नदीमा पानीको प्रवाह घटेका कारण विद्युत् उत्पादनमा कमी आएका कारण नेपाल विद्युत् प्राधिकरणले
विद्युत्भार कटौतीको समय बढाएको छ ।
प्राधिकरणले शुक्रबारदेखि लागू हुने गरी सातामा ७० घन्टाको दरले विद्युत्भार कटौती गर्न लागेको हो ।
नेपालमा हाल ४३ जलविद्युत् आयोजनाबाट ७१८ मेगावाट उत्पादन हुँदै आए पनि सबै आयोजना नदी
प्रवाहमा आधारित भएका कारण विद्युत् उत्पादन ५० प्रतिशतभन्दा बढीले घटेको छ ।
प्राधिकरणका आयोजनामध्ये कुलेखानी पहिलो र दोस्रो आयोजनाको कुल क्षमता ९२ मेगावाट भए पनि
त्यसबाट विद्युत् उत्पादन गरिएको छैन । निजी क्षेत्रले उत्पादन गरिरहेकामध्ये १०० मेगावाटभन्दा बढी
विद्युत् भूकम्पका कारण राष्ट्रिय प्रसारण लाइनबाट विच्छेद भएको छ ।
प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा हाल ३०० मेगावाट मात्रै प्रवाह भइरहेको छ । भारतबाट हाल
विभिन्न स्थानमा २३० मेगावाट विद्युत् आयात भइरहेको छ । नेपालभित्र उत्पादित र भारतबाट आयात
गरिएको विद्युत् गरी कुल ५२० मेगावाटमात्रै प्रवाह भइरहेको छ । भारतको अघोषित नाकाबन्दीपछि
खाना पकाउने समयमा विद्युत्को अत्यधिक माग बढेपछि विद्युत्को माग एक हजार ८०० मेगावाट पुगेको छ
।
प्राधिकरणका भारप्रेषण केन्द्रका प्रमुख भुवनकुमार खत्रीका अनुसार नदीमा पानीको सतह घटेको र माग
अनुसार विद्युत् आपूर्ति गर्न नसक्दा विद्युत्भार कटौती थप गरिएको हो । नयाँ तालिका अनुसार अब
दैनिक १० घन्टा विद्युत्भार कटौती हुनेछ । यसअघि प्राधिकरणले साढे आठ घन्टा आधिकारिक रुपमा
विद्युत् कटौती गर्दै आएको भए पनि ट्रान्सफर्मर र कन्डक्टर जल्दा राजधानीलगायत मुलुकका विभिन्न
स्थानमा असीमित कटौती हुँदै आएको छ ।
विद्युत्को माग बढी हुँदा प्राधिकरणको प्रसारण प्रणालीमा नै समस्या थपिएको थियो ।
राजधानीभित्र र बाहिर गरी हालसम्म ५३० भन्दा बढी ट्रान्सफर्मर जलिसकेको छ । नागरिकले खाना
पकाउने समयमा विद्युत् उपलब्धता होस् भनेर बिहान बेलुकाको समयमा भने विद्युत्भार कटौतीको
तालिका भने मिलाइएको छ ।
प्रमुख खत्रीका अनुसार एक दिन बिहान र साँझमा भने खाना पकाउने समयमा विद्युत् उपलब्ध हुने छैन, अन्य
दिनमा भने सकेसम्म उपलब्ध गराउने प्रयास गरिएको छ । ट्रान्सफर्मरमा अत्यधिक समस्या देखिँदा
प्राधिकरणको ट्रान्सफर्मर मर्मत केन्द्र लैनचौरमा मर्मतसम्भार गर्न भ्याइनभ्याइ भएको छ ।
मर्मतसम्भार केन्द्रका प्रमुख राजेन्द्रकुमार चौधरीका अनुसार मर्मतका लागि ल्याइएका ट्रान्सफर्मर मर्मत
गर्न जनशक्तिको समेत अभाव हुँदा तोकिएकै समयमा फिर्ता गर्न समेत सकिएको छैन । उनले दैनिक एक
दर्जनभन्दा बढी ट्रान्सफर्मर मर्मतका लागि आउने गरेको बताए ।
प्राधिकरणका अनुसार कतिपय स्थानमा ट्रान्सफर्मर बढी क्षमताको राख्दा कन्डक्टर र प्रसारण लाइनमा
बढी भार पर्दा समस्या थपिएको छ । सामान्यतया १५ केभिएदेखि २०० केभिएसम्मको ट्रान्सफर्मर
प्रयोगमा रहेको छ ।
बढी भार परेर जलेका ट्रान्सफर्मर, कन्डक्टर तथा फ्युज मर्मतको प्रयास जारी रहेको र राजधानीका सबै
वितरण केन्द्रले मर्मत तथा क्षमता अभिवृद्धि गरिरहेका कारण केही दिनमा नै समस्या समाधान हुने र
तोकिएको समयमा विद्युत् उपलब्ध गराउन कुनै समस्या नहुने प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज
काफ्लेको भनाइ छ ।
प्राधिकरणसँग मौज्दात रहेको ट्रान्सफर्मर तथा कन्डक्टर प्रयोग गरेर भए पनि विद्युत् उपलब्ध गराउने
प्रयासमा लागिरहेको उनले बताए । रासस
Home »
Nepali News
» दश घन्टा विद्युत्भार कटौती हुने...
दश घन्टा विद्युत्भार कटौती हुने...
Posted by Unknown
Posted on 8:46 AM
with No comments
Labels:
Nepali News

0 comments:
Post a Comment