Home » » उपभोक्ताको डिजेल उद्योगलाई बेच्दै

उपभोक्ताको डिजेल उद्योगलाई बेच्दै


विराटनगर–नेपाल आयल निगमले उपभोक्तालाई बाँड्न दिएको डिजेल पेट्रोल पम्पले महँगो मूल्यमा उद्योगलाई बेच्ने गरेको खुलेको छ। उपभोक्तालाई बाँड्न दिएको डिजेल पेट्रोल पम्पले रातको समयमा टंयाकरमा खन्याएर उद्योगसम्म पुर्याउने गरेको छ।
उपभोक्तलाई बाँड्न दिएको २० हजार लिटर डिजेल आइतबार राति उद्योगलाई बेच्न टंयाकरमा खन्याइरहेका विराटनगरको कञ्चनवारीस्थित धिताल आयल ट्रेडर्सबाट पाँचजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ। पम्पको अन्डरग्राउन्ड स्टोरेज टंयाकमा खन्याइसकिएको २० हजार लिटर डिजेल नोजलको सहायताले फेरी टंयाकरमा हाल्दै गर्दा आइतबार राति मोरङ प्रहरीले धिताल पेट्रोल पम्पमा छापा मारेको थियो।
'राति १२.१५ बजेको समयमा धिताल पेट्रोल पम्पमा झ्याप्पझुप्प सबै बत्ती निभाएर, के–के गरे जसो गरिरहेको खबर आएपछि सुरक्षा निगरानी बढाइयो,' मोरङ प्रहरीका प्रमुख एसपी सन्दिप भण्डारीले भने, 'पाँचजनाले पम्पको डिलेभरी मेशिन(डिस्पेन्सर)बाट नोजलको सहायताले टंयाकरमा तेल तानिरहेको देखिएपछि हामीले छापा मा¥यौं ।' एसपी भण्डारीका अनुसार २० हजार लिटर क्षमताको उक्त टंयाकरमा १९ हजार ८ सय डिजेल खन्याइसकिएको थियो।
नेपाल आयल निगमको क्षेत्रीय डिपोकै छेउमा रहेको धिताल पेट्रोल पम्पले टंयाकरमा खन्याइरहेको डिजेल आरती स्ट्रीप्समा लैजान भनिएको टंयाकरका चालक जोगेन्द्र उराउले बताए। सुनसरी, छिटाहा–२ का उराउले यसअघि पनि टंयाकरमा डिजेल खन्याएर हेटौंडाको शिवम् सिमेन्टमा समेत पु¥याएको खुलासा गरे । 'डिलेभरी पम्पबाट चार–पाँच खेप डिजेल तानेर लगिसकेको छु,' मोरङ प्रहरीले सोमवार आयोजना गरेको पत्रकार सम्मेलनमा उराउले भने, 'उद्योगलाई कतिमा बिक्री गथ्र्यो, त्यो मलाई थाह भएन् ।'
मोरङ प्रहरीले ना ४ ख ४१४२ नम्बरको टंयाकरमा डिलेभरी पम्पबाट टंयाकरमा डिजेल खन्याउने काममा संलग्न धिताल पेट्रोलपम्पका कर्मचारी सुनसरी, बक्लौरी–३ का सीताराम चौधरी, विराटनगर–५ का बजारु चौधरी, मोरङ, अमरदह–८ का रमेश अधिकारी र टंयाकरका सह–चालक सुनसरी, प्रकाशपुर–६ का भीमवहादुर माझीलाई नियन्त्रणमा लिएको छ। 'आयल निगमले उपभोक्तालाई बाँड्न दिएको डिजेल कालोबजारीमा बेच्न खोजेको देखिन्छ,' मोरङका एसपी भण्डारीले भने, 'कालोबजारीमा मुद्दा चलाउने प्रकृया अगाडि बढिसकेको छ ।'
उपभोक्तालाई बाँड्न पेट्रोल पम्पमा दिइएको पेट्रोलियम पदार्थ रातको समयमा टंयाकरमा खन्याएर उद्योगलाई महँगो मूल्यमा बेच्ने गरेको विषयमा मोरङ प्रहरीले नेपाल आयल निगमको क्षेत्रीय डिपो विराटनगरका अधिकारीहरुसित पनि कुराकानी गरेका छन् । 'आयल निगमका अधिकारीसित पनि कुरा भइरहेको छ,' एसपी भण्डारीले भने, 'पेट्रोलियम पदार्थको आयात सहज रहेपनि बजारमा हाहाकार कायम रहनुको पछाडि कालोबजारियाको चलखेल देखिन्छ।
धिताल पेट्रो पम्पका प्रोप्राइटर सन्तोष धिताल हुन। उनले विराटनगरका व्यापारी मनिष मारूलाई ठेक्कामा उक्त पम्प सञ्चालनको जिम्मा दिएको हो। प्रहरीको कार्वाहीपछि मारु सम्पर्कविहीन बनेका छन्। 'पम्पको सञ्चालकको मिलोमतो वेगर यो धन्धा सम्भव देखिन्न,' एसपी भण्डारीले भने, 'तेलको कालोबजारीमा कस–कसको संलग्नता छ, अनुसन्धान हुँदैछ ।' मोरङ प्रहरीले उद्योगलाई बेच्न डिजेल खन्याइएको टंयाकरसमेत नियन्त्रणमा लिएको छ। प्रहरीले डिलेभरी पम्पबाट टंयाकरमा खन्याइरहेको डिजेलको भिडिओ खिचेरसमेत सार्वजनिक गरेको छ ।
मोरङ प्रहरीका अनुसन्धान अनुसार उपभोक्तालाई बाँड्न निगमले विराटनगरका पेट्रोल पम्पलाई दिएको पेट्रोलियम पदार्थ काठमाडौं, हेटौडा र मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगमा बिक्री हुन्छ। 'उपभोक्तालाई बाँड्न दिइएको डिजेल विराटनगरबाट बाहिर गइरहेको सूचना हामीसित थियो,' एसपी भण्डारीले भने, 'टाढा–टाढासम्म लगेर बेच्ने गरेको कुरा आइरहेको छ, अनुसन्धानले सबै खुल्छ ।' नेपाल आयल निगमले उपभोक्तालाई बिक्रीका लागि दिएको पेट्रोलियम पदार्थ पम्पले अन्यत्र बेच्न पाउँदैन् ।
विराटनगर भन्सार कार्यालयका तथ्यांक अनुसार गत वर्षको साउनदेखि माघसम्मको तुलनामा मधेस आन्दोलन र नाकाबन्दीको समयमा जोगवनी नाकाबाट पेट्रोलियम पदार्थको आयात बढी भएको देखिन्छ । गत वर्ष साउनदेखि माघसम्ममा १७ हजार ८ सय ५२ केल पेट्रोल–डिजेल आयात भयो भने यसवर्ष साउनदेखि माघसम्ममा २० हजार १ सय ३ केल पेट्रोल–डिजेल आयात भएको छ । गतवर्ष भन्दा ३ हजार केल पेट्रोल–डिजेल बढी आयात भएपनि बजारमा पेट्रोलियम पदार्थ सहज हुन सकेको छैन् ।
Nagarik News बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved