Home » » कोरियामा तीन करोड उठाएर हुन्डीवाला फरार

कोरियामा तीन करोड उठाएर हुन्डीवाला फरार


सोलः करिब तीन करोड रुपैयाँ रकम उठाएर एक हुण्डी कारोबारी दक्षिण कोरियामा सम्पर्कबिहीन भएका छन् । रोजगारीमा आएका नेपाली युवाहरुको रकम उठाएर भोजपुरका सोगेन्द्र घले सोमबारदेखि सम्पर्कबिहीन भएको पीडितहरुले बताएका छन् ।
गैरआवसीय नेपाली संघ दक्षिण कोरियाका सचिवसमेत रहेका घलेको क्यासिनोमा जुवा खेल्ने लत थियो । पटक पटक जुवामा मोटो रकम हारेपछि तीन करोड लिएर उनी भागेका हुन् ।
दुई साता भइसक्दा पनि नेपालमा आफन्तले रकम प्राप्त नगरेपछि पीडितहरु हारगुहारका लागि संचारमाध्यममा आएका छन् ।
इपीएसको कार्यावधि सकेर ‘जी वन' भिसा बनाई कोरियामा रहेका घलेले यस अघि पनि क्यासिनोमा निरन्तर रकम हारेपछि एनआरएन कोरिया र माथिल्लो तहका हुण्डी कारोबारीले उनलाई सचेत गराएका थिए । ‘जी वन' भिसा फर्जी कागजात पेश गरी बनाइने शरणार्थी भिसा हो । देशमा बस्न राजनीतिक र धार्मिक कारण अनुकूल नरहेको नक्कली कागजातका आधारमा प्राप्त हुने भिसाको अवधि एक वर्षको हुन्छ ।
सार्वजनिक पद धारण गरेको व्यक्तिको बिश्वास बढी भएकोले उनीसँग सयौँ युवाले रकम पठाउने गरेका थिए । गत चार वर्षदेखि हुण्डीमा सक्रिय घलेले मासिक करोडौ रकमको हुण्डी कारोबार गर्ने गरेको एक हुण्डी कारोबारीले जानकारी दिए । घले भागेपछि मात्रै उनलाई पदच्युत गरिएको जानकारी एनआरएन कोरियाले दिएको छ ।
घलेले आफु मातहतमा रोजगार अनुमति प्रणालीबाट आएका अन्य युवालाई हुण्डीको सब-एजेन्ट बनाएर रकम उठाउने गरेका थिए । दोलखा घर भएका एक सब-एजेन्टले घले मार्फत १८ लाख रुपयाँ रकम गुमेको बताए । उनले भने, दुई सातादेखि रकम पेन्डिन्ग थियो, सोमबारदेखि सम्पर्क नभएपछि रकम गुमेको निश्चित भयो ।'
आफूमार्फत उठाईएको रकम पीडितहरुलाई फिर्ता गर्ने ती सब-एजेन्टले पीडितहरुलाई बचन दिएका छन् । फरार घलेसँग सब-एजेन्ट भइ काम गरेका अर्का युवाले २३ लाख रुपैयाँ फसाएका छन् ।
आमा बिरामी भएर अस्पतालमा उपचाररत खर्चका लागि साथीहरुसँग सरसापट गरि दुई लाख ८० हजार रुपैयाँ घलेमार्फत नेपाल पठाएकी एक महिला कामदारले रुदै भनिन् 'रकम गुमेपछि आमाको स्वास्थ्यस्थिति बुझ्न सम्पर्क गर्न सकेकी छैन ।'
पीडितहरु एनआरएनप्रति रोष प्रकट गर्दै भन्छन, 'आचरण खराब रहेको जनाउँदै समयमै घलेलाई एनआरएन कोरियाले पदच्युत गरेको भए कामदारहरुको रकम बच्ने थियो ।'
अन्नपूर्ण पोस्ट्बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved