Home » » मधेसी मोर्चाको कार्यक्रममा गठबन्धनका नेताको भाषण, भन्छन्- आन्दोलन रोकिँदैन....

मधेसी मोर्चाको कार्यक्रममा गठबन्धनका नेताको भाषण, भन्छन्- आन्दोलन रोकिँदैन....


७ पुस, सप्तरी । जारी मधेस आन्दोलनको नेतृत्व दुई
खेमाले गरिरहेको अवस्था छ । चार-चार मधेसवादी दल
सम्मिलित छुट्टाछुट्टै दुई खेमा मधेश आन्दोलनको नेतृत्व
गर्दै आएको अवस्थामा सप्तरीमा दुबै खेमाका नेताहरु
एकै मञ्चमा देखा परे ।
यति मात्रै होइन मधेसी मोर्चाले बिरोधसभाको
आयोजना गर्यो र संघीय समावेशी मधेसी गठबन्धनका
नेताहरु मञ्चमा उक्लिएर भाषण ठोके । संयुक्त
लोकतान्त्रिक मधेसी मोर्चा र संघीय मधेसी गठबन्धन
गरी दुई खेमामा रहेका मधेसवादी शक्तिहरु आ-आफ्नै
तरिकाले सरकारसँग वार्ता समेत गरिरहेका छन् ।
तराई/मधेशका जिल्लामध्ये सप्तरी मात्रै एउटा
जिल्ला हो, जहाँ मोर्चा र गठबन्धनमा आबद्व सबै दल
एकै ठाउँमा छन् । यही भएर यस जिल्लामा न त संयुक्त
लोकतान्त्रिक मोर्चा छ न त गठबन्धन नै ।
एकजुट भएर आन्दोलन गरिरहेका मधेसवादी दलहरुले
जिल्लामा संयुक्त संगठनको नाम ‘मधेसी मोर्चा’
मात्रै राखेको छ । यो मोर्चामा आठ वटा मधेसवादी
दलका साथै मोहन बैद्य नेतृत्वको नेकपा-माओवादी र
मातृका यादव नेतृत्वको नेकपा माओवादी समेत संलग्न
रहेको छ ।
मंगलबार राजविराजमा मधेशी मोर्चाले आयोजना
गरेको कार्यक्रममा गठबन्धनका चार जना नेताले भाषण
ठोके । तराई मधेस राष्ट्रिय अभियानका संयोजक
जयप्रकाश प्रसाद गुप्ता, राष्ट्रिय मधेस समाजवादी
पार्टीका अध्यक्ष शरदसिंह भण्डारी, नेपाल
सद्भावना पार्टीका अध्यक्ष अनिल झा र फोरम
गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवका साथै
मधेसी मोर्चाका केहि केन्दि्रय नेताहरु समेतले एकै
मञ्चबाट भाषण दिन भ्याए ।
नेताहरुले भने-आन्दोलन जारी रहन्छ
आयोजित बिरोधसभामा नेताहरुले प्रधानमन्त्री केपी
शर्मा ओली आन्दोलनलाई कुनै पनि हालतमा सम्बोधन
गर्ने पक्षमा नभएको पुष्टि हुँदै गएको बताएका छन् ।
उनीहरुले एकातर्फ वार्ताको नाटक गर्ने र अर्काेतर्फ
उत्तेजित अभिव्यक्ति दिनुले ओली नै सहमतिको बाधक
रहेको बताए ।आन्दोलनको एजेण्डाबिरुद्व नै
अभिव्यक्ति दिएर ओलीले समस्या बल्झाउन खोजेको
उनीहरुले बताए ।
नेताहरुले ओली इटहरीमा आएर १ नम्बर प्रदेशलाई २
नम्बरमा कुनै पनि हालतमा समावेश हुन नदिने भनी
बोलेको कुराप्रति आपत्ति समेत जनाए । नेताहरुले
ओलीको यस्तो बोलीलाई दरिद्रताको संज्ञा दिए

बिरोधसभालाई सम्बोधन गर्दै तराई मधेस राष्ट्रिय
अभियानका संयोजक जय प्रकाश प्रसाद गुप्ताले
सरकारले पछिल्लो समयमा प्रस्ताव गरेका कुराहरु कुनै
नौलो नभएको बताए । उनले संविधान संशोधनका
निम्ति पेश गरिएको विधेयकले कुनै पनि समस्याको
समाधान नगर्ने उल्लेख समेत गरे ।
यो संशोधन प्रस्तावलाई संयुक्त लोकतान्त्रिक मधेसी
मोर्चा, संघीय समावेशी मधेसी गठबन्धन र थारुवान
संघर्ष समितिले पनि अस्वीकार गरिसकेकाले यसलाई
मान्नुपर्ने कुनै कारण नै नभएको उनको भनाई छ । मधेसी
गठबन्धन मधेसी मोर्चाको बाधक नभएको उनले बताए ।
राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष
शरदसिंह भण्डारीले जारी आन्दोलन मधेसी जनताले
गरिरहेको बताउँदै मोर्चा र गठबन्धनभन्दा जनता नै
अग्रणी भूमिकामा रहेको बताए । यो आन्दोलन नै
अन्तिम आन्दोलन भएको बताउँदै उनले उधारोमा
सहमति भएपनि यो आन्दोलन नटुँगिने बताए । ‘उधारो
सम्झौतामा आन्दोलन टुँगिने अवस्था आउनै सक्दैन’ उनले
भने-‘यत्रो दिनदेखि जारी आन्दोलनले पनि उधारो
नभई नगद सहमति चाहेको छ ।’
बिरोधसभामा संघीय समाजवादी फोरम नेपालका
केन्द्रीय सदस्य शैलेन्द्रप्रसाद साह, तराई मधेस
लोकतान्त्रिक पार्टीका केन्दि्रय सदस्य जयप्रकाश
ठाकुर, सद्भावना पार्टीका केन्द्रीय सदस्य दिपेन्द्र
चौधरी, माओवादी (मातृका समूह) का केन्द्रीय
सदस्य महेश यादवसहितका नेताहरुले मन्तव्य व्यक्त गरेका
थिए ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved