Home » » इन्धन आयातको सम्झौता गर्न उपप्रम थापाको नेतृत्वमा नेपाली टोली चीन जाँदै

इन्धन आयातको सम्झौता गर्न उपप्रम थापाको नेतृत्वमा नेपाली टोली चीन जाँदै

काठमाडौं, पुस २ । चीन सरकारसँग इन्धन
आयातलगायत अन्य व्यापारिक सम्झौता
गर्न सरकारको उच्चस्तरीय प्रतिनिधिमन्डल
यही पुस ८ गते त्यसतर्फ जान लागेको छ ।
भारतको अघोषित नाकाबन्दीपछि इन्धन
आयात गर्ने विषयमा सरकारका विभिन्न
निकायले चीनसँग औपचारिक तथा
अनौपचारिक रुपमा जारी राखेको
छलफललाई निष्कर्षमा पुर्याउने उद्देश्यका
साथ उपप्रधानमन्त्री कमल
थापाको नेतृत्वमा प्रतिनिधिमन्डल त्यसतर्फ
जान लागेको हो ।
हाल बेलायत भ्रमणमा रहेका परराष्ट्रमन्त्री
थापा यही पुस ६ गते स्वदेश फर्किएलगत्तै चीन
भ्रमणमा जानेछन् । वाणिज्य तथा
आपूर्तिमन्त्री गणेशमान पुनले केही समय पहिले
गरेको चीनको अनौपचारिक भ्रमण र नेपाल
आयल निगमका उच्च अधिकारीको भ्रमणपछि
उच्चस्तरीय भ्रमणको तयारी गरिएको हो ।
चीनको सरकारी कम्पनी पेट्रो चाइनासँग
व्यापारिक रुपमा इन्धन खरिद गर्ने विषयमा
प्रारम्भिक सहमति भएपनि व्यापारिक
सहमति भने हुन सकेको थिएन ।
निगमको प्राविधिक टोलीले पेट्रो
चाइनाका उच्च अधिकारीसँग यसअघि नै
छलफल गरेको थियो भने वाणिज्य
मन्त्रालयका उपसचिव शिवप्रसाद
त्रिपाठीलगायतको अर्को प्रतिनिधिमन्डल
इन्धन आयातलगायत विषयमा द्विपक्षीय
कुराकानी गर्न हाल चीनमै रहेको छ ।
प्रतिनिधिमन्डलमा वाणिज्य तथा आपूर्ति,
अर्थ, कानुन, न्याय तथा संसदीय मामिला
मन्त्रालयका उच्च अधिकारी पनि सहभागी
रहने बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य
सल्लाहकार विष्णुप्रसाद रिमालका अनुसार
उपप्रधानमन्त्री बेलायत भ्रमणबाट
फर्किएलगत्तै चीन भ्रमणमा जाने तयारी
गरिएको छ । परराष्ट्र मन्त्रालयले सो
सम्बन्धमा आवश्यक तयारी गरिरहेको छ ।
चीन भ्रमणका क्रममा इन्धन आयातलगायत
अन्य व्यापारिक सम्झौता हुने बताइएको छ ।
रासस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved