Home » » मधेसी मोर्चाको विरोध छिचोल्दै राष्ट्रपतिले भनिन्- अर्को बर्ष पनि जनकपुर आउँछु

मधेसी मोर्चाको विरोध छिचोल्दै राष्ट्रपतिले भनिन्- अर्को बर्ष पनि जनकपुर आउँछु

१ पुस, जनकपुर । राष्ट्रपति विद्यादेवी भण्डारी कडा सुरक्षा घेराबीच बुधबार जनकपुरस्थित जानकी मन्दिरमा विवाह पञ्चमी महोत्सवमा सहभागी भएकी छन् । पेट्रोल बम, ढुंगामुढा र कालोझण्डालाई छिचोल्दै काठमाडौं प्रस्थान गर्नुअघि उनले आफू अर्को बर्ष पनि जनकपुर आउने बताइन् ।

राष्ट्रपति भएपछि राष्ट्रपति भण्डारी बुधबार पहिलोपटक काठमाडौं उपत्यका बाहिर रामजानकी विवाह उत्सवमा सहभागी हुन जनकपुर आएकी हुन् । यहाँ उनले चर्को विरोधको सामना गर्नुपर्‍यो । राष्ट्राध्यक्षको हैसियतले रामजानकी मन्दिरमा पूजा गरिरहँदा मन्दिर क्षेत्रमा मधेसी मोर्चाका कार्यकर्ताहरुले पेट्रोल बम पड्काए ।

तनावै तनावको बिचमा पूजाआजा सकेकी भण्डारीलाई नेपाली सेना र प्रहरीहरुको टोलीले कारकेडमा राखेर गन्तव्यतर्फ पुर्‍याए । राष्ट्रपति कारकेडमै रहेकाबेला उनलाई लक्षित गर्दै ढुंगामुढा प्रहार भयो । कडा सुरक्षा घेराका कारण कुनै अपि्रय घटना भने भएन ।

विवाह पञ्चमी महोत्सव प्रभावित

प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले मन्दिर परिसरका अतिरिक्त शिव चोक, जनक चोक, भानु चोक लगायतका स्थानमा दर्जनौं सेल अश्रुग्याँस प्रहार गरेको थियो । दर्शनार्थीहरुबीच भागदौड मच्चिएको छ । तराई-मधेसका बिभिन्न जिल्ला र भारतबाट समेत आएका दर्शनार्थीहरु त्रसित भएका छन् । तनावका कारण परम्परागत विवाह पञ्चमी महोत्सव नै प्रभावित भएको छ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, संघीय समावेसी मधेसी मोर्चा र संघीय समावेशी मधेसी गठबन्धनका नेता-कार्यकर्ताहरुले राष्ट्रपतिलाई जनकपुर प्रवेशमा रोक लगाउने मंगलबार नै घोषणा गरेका थिए ।

त्यहि घोषणाअनुसार मंगलबार साँझ र बुधबार विहानैदेखि विरोध प्रदर्शन भैरहेको थियो । ठाउँ-ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपले जनकपुर तनावग्रस्त भयो । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । प्रहरी र प्रदर्शनकारीबीच बुधबार दिनभर दोहोरो झडप तथा ढुंगा हानाहान भएको छ ।

मधेसीलाई अधिकार दिन नचाहेको आरोप

नेपाली सेनाको हेलिकोप्टरबाट जनकपुर अञ्चल प्रहरी कार्यालय पुगेकी राष्ट्रपति भण्डारीलाई कारकेडसहित मन्दिर जाने क्रममा मधेसवादी दलका नेता-कार्यकर्ताले सवारी हुने सडकका चोक-चोकमा कालो झण्डा देखाएका थिए ।

स्थानीय प्रशासनले कुनै अप्रिय घटना नहोस् भनेर सडकमा सेनासमेत परिचालन गरेको थियो । राष्ट्रपति भण्डारी मधेसी जनतालाई हक अधिकार दिन नहुने पक्षमा भएकाले विरोध प्रदर्शन गरेको तराई मधेस राष्ट्रिय अभियानका केन्द्रीय सदस्य सञ्जय ठाकुरले बताए ।

कडा सुरक्षा घेराबीच राष्ट्रपति भण्डारी विहान ११ बजेर ५५ मिनेटमा जानकी मन्दिर पुग्नुभएको थियो । मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव लगायतका साधुसन्तले राष्ट्रपति भण्डारीको स्वागत गरेका थिए ।

राष्ट्रपतिसँगै उपसभामुख गंगाप्रसाद यादव, भूमिसुधार तथा व्यवस्था मन्त्री रामकुमार सुब्बा, प्रधानसेनापति राजेन्द्र क्षेत्री र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल पनि जानकी मन्दिर पुगेका थिए ।

मन्दिरमा पूजाआजापछि राष्ट्रपति भण्डारीले साधुसन्तहरुलाई सम्बोधन गर्दै विवाह पञ्चमी महोत्सव नेपाल र भारतबीच मित्रता बढाउने पर्वका रुपमा रहेको बताइन् । उनले सभ्यता र संस्कृतिको रुपमा रहेको विवाह पञ्चमी महोत्सवमा सहभागी हुन पाउनु आफ्ना लागि गर्वको विषय भएको भन्दै आफू अर्को वर्ष पनि महोत्सवमा सहभागी हुने बताइन् ।

राष्ट्रपति भण्डारी जानकी मन्दिरमा पूजा गरी बुधबार नै काठमाडौं फर्किएकी छन् । महोत्सवमा सहभागी हुन मधेसका विभिन्न जिल्लाका अतिरिक्त भारतबाट समेत श्रद्धालुहरु जनकपुर आएका छन् ।


Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved