नयाँदिल्ली, १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले छिमेकी भारत र चीन दुवै मुलुकसँग विकासका लागि परिणाममुखी साझेदार गर्न चाहेको बताउनुभएको छ । उहाँले दुई देशको तिव्र आर्थिक विकासबाट नेपालले लाभ लिएर अघि बढ्ने बताउनुभयो ।
राजकीय भ्रमणको चौथो दिन नयाँदिल्लीस्थित विश्व मामिलासम्बन्धी भारतीय परिषद्लाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको माटोमा कोही विरुद्ध कोहीलाई दुरुपयोग हुन नदिने र भारतको सुरक्षा चासो र ऊसँगको लामो मित्रतालाई पनि ध्यानमा राख्ने बताउनुभयो ।
उहाँले नेपाली जनताका विविधतायुक्त चाहना र भावनालाई संविधानले सम्बोधन गरेको र संविधान जारीसँगै अब मुलुकलाई आर्थिक विकासको दिशामा अघि बढाउने र त्यसका लागि दुबै छिमेकीको सहयोग नेपाललाई आवश्यक रहेको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले संविधानसभाले सबै समुदाय र पक्षसँग छलफल र संवाद तथा सहमतिको प्रक्रियाबाट ९० प्रतिशत सभासद्को मतबाट संविधान बनाएको जानकारी दिँदै यसमा सबै पक्ष सबै बुँदामा सहमति नहुन पनि सक्ने बताउनुभयो । नेपालको संविधानले सबै मौलिक अधिकारको विश्वव्यापी मान्यतालाई आत्मसात गरेको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले नेपालको संविधान नमुनायोग्य र प्रगतिशील रहेको दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘संविधानले नागरिकता, रोजगारीको अवसर, समावेशीता, सामाजिक न्याय, समता र लोकतन्त्र जस्ता सवालमा कुनै समुदायलाई विभेद गरेको छैन, बरु पछाडि पारिएका समुदायलाई आरक्षणको पनि व्यवस्था गरेको छ ।’
प्रधानमन्त्री ओलीले संविधानसँगै नेपालले लामो समयदेखिको संक्रमणकालको अन्त्य गरेकोमा विश्व समुदाय र भारत सरकारले यसलाई महत्वपूर्ण उपलब्धीका रुपमा लिएकोमा आभार व्यक्त गर्नुभयो । उहाँले नजिकको छिमेकी र महत्वपूर्ण विकास साझेदार भारतसँग परम्परागत र लामो सम्बन्ध रहेकाले आपसी सम्बन्धलाई कुनै सम्झौता वा दस्तावेजमा सीमित नराखी भावनात्मक आधारमा पनि हेर्नुपर्ने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो– ‘हामीहरु एकापासमा विश्वास, सम्मान, सार्वभौमसत्ता, स्वतन्त्र तथा मैत्री सम्बन्ध र समृद्धिको मार्गदर्शनमा अघि बढेका छौं भन्दै यो सम्बन्ध सरकार सरकारमा मात्र नभई जनता जनतामा पनि जोडिएको र आपसी सम्बन्ध विस्तार र सुरक्षाका सवालमा हामी संवेदनशील छौं ।’
प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटमा दुई देशबीच पछिल्ला समयमा देखिएको तिक्तता र असमभझदारी हटाउने प्रयास गरिएको र आगामी दिनमा त्यस्ता असमझदारी नरहने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले संविधानमा आफ्नो पार्टीको पनि केही विषयमा फरक मत रहे पनि दुई तिहाइले पारित गरेकाले त्यसलाई ग्रहण गरेको भन्दै नयाँ संविधानले सबै समुदायलाई समेटेको बताउनुभयो । उहाँले कतिपय गलत बुझाइका कारण संविधान जारीपछि नेपाल र भारतबीचको सम्बन्धमा तिक्तता आए पनि प्रधानमन्त्री ओलीको भ्रमणबाट सम्बन्ध स्पष्ट भएको बताउनुभयो ।
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नयाँ संविधानको स्वागत गर्दै जनताको जायज मागका आधारमा संविधानमा संशोधन गरेकोमा आभार व्यक्त गर्नुभयो । उहाँले नेपाल सरकारले गठन गरेको राजनीतिक संयन्त्रबाट वार्ता र संवादका आधारमा मधेसी दलका माग र संघीयताको सीमाकंनसम्बन्धी समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । विदेशमन्त्री स्वराजले संविधान बनाउन नेपालले देखाएको परिपक्वताको स्वागत गर्नुका साथै बधाईसमेत दिनुभयो ।
उहाँले १७ वर्षदेखि हुन नसकेको भारतीय पक्षको नेपालमा उच्चस्तरीय भ्रमणलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले तोडेको र पछिल्ला दिनमा आपसी भ्रमण र संवाद बढेकामा खुशी समेत व्यक्त गर्नुभयो ।
उहाँले भारतले नेपालप्रति ठूलो दाइको व्यवहार गर्न चाहेको भन्ने गतल बुझाईको खण्डन गर्दै त्यसलाई प्रौढ भाईका रुपमा नेपालमा समस्याबारे चासो राखी समाधानमा सहयोग गर्न चाहेको अर्थमा बुझ्न आग्रह गर्नुभयो ।
Home »
Nepali News
» नेपालको माटो कोहीविरुद्ध दुरुपयोग हुन्न : प्रधानमन्त्री ओली
नेपालको माटो कोहीविरुद्ध दुरुपयोग हुन्न : प्रधानमन्त्री ओली
Posted by Unknown
Posted on 4:00 AM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment