Home » » अखिल क्रान्तीकारीले गुन्डागर्दी शैलीमा लुटेर ग्यास बाँडे

अखिल क्रान्तीकारीले गुन्डागर्दी शैलीमा लुटेर ग्यास बाँडे


पाेखरा, ७ चैत्र ।
गगनगौंडाबाट गृहलक्ष्मी ग्यासका सिलिन्डिर बोकेको ना ५ ख ७९४४ नम्बरको ठूलो ट्रक बुधबार बिहान ११ बजे बाटुलेचौर जाँदै थियो । पृथ्वीनारायण क्याम्पस अगाडि पुग्नासाथ १०÷१२ जना व्यक्ति हातमा रड र लाठी लिएर आए अनि ट्रक रोके । ‘भाइ रोक, विद्यार्थीलाई ग्यास दिनुपर्दैन,’ भन्दै ट्रकलाई सिधै पिएन क्याम्पस भित्र हुल्न ड्राइभरलाई अह्राए । ट्रक क्याम्पसभित्र छिराएपछि ड्राइभर र सहचालक त्यहाँबाट भागे ।
ड्राइभर भागेर कारखाना पुगे । त्यसपछि गृहलक्ष्मी ग्यासका प्रमुख कार्यकारी (सिइओ) अधिकृत रोनल लामिछाने वडा प्रहरी कार्यालय बगर, जिल्ला प्रहरी कार्यालय कास्की, सिडिओ कार्यालय र डिआइजी प्रहरी कार्यालयमा समेत घटनाबारे जानकारी गराए । तर तीन दिन बितिसक्दा पनि दोषीलाई कारबाही नगरिएको सिइओ लामिछानेले बताए ।
‘गुन्डागर्दी शैलीमा हातमा रड बोकेर ग्यास लुटेका हुन्,’ सिइओ लामिछानेले भने, ‘३ सय ९१ वटा ग्यास लुटिएको छ, ट्रकको हालत पनि अझैसम्म पत्तो छैन ।’ उनले कास्की प्रहरीमा उजुरीसमेत दिएको बताए । ‘मैले कास्की प्रहरीमा उजुरी दिएको छु, त्यति मात्र होइन डिआइजी र सिडिओकहाँ पनि जानकारी गराएको छु,’ उनले भने, ‘तर अहिलेसम्म ती लुटने व्यक्ति पक्राउ परेका छैनन् ।’
क्रान्तिकारी भन्दै केहीले फोन गरेको उनले बताए । ‘तपाईंको ट्रक र पैसा लिन आउनु भन्दै क्रान्तिकारी संलग्नहरुले फोन गरेका छन्,’ उनले भने, ‘पहिला लुट्ने अनि अहिले पैसा दिन आउनु भनेर फोन गरेका छन् ।’ लामिछानेले जिल्ला प्रशासन कार्यालयमा समन्वय गरेर ग्यास वितरण गर्ने गरेको बताए ।
‘हामीले कहाँ—कहाँ कुन–कुन डिलरमा कति ग्यास पठाउँदै छौं भनेर प्रशासनलाई अग्रम जानकारी गराउँछाै’ उनले भने, ‘जसले मन लाग्यो त्यहाँ लुट्न पाउने कस्तो प्रवृत्ति हो यो ?’ उनले तुरुन्तै दोषीलाई पक्राउ गरी कारबाहीको माग राखेका छन् । ‘ग्यास लुट्ने दोषीलाई पक्राउ गर्नुपर्छ,’ उनले भने, ‘सुरक्षा नभएको भन्दै कामदारले अस्तिदेखि ग्यास वितरण गर्न छाडेको छ ।’
यता अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन क्रान्तिकारी पिएन क्याम्पस जिल्ला समितिका अध्यक्ष त्रिदीप गुरुङले विद्यार्थीलाई ग्यास सहज गर्न क्याम्पसभित्र ल्याएर ग्यास वितरण गरेको बताए । ‘ग्यास लुटेको भन्न मिल्दैन विद्यार्थीको आवश्यकतालाई ध्यानमा राख्दै वितरण गरिएको हो,’ उनले भने, ‘३ सय ९१ होइन ३ सय २५ वटा ग्यास वितरण गरिएको हो ।’
डिलरबाट विद्यार्थी ग्यास पाउन अप्ठेरो भएपछि बाध्यताले त्यसो गरिएको उनले बताए । ‘हामीले ग्यासका सम्बन्धित व्यक्तिलाई रकम लिन बोलाउँदा पनि आएका छैनन,’ उनले भने, ‘विद्यार्थीलाई परिचयपत्रको आधारमा हामीले ग्यास बाडेका हौं ।’
घटनाबारे उजुरी समेत परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी घनश्याम अर्यालले बताए । ‘अज्ञात समूहले ग्यास लुटेको भन्ने उजुरीमा उल्लेख गरिएको छ,’ एसपीले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको छ ।’
अनलाइन साझा खबरबाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved