नेपालगन्ज–जहाजभित्र एक्कासी कोकोहोलो मच्चियो। बचाउ–बचाउ भन्दै यात्रु चिच्याउन थाले। सान्त्वना दिँदै पाइलट दिनेश न्यौपाने जोरले कराएर–'नआत्तिनुस् हामी मरेर भएपनि तपाईंहरुलाई बचाउँछौं।' पाइलटले यात्रु थमाउन कोसिस गर्दै थिए, जहाज ड्याम्म जमिनमा बजारियो। जहाजमा सवार धनन्जय खत्रीलाई यो सबै कुनै सपना जस्तै लागेको छ।
जुम्ला चन्दननाथ–५ निवासी ३१ वर्षीय खत्री पाइलट न्यौपानेको छेउमै बसेका थिए। पाइलटले जहाज कसरी चलाउँदारहेछन्, उनी बडो नियालेर हेर्दै थिए। पाइलट जहाजका स्विच यताउता हल्लाएको खत्रीले निकै चासो दिएर हेरिरहेका थिए। तर उनको ध्यान एक्कासी भंग भयो। गड्याङ–गुडङ्को आवाजले उनीमात्रै हैन जहाजका सबै यात्रुको होस हवास उड्यो।
'बिग्रन थालेको गाडीको गियर चेन्ज गरेजस्तो भयो, अनि पंखा पनि घुम्न छाड्यो', उनी सम्झन्छन् 'पाइलटले जहाजभित्र जडान भएका विभिन्न वस्तुहरु थिचेको थिच्यै गरिरहे, तर कुनैले काम गरेको जस्तो लागेन।' नेपालगन्जबाट शुक्रबार दिउँसो १२ः१५ बजे जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको 9NA JB जहाज पहाडको खोचबाट गन्तव्यतर्फ जादै थियो । जहाज १२ः २७ बजे सम्पर्क विहिन भए लगत्तै कालिकोटको चिलखाया–२ मा दुर्घटनामा पर्यो ।
जहाज टेकअफ पछि आकाशमा उडिरहँदा सबै यात्रु आ–आफ्नै धुनमा थिए। जब जहाज कालिकोट प्रवेश गर्यो, पाइलटले गडबडीको सुँइको पाए। जहाजमा खराबी आएदेखि नै पाइलट न्यौपानेसँग छेउमै बसेका खत्रीको दोहोरो संवाद चलिरहेको थियो।
जहाजमा समस्या आएपछि पाइलट न्यौपानेको निर्देशन बमोजिम खत्रीले अन्य यात्रुलाई सम्झाउँदै भने, 'पाइलटले नआत्तिन भन्नु भएको छ, केही हुँदैन सबै ठिक हुन्छ, नआत्तिउँ है।' पाइलटले अह्राएबमोजिम खत्रीले सबै यात्रुलाई सिटबेल्ट बाँध्न भने।
इन्जिन बन्द भएपछि जहाज आकाशमै ढलपलाउँदै कहिले यता कहिले उता लडखडाउन लाग्यो। खत्रीले सिटबाट खसेका केही यात्रुलाई उठाएर पुनःसिटमा समेत राखे। खत्री जहाज दुर्घटना हुँदासम्म पनि पूरै होस्मा थिए। जब जहाज जमिनमा बजारियो उनी केहीबेरमा सम्हालिएर पछाडि फर्केर हेर्दा सहयात्रीहरुको बिचल्ली देखे।
'पछाडि सबै ऐया–आथ्था भन्दै चिच्याइरहेका थिए, तर दुबै पाइलट भने मौन थिए। उनले पछिल्तिर कोकोहोलो सुने तर अगाडि भने सन्नाटा देखे। 'मैले पाइलट न्यौपानेलाई हातले कोट्याए, उहाँ केही बोल्नु भएन, उहाँ अचेत हुनुहुन्थ्यो,' उनले भने।
गाउँलेहरु आएर सबैको उद्दार गरेको घाइते खत्रीले बताए। खत्री नेपालगन्जमा उपचार गराएर थप उपचारकालागि शनिबार काठमाडौं गएका छन्। उनको बाँया खुट्टा भाँचिएको छ। खत्री जिल्ला कृषि विकास कार्यालय जुम्लामा कार्यरत छन्। जुम्ला बजारमा एग्रोभेट पसलसमेत राखेका खत्री शुक्रबार नेपालगन्जस्थित सगरमाथा एग्रोभेटबाट मालसामान लिएर जाँदै थिए।
Home »
Nepali News
» कालसँग जुधेका एक यात्रुको वयानः जब आकाशमै जहाज बिग्रियो...
कालसँग जुधेका एक यात्रुको वयानः जब आकाशमै जहाज बिग्रियो...
Posted by Unknown
Posted on 11:57 PM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment