यापक विरोध गरेका यादव राष्ट्रपतिको
रुपमा सधैं सन्तुलित भाषा प्रयोग गरे र
सन्तुलित व्यवहार प्रदर्शन गरे, विद्वताको
महत्त्व यहाँनेर झल्किन्छ ।
हुन त राष्ट्रपति भएपछि भण्डारी स्वतन्त्र
भएकी छिन्, हुनु पनि पर्छ । कम्युनिस्टहरू
भगवानलाई मान्दैनन् । उनीहरू
भौतिकवादमा विश्वास गर्छन् । अझ अहिले
गणतन्त्रमा गइसकेको जुन अवस्था छ,
जीवनका सम्पूर्ण समय कम्युनिस्ट
आन्दोलनमा बिताएकी, कम्युनिस्ट विचार
र व्यवहारबाट दीक्षित उनीमा जानकी
माताको दर्शनको उत्कट लालसा कसरी
जागृत भयो ? के नेपालका कम्युनिस्ट ढोंगी
हुन्छन् ? होइन भने उनी एमालेको एजेन्ट भएर
आन्दोलनको पारो नाप्न उत्रेकी हुन् त ?
यस्ता प्रश्नलाई पनि नकार्न सकिँदैन ।
जानकी मन्दिरभित्र चप्पलजुत्ता लगाएर
जानु निषेध छ । तर, उनको सुरक्षामा
खटिएका सेना जुत्ता लगाएर मन्दिरको गर्भ
गृहभित्र पनि प्रवेश गरे । मूल्य–मान्यताका
दृष्टिले अपवित्र मानिने कुकुरसमेत जानकी
मन्दिरको छतहरूमा देखियो । झाँकी
प्रदर्शनका क्रममा राम जानकीको प्रतीक
बनेकाहरूलाई उठाएर भण्डारी उनीहरूको
आसनमा बसिन् । राष्ट्रपतिजस्तो
व्यक्तिमा यतिको समान्य शिष्टाचार त
हुनुपर्ने हो । के उनी कुमारीलाई हटाएर
उनको आसनमा बस्न सक्छिन् ? उनको
कुकृत्यबाट जानकी मन्दिर स्तब्ध छ,
जनकपुरवासी स्तब्ध छ । त्यसैले उनीहरू
जानकी मन्दिरलाई चोख्याउन पूरै
मन्दिरलाई सफा गरेका छन् । गंगाजल
छर्केका छन् र क्षमापूजा पनि गरेका छन् ।
राष्ट्रपतिको आगमनले विवाहोत्सव
बिथोलिएकाले जनकपुरवासीले जानकी
मातासँग क्षमा मागेका छन् ।
त्यसैले यो पंक्तिकार अनुरोध गर्न चाहन्छ ।
राष्ट्रपतिज्यू, तपाईंलाई मिथिलाको
त्यत्तिको परवाह छ भने, यहाँको जनताको
भावनालाई सम्मान गर्नुपथ्र्यो । विगत
चार महिनामा चार बुलेट ग्यास आएको छैन
। जनता त्राहिमाममा छन्,
दानापानीको अभाव भएको छ । बैंकहरू
खुलेका छैनन्, कठ्याङ्ग्रिदो जाडोमा
सानासाना बालबालिका
बिहानबिहानै स्कुल जान बाध्य छन् ।
काठमाडौंमा आपूर्ति सहज गर्न दिल्ली
तथा बेइजिङ धाउने सरकारलाई जनकपुर
त्राहिमाममा छ भनेर भन्दिनुस् न । तपाईंकै
पूर्वपार्टीको सरकार छ, तपाईंले भनेको
कसो नसुन्ला र ?
तर, परिस्थितिले यस्तो देखाउँछ—
तपाईंलाई त शक्ति परीक्षण गर्नु थियो,
गर्नुभयो र जनकपुरका जनताबाट
लखेटिनुभयो । राष्ट्रपतिज्यू, जनताको
तागत अगाडि कसैको तागत चल्दैन,
तपाईंको सुरक्षामा खटिएका सेनाले
जनआक्रोशलाई थाम्न सकेन । कालो झन्डाले
स्वागत गरेका जनकपुरवासीले तपाईंलाई
ढुंगा हान्दै बिदाइ गरे ।
तर, यसबाट मधेस आन्दोलनलाई बल पुगेको
देखिन्छ । धान भित्र्याउन गाउँ पसेका
आन्दोलनकारी यसै मेसोमा सदरमुकाम
फर्केका छन् । आन्दोलनको स्वरुप फेर्न बल गर्न
थालेका व्यापारी बन्दलाई अझ कडा
बनाउन उद्घोष गर्न थालेका छन् ।
पठनपाठनमा सक्रिय हुन थालेका
विद्यार्थी पढाइ र आन्दोलनलाई सँगै
लैजाने ‘मुड’ बनाउन थालेको देखिन्छ ।
महिलाहरू झाडु लिएर र युवाहरू लाठी
लिएर आन्दोलनमा होमिएका छन् ।
आन्दोलन फेरि उत्कर्षमा पुग्ने वातावरण
बनिसकेको छ ।
तर, तपाईंहरूको जठजोड र शक्ति परीक्षणले
घाइते भएका दर्जनौँ दर्शनार्थीलाई उनको
घाउको हिसाब चाहिन्छ । अंगभंग भएका
मानव पिण्डले आफ्नो हरेक रगतको कतराको
हिसाब माग्दै छ । निर्दोष दर्शनार्थीले
पक्कै पनि तपाईंलाई श्राप दिएका होलान्
। जानकीले हिसाब माग्नेछिन्, जनकले
हिसाब माग्नेछ, भनिन्छ कि अन्यत्र गरेको
पापबाट जनकपुरधाममा मुक्ति पाइन्छ, तर
जनकपुरमा गरेको पापबाट मुक्ति पाउने
स्थान अन्यत्र कहीँ छैन ।
(यो लेखकको निजी विचार हो ।)
रातोपाटी बाट।

Share this News :

4 comments:

  1. It's not thinking , its came from poor thinking and lack of education. Madeshi are behind due to their own poor and slavery thinking. Who needs invitation to visit the temples of own country? Are they said janakpur is India or Pakistan which require an invitation or permission to visit by prez?

    ReplyDelete
  2. It's not thinking , its came from poor thinking and lack of education. Madeshi are behind due to their own poor and slavery thinking. Who needs invitation to visit the temples of own country? Are they said janakpur is India or Pakistan which require an invitation or permission to visit by prez?

    ReplyDelete
  3. पत्रकार:महोदय तिमी पनी पत्रकार हौ रा? तिमी जस्तो पत्रकार देख्दा दया जागेरा आउछ।

    ReplyDelete
  4. पत्रकार:महोदय तिमी पनी पत्रकार हौ रा? तिमी जस्तो पत्रकार देख्दा दया जागेरा आउछ।

    ReplyDelete

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved