Home » » दाहालको भाषणपछि प्रजिअ सरुवा

दाहालको भाषणपछि प्रजिअ सरुवा

फाल्गुन २०, २०७२- एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको धम्कीपूर्ण भाषणपछि गोरखाका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमको सरुवा भएको छ । उनी आएको डेढ महिनामात्रै भएको थियो ।
दाहाल गत शनिबार गोरखा आएका थिए । स्रोतका अनुसार आउँदा सीडीओ–डीएसपीले आतिथ्य नगरेको भन्दै दाहालले प्रशिक्षणमा कार्यकर्तासँग असन्तुष्टि व्यक्त गरेका थिए भने घुमाउरो पाराले सरुवा गर्ने चेतावनी दिएका थिए । उनले भाषण गरेको चौथो दिनमै प्रजिअ गौतमको सप्तरी सरुवा भयो ।
सप्तरीका नारायण भट्टलाई गोरखा सरुवा गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ । भट्टलाई यसअघि नै एमाओवादीले गोरखा सरुवा गरेर ल्याउने हल्लासमेत गरिएको थियो । एमाओवादीको स्थानीय नेताको खटपटनअनुसार काम नगरेको आरोपमा ४३ दिनमै गौतमको सरुवा भएको हो । उनले आफ्नो सरुवा भएको पुष्टि गरे ।
दाहालका पूर्वस्वकीय सचिव चूडामणि खड्का पार्टीको गोरखाको इन्चार्ज भएर आएसँगै कार्यालय प्रमुखहरूले एमाओवादीअनुकूल काम नगरे सरुवा गरेर नयाँ हाकिम ल्याउने सर्कुलर कार्यकर्तालाई दिएको स्रोतले जनाएको छ ।
‘गोरखाको स्थिति देख्दा म चिन्तित छु । मैले गृहमन्त्रीजीलाई फोन गरेर भनें । यहाँ हामी आयौं, हाम्रो गृह मन्त्रालयबाट खटाइएका मान्छेका व्यवहार मैले देखें, नाम म अहिले लिन्न,’ दाहालले प्रशिक्षणमा गृहमन्त्री शक्तिबहादुर बस्नेतलाई उद्धृत गर्दै भनेका थिए, ‘तपार्इंहरूले बुझिहाल्नु हुन्छ । लाजमर्दो देखियो, यो सहन सक्ने खालको छैन ।’ दाहाल आउँदा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख जिल्लाको सिमानासम्म स्वागत र एस्कर्टिङ गर्न नगएकोमा उनले असन्तुष्टि जनाएका थिए ।
उनले भनेका थिए, ‘हिजो कांग्रेस–एमालेले खटाएका हाकिमहरू हामीलाई स्वागत गर्न धेरै परपरसम्म पुग्ने गरेका थिए । अहिले हाम्रै मन्त्रालयले खटाएका हाकिमहरू के आयो, के आयो भने जसरी व्यवहार प्रदर्शन भएको छ ।’ उनले गोरखाका तीनवटै निर्वाचन क्षेत्र आफ्नो पार्टीले जितेको स्मरण गराए ।
‘हामी यो जिल्लामा त पहिलो पार्टी नै हौं, दाहालले भने, ‘हाकिमहरूको व्यवहार राम्रो भएन । यसको परिणाम गम्भीरै हुन्छ, सामान्य हुने छैन ।’ उनले प्रशिक्षण लगत्तै प्रजिअको सरुवा हुने आकलन गरिएको थियो । अन्तत: त्यही भयो ।
दाहाल आएकै दिन एमाओवादीसहित अन्य दलको मिलेमतोमा यातायात क्षेत्रमा जिल्लामा सिन्डिकेट लाद्ने यातायात व्यवसायी समिति गोरखाका उपाध्यक्ष पक्राउ परेका थिए । आरुघाट यातायात प्रालिको बस तोडफोड गर्ने उपाध्यक्ष पक्राउ परेकोमा समेत दाहाल असन्तुष्ट थिए ।
‘हिजै पक्राउ गर्नुपर्ने कारण के थियो,’ उनले भनेका थिए, ‘गाडीको असुविधाले हाम्रो कार्यकर्ता आउन गाह्रो भयो ।’ गोरखा यातायातले सिन्डिकेट लाद्न नपाएको आक्रोशमा सोही दिन यातायातसमेत बन्द गराएको थियो ।
यातायात बन्दका कारण एमाओवादी प्रशिक्षण सुन्न कार्यकर्ता आउन नपाएको दाहालको विश्लेषण थियो । ‘एमाओवादीले कार्यालय प्रमुखलाई आफ्नो कब्जामा राख्ने रणनीति बनाएजस्तो देखिन्छ,’ ती कार्यालय प्रमुखले भने ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved