Home » » मधेस आन्दोलनः के हुँदा हुन्छ वार्ता सफल ? पढ्नोस् महन्थ ठाकुरको जवाफ......

मधेस आन्दोलनः के हुँदा हुन्छ वार्ता सफल ? पढ्नोस् महन्थ ठाकुरको जवाफ......


वीरगन्ज, पुस १ । तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले व्यवस्थापिका–संसदमा प्रस्तुत संविधान संशोधनसम्वन्धी प्रस्तावले मधेस आन्दोलनका मागलाई सम्बोधन गर्न नसक्ने भएकाले एकमुष्टरुपमा सहमति खोज्न सरकारसँग आग्रह गरेका छन् ।

सो पार्टीद्वारा बुधबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा उनले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको विरोधका बाबजुद पनि सरकारले मंगलबारको संसद बैठकमा उक्त विधेयक पेस गरेकोमा आपत्ति जनाए ।

अध्यक्ष ठाकुरले मधेसी जनताको माग र भावनाविपरित सरकारले उक्त विधेयक संसदमा पेस गरेर मोर्चासँग वार्ता र संवादको वातावरण बिगार्ने काममा लागेको आरोप लगाउँदै विगतमा भएका सम्झौता कार्यान्वयन नभएसम्म वार्ता सफल नहुने बताए ।

‘मधेसका नागरिकलाई वास्तविक नागरिक नमान्ने र उनीहरुको आस्थामाथि सधैं प्रश्न गर्ने चलनविरुद्ध यो आन्दोलन हो’–उनले भने–‘मधेसलाई अधिकार सम्पन्न नबनाएसम्म आन्दोलन जारी रहन्छ ।’

अध्यक्ष ठाकुरले आफूहरुको माग सम्बोधन नभएसम्म सडक र सदन दुबैतर्फबाट सशक्त विरोध जनाउने बताउँदै समानुपातिक र समावेशी सिद्धान्तलाई व्यवहारिक कार्यान्वयन, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण र प्रदेशको सीमांकनलगायतका विषयमा सरकारले स्पष्ट धारणा नल्याएसम्म वार्ता सफल हुन नसक्ने स्पस्ट पारे ।

‘अधिकार र अवसरको प्राप्ति तथा विभेदविरुद्धको यो आन्दोलनलाई निर्णायक तहमा नपुर्‍याएसम्म हामी शान्त भएर बस्न सक्दैनौं’ भन्दै उनले ‘विगतभन्दा अझ बढी सशक्त, व्यवस्थित र प्रभावकारीरुपमा आन्दोलन अगाडि बढाउन’का लागि सम्बन्धित सबै पक्षसँग आग्रह पनि गरे । रासस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved