Home » » चीन जान प्रधानमन्त्रीले रोजे निजी विमान, कर्मचारीले गरे विरोध

चीन जान प्रधानमन्त्रीले रोजे निजी विमान, कर्मचारीले गरे विरोध


काठमाडौं, चैत ६ । प्रधानमन्त्री केपी ओली राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको सट्टा उडान नै सुरु नगरेको निजी कम्पनीको विमान चार्टर गरी आइतबार चीन भ्रमणमा जाने भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाई ‘भीआईपी’
(ओली) को चीन भ्रमणका लागि निजी क्षेत्रको वायुसेवा हिमालय एयरलाइन्स को विमान चार्टरमा लिने व्यवस्था गर्न निर्देशन दिएको छ ।
हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानका लागि ५८ सिट क्षमताको एयरबस ए ३२० जहाज खरिद गरेको छ । यो जहाजले अहिलेसम्म एउटा पनि अन्तर्राष्ट्रिय उडान गरेको छैन । हिमालय एयरलाइन्सले आगामी चैत ३० देखिमात्रै व्यापारिक उडान सुरु गर्दैछ ।
व्यापारिक उडान सुरु नगर्दै हिमालय एयरलाइन्सले चैत ७ मा नै प्रधानमन्त्रीसहितको भ्रमण टोलीलाई लिएर बेइजिङ जाने निश्चित भएको छ ।
प्रधानमन्त्री कार्यालयले पर्यटन मन्त्रालयलाई पत्र लेखेर प्रधानमन्त्रीको चीन भ्रमण हिमालय एयरलाइन्सको विशेष विमानबाट हुने भएकाले भीभीआईपीको उडानका लागि हुनुपर्ने आवश्यक सवै व्यवस्था मिलाउन पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री कार्यालयको पत्रमा ओली चैत ७ गते विहान ११ बजे हिमालय एयरलाइन्सको विमानबाट बेइजिङ जाने र चैत्र १४ मा छेन्दुबाट काठमाडौं फर्कने कार्यक्रम रहेको उल्लेख छ । प्रधानमन्त्रीको भ्रमण टोली ५६ सदस्यीय छ ।
नेपाल वायु सेवा निगमका उच्च अधिकारी र कर्मचारीहरूले प्रधानमन्त्रीको औपचारिक भ्रमणमा राष्ट्रिध्वजाबाहक विमान प्रयोग नगरी निजी क्षेत्रको एअरलाइन्समा जान लाग्नुले राम्रो सन्देश नजाने उल्लेख गर्दै पर्यटन मन्त्री आनन्द पोखरेल र सचिव प्रेम राईसमक्ष असन्तुष्टि प्रकट गरेका छन् ।
निगमका उच्च अधिकारीले पर्यटन मन्त्री र सचिवसित मौखिक र कर्मचारीहरूले लिखित रूपमा नै असन्तुष्टि प्रकट गरेको जानकारी स्रोतले दिएका छन् । उनीहरूले प्रधानमन्त्रीको चीन भ्रमणमा निजी कम्पनीको विमानको चार्टर रद्द गरी राष्ट्रिय ध्वजावाहक निगमको जहाज प्रयोग गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रधानमन्त्रीले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको सट्टा उडान नै सुरु नगरेको निजी कम्पनीको विमानलाई प्रवर्द्धन गर्नु आफैंमा आश्चर्यजनक र रहस्यमय भएको कर्मचारीहरूले पर्यटन मन्त्रालयलाई दिएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
निजी कम्पनीका प्रवर्द्धकको प्रभावमा प्रधानमन्त्री पर्नु अस्वभाविक भएकोसमेत निगमका कर्मचारीहरूको ध्यानाकर्षणपत्रमा उल्लेख छ । चिनियाँ सरकारले प्रधानमन्त्री ओलीलाई आफ्नो देशको भ्रमणमा आउन निःशुल्क रूपमा विमान पठाउने प्रस्ताव गरेको थियो ।
चीनले निःशुल्क रूपमा पठाउन खोजेको र राष्ट्रिय ध्वजावाहक विमानलाई छाडेर प्रधानमन्त्री ओलीले एमालेसँग विशेष सम्बन्ध रहेका आङकाजी शेर्पाको लगानी रहेको निजी कम्पनीको विमान रोजेका हुन् । प्रधानमन्त्री चैत ७ मा चीन गएर १४ गते र्फकने कार्यक्रम छ ।
हिमालय एयरलाइन्स चीन र नेपालको संयुक्त लगानीको कम्पनी हो । यसमा आङछिरिङ शेर्पाको प्रमुख लगानी रहेको यति वल्र्ड इन्भेस्टमेन्टको ५१ र तिब्बत एयरलाइन्सको ४९ प्रतिशत लगानी रहेको छ । -Imagekhabar बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved