Home » » राष्ट्रियता जोगाउन नेपालका सम्पूर्ण कम्युनिस्ट पार्टीबीच कार्यगत एकता: प्रधानमन्त्री ओली

राष्ट्रियता जोगाउन नेपालका सम्पूर्ण कम्युनिस्ट पार्टीबीच कार्यगत एकता: प्रधानमन्त्री ओली


राजधानीमा पहिलोपटक कम्युनिष्ट नेताहरु एकै
मञ्चमा

काठमाडौँ, २७ मङ्सिर । वामपन्थी आन्दोलनका
अगुवाले मुलुकको राष्ट्रियता जोगाउन नेपालका
सम्पूर्ण कम्युनिस्ट पार्टीको कार्यगत एकतामा
जोड दिनुभएको छ ।
मुलुकको वामपन्थी आन्दोलनका संस्थापकमध्येका
एक खगुलाल गुरुङलाई अभिनन्दनका लागि आज यहाँ
आयोजित समारोहमा विभिन्न कम्युनिस्ट
पार्टीका नेताले मुलुकको राष्ट्रियतामाथि
खतरा उत्पन्न भएको भन्दै सबै कम्युनिस्ट पार्टीको
कार्यगत एकतामा जोड दिनुभएको हो ।
वामपन्थी अगुवा गुरुङलाई अभिनन्दन गर्नुहुँदै
प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी
शर्मा ओलीले सबै कम्युनिष्ट पार्टीको कार्यगत
एकताले मात्रै मुलुक र कम्युनिष्ट आन्दोलन बलियो
हुने बताउनुभयो । “राष्ट्र निर्माणका लागि सबै
कम्युनिष्ट पार्टीलाई एक ठाउँमा ल्याउन मेरो
इमान्दार प्रयास रहनेछ,” उहाँले भन्नुभयो ।
अन्याय, शोषण, विभेद र समानताका लागि
माक्र्सवाद उपयुक्त सिद्धान्त भएकोमा जोड दिँदै
प्रधानमन्त्री ओलीले अग्रज नेताको योगदानका
कारण नै आज मुलुकमा कम्युनिष्ट शक्ति प्रवल
शक्तिका रुपमा स्थापित भएको बताउनुभयो ।
समारोहमा एकीकृत नेकपा (माओवादी) का
अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले
नेपालको कम्युनिष्ट आन्दोलन बलियो भएको बेला
साम्राज्यवादीले फुटाउने षडयन्त्र गरेको आरोप
लगाउँदै सबै पार्टीको कार्यगत एकतामा जोड
दिनुभयो ।
नेपाली जनताले आफ्नो संविधान आफैँ बनाएका
कारण मुलुकले अहिलेको समस्या भोग्नुपरेको
औँल्याउँदै अध्यक्ष दाहालले अहिलेको राष्ट्रिय
सङ्कट समाधानमा कम्युनिष्ट पार्टी फरक स्वरुप
भएपनि एक भएको बताउनुभयो ।
समारोहमा अभिनन्दित नेता गुरुङले संविधान लागू
गर्न सबैलाई अनुरोध गर्दै मुलुकका सबै कम्युनिस्ट
पार्टी एक ठाउँमा उभिँदा आफ्नो सपना पूरा
भएको बताउनुभयो । ९८ वर्षीय नेता गुरुङले छ
दशकभन्दा लामो जीवन मुलुक र कम्युनिष्ट
आन्दोलनमा बिताउनुभएको छ ।
समारोहमा पहिलो सत्रको सभापतित्व गर्नुभएका
नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष
मोहन वैद्यले मुलुकको राजनीतिक आन्दोलनमा नेता
गुरुङले अतुलनीय योगदान गरेको चर्चा गर्दै अझै
विजय प्राप्त गर्न बाँकी रहेको बताउनुभयो ।
नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले
मुलुकको राजनीति गम्भीर मोडमा रहेको बताउँदै
राष्ट्रियता बचाउन सबै कम्युनिष्ट पार्टी एकजुट
भए ठूलो योगदान पुग्ने बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम्
उपप्रधानमन्त्री चित्रबहादुर केसीले कम्युनिष्ट
पार्टीका फरक धार भएपनि मुलुकलाई जोगाउन सबै
वामपन्थी एक ढिक्का हुनुको विकल्प छैन भन्नुभयो

समारोहमा नेकपा (माले) का महासचिव एवम्
उपप्रधानमन्त्री सिपी मैनाली, एमाओवादी
नेत्री एवम् सामान्य प्रशासन मन्त्री रेखा शर्मा,
एमालेका उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ
कम्युनिष्ट नेता विष्णुबहादुर मानन्धर, नेताहरु
भरतमोहन अधिकारी, अमिक शेरचन, नन्दकुमार
प्रसाईं, गोविन्द ज्ञवाली, लिलामणि पोखरेल,
शालिकराम भण्डारी, वीरबहादुर सिंह,
दिनानाथ शर्मा, डिलाराम आचार्य, विमल
शर्मा, कृष्णगोपाल श्रेष्ठ, गणेश साह, मणि
थापालगायतको सहभागिता थियो ।
आयोजक समितिका संयोजक भएर पनि पहिलो
सत्रमा उपस्थित नभएका अर्धभूमिगत नेकपा (मसाल)
का महामन्त्री सिंहले सञ्चारमाध्यमलाई बाहिर
पठाएपछि मात्र दोस्रो सत्रको सभापतित्व
गर्नुभएको थियो । दैनिक नेपाल बाट।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved