Home » » बाबुरामपछि प्रचण्डलाई अब नारायणकाजीको चेतावनी, गृहमन्त्री शक्ति बस्नेतलाई फिर्ता बोलाउन माग....

बाबुरामपछि प्रचण्डलाई अब नारायणकाजीको चेतावनी, गृहमन्त्री शक्ति बस्नेतलाई फिर्ता बोलाउन माग....

काठमाडौँ, २६ मङ्सिर । वर्तमान सरकारमा सहभागी मन्त्रीले प्रभावकारी रुपमा जनताको
पक्षमा काम गर्न नसकेको भन्दै चर्को आलोचना भएको छ ।
एमाओवादीको आज बसेको स्थायी समितिको बैठकमा जनतालाई सेवा दिने र जनताको
पक्षमा काम गर्ने लक्ष्यका साथ वर्तमान सरकारमा सहभागी भएको भए पनि मन्त्रीहरुको
कार्यशैली एकदमै सुस्त र जनपक्षीय नभएको भन्दै आलोचना भएको हो ।
भारतको अघोषित नाकाबन्दीका कारण मुलुक समस्यामा परेको अवस्थामा युद्धस्तरका
काम गर्नुपर्नेमा सामान्य अवस्थामा जस्तो काम गरेको, पार्टी जनता र मुलुकको
अवस्थालाई ख्याल गर्नुपर्नेमा त्यसो नगरेको भन्दै किन त्यस्तो भएको हो, प्रष्ट जवाफ
दिनुपर्ने बताउनुभएको थियो ।
पछिल्लो दिनमा गृहमन्त्री शक्तिबहादुर बस्नेतको भूमिकाप्रति अधिकांश स्थायी समिति
सदस्यले आपत्ति जनाएका थिए । भूकम्पपीडितको नाममा चीन भ्रमणमा भूकम्प प्रभावित
क्षेत्रका जनतालाई पठाउनुु पर्नेमा पार्टी अध्यक्ष पुष्पकमल दाहालका नातिनी र गृहमन्त्री
बस्नेतले आफ्नै छोरीलाई पठाएको भन्दै आपत्ति जनाएका थिए ।
भूकम्प प्रभावित क्षेत्रका जनता, पार्टीका तल्लास्तरका कार्यकर्तालाई चीन भ्रमणमा
पठाउनुपर्नेमा भूकम्पको नामोनिसान नै नभएका क्षेत्रका व्यक्तिलाई किन पठाएको भन्दै
गृहमन्त्री बस्नेतलाई फिर्ता समेत बोलाउनुपर्ने स्थायी समिति सदस्यहरुको जोड थियो ।
स्थायी समिति सदस्यद्वय जनार्दन शर्मा र गोपाल किरातीले सरकारमा गएका मन्त्रीको
व्यवहार र कार्यशैली हेर्दा पार्टीले जस लिने ठाउँ नभएको भन्दै बानी सुधार नगरे पार्टीको
साखसमेत गुमेको बताउनुभएको थियो ।
बैठकमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकारमा सहभागी मन्त्रीको कार्यशैली गलत,
अपारदर्शी भएको भन्दै आलोचना गर्नुभएको थियो । उहाँले मन्त्रीहरुले अटेरी प्रवृत्ति जारी
राखे सरकार सञ्चालन तथा समन्वय समितिको संयोजकको तर्फबाट राजीनामा दिने
चेतावनी समेत दिनुभयो । यसअघि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले यस्तै फरक मत राखेर
प्रचण्डलाई चेतावनी दिँदै आउनुभएको थियो । पछि पार्टी छाड्नुभयो ।
बैठकमा महासचिव कृष्णबहादुर महरा, कोषाध्यक्ष एवम् कृषि विकास मन्त्री हरिबोल गजुरेल र
प्रवक्ता दीनानाथ शर्मा भने सहभागी हुनुभएको थिएन ।
जनतामा जाने कार्ययोजना ल्याउन माग
यसैबीच पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको केन्द्रीय समितिको बैठकमा
धारणा राख्ने नेताहरुले जनतामा फर्क र जनताबाट सिक भन्ने नाराका साथ पार्टी
जनतामा जानुपर्ने धारणा राख्नुभएको थियो ।
पार्टीको अवस्था कमजोर भएकाले तत्काल सङ्गठन सुदृढीकरणसम्बन्धी कार्ययोजना ल्याउन
नेताहरुले आग्रह गर्नुभएको प्रवक्ता शर्माले जानकारी दिनुभयो । आजको बैठकमा दशजना
केन्द्रीय सदस्यले आफ्नो धारणा राख्नुभएको थियो ।
आइतबारसम्म केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सकिने जानकारी दिँदै प्रवक्ता शर्माले
सोमबार पार्टी अध्यक्ष दाहालले बैठकमा उठेका समग्र विषयमा आफ्नो धारणा राखेर नयाँ
कार्ययोजनासहित बैठक समाप्त हुनेछ । रासस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved