Home » » आज बिहानैदेखि इन्धन बाँड्न पम्पहरुलाई निर्देशन

आज बिहानैदेखि इन्धन बाँड्न पम्पहरुलाई निर्देशन


साँझको समयमा इन्धन बिक्री वितरण गर्दा अनियमितता एवम् कालोबजारीसमेत बढेको गुनासो आएपछि नेपाल आयल निगमले आइतबार बिहानदेखि नै बिक्री गर्न पेट्रोल पम्पलाई निर्देशन दिएको छ ।  निगमले बिहानबाट साँझसम्म नै इन्धन उपलब्ध गराउने र त्यसका लागि पुग्दो मात्रामा इन्धन दिने तयारी गरेको छ ।
इन्धन वितरणमा कोटा प्रणाली खारेज गरेको भए पनि पेट्रोल पम्पका अगाडि लामा–लामा लाइन उस्तै रहेको भन्दै निगमले आइतबारबाट नयाँ प्रणाली लागू गर्ने भएको हो । निगमले राजधानीका कारबाहीमा परेका पेट्रोल पम्पबाहेक अरूलाई बिहान ७ बजेदेखि नै इन्धन बिक्री वितरण गर्न निर्देशन दिएको छ । निगम प्रवक्ता मुकुन्द घिमिरेले पम्पअगाडि लामा लाइन रहने र रातिको समयमा इन्धन वितरण गर्दा अनियमितता भयो भन्ने गुनासो पनि व्यापक रूपमा आएकाले बिहानबाटै उपलब्ध गराउन निर्देशन दिइएको जानकारी दिए । यस्तै, गृहमन्त्रालयको समन्वयपछि सुरक्षा निकायका पेट्रोल पम्प चौबीसै घन्टा सञ्चालन गरिनेभएको छ ।
उपत्यकामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पम्प सञ्चालनमा रहेका छन् । गृहमन्त्री शक्तिबहादुर बस्नेतले इन्धन वितरणमा पारदर्शी प्रणाली अपनाउन निर्देशन दिएलगत्तै उपत्यकाका सुरक्षा निकायका पम्पबाट चौबीसै घन्टा उपलब्ध गराउने भएको हो । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको निर्देशन र आपूर्ति मन्त्रालयको निर्णयपछि निगमले गत साताबाट चारपाङ्ग्रे सवारी साधन र मोटरसाइकलमा लाग्दै आएको कोटा खारेज गरेको थियो ।
निर्देशनअघि मोटरसाइकललाई पाँच र चारपाङ्ग्रे सवारी साधनलाई १५ लिटर इन्धन उपलब्ध गराइँदै आएको थियो । निगमले मागअनुसार भारतबाट सहज मात्रामा इन्धन आयात नभएको जनाउँदै आएको छ । वीरगन्ज नाकाबाट सहज अवस्थामा २६ लाख लिटर इन्धन आयात हुनुपर्नेमा हाल औसतमा २० लाख लिटरमात्रै आयात भइरहेको छ । News24Nepal.com बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved