सीमांकनमा विश्वस्त पार्ने आधार ल्याउनुपर्छः
यादव
काठमाडौँ, ५ पुस । सङ्घीय समाजवादी फोरम
नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा अहिले
देखिएका दुईथरि अतिवादले सङ्कट समाधानका
लागि सहमतिमा पुग्न अप्ठ्यारो पारिरहेको
बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालद्वारा आज यहाँ आयोजित
साक्षात्कारमा उहाँले भन्नुभयो, “तराई मधेसको
आन्दोलन केही पनि होइन भन्ने एकथरि र आन्दोलन
पहाड तथा काठमाडौँविरुद्ध हो भन्ने अर्काथरि
दुवै खाले अतिवादी चिन्तनलाई रोक्न आवश्यक छ
।”
नेपाली काँग्रेसका सभापति सुशील कोइरालासँग
शनिबार भएको वार्ता सकारात्मकतर्फ उन्मुख
रहेको बताउँदै उहाँले विगतका सहमति कार्यान्वयन
नगरेर विश्वास टुटाउने काम ठूला राजनीतिक
दलबाट भएकाले सीमाङ्कनका विषयमा विश्वस्त
पार्ने आधार तय भएमा
आन्दोलन फिर्ता लिने सङ्केत गर्नुभयो ।
यद्यपि उहाँले भन्नुभयो, “विश्वविद्यालयको
जस्तो सेमेस्टर प्रणाली र किस्ताबन्दीमा भने
यसपालिको आन्दोलन उधारो आश्वासनमा
रोकिनेवाला छैन ।”
अध्यक्ष यादवले आफूहरुले उठाएका मागलाई सरकारले
एक रत्ती पनि नसुनेका कारण पुनः आन्दोलनका
कार्यक्रम घोषणा गरिएको बताउँदै भन्नुभयो,
“आन्दोलनबाट हिमाल, पहाड र तराईका निम्न
तथा मध्यम वर्गका जनता धेरै नै पीडित भएको र
दुःख पाउँदा समेत सरकारको नेतृत्वमा त्यस
विषयमा चिन्ता नहुँदा १२८ दिन पुगिसक्दा पनि
आन्दोलन निष्कर्षमा पुग्न नसकेको हो ।”
जनकपुर घटना दुःखद
विवाहपञ्चमीका दिन जनकपुरमा भएको
घटनाप्रति आफू दुःखी भएको बताउँदै उहाँले
भन्नुभयो, “त्यो दुःखद घटना हो, आन्दोलनका
मागलाई सम्बोधन गराउन जनताले राज्यलाई दबाब
दिनुपर्छ ।” अध्यक्ष यादवले प्रदेशहरुमा बहुभाषाको
प्रयोग, प्रदेशको सीमाङ्कन सच्याउने,
समानुपातिक र समावेशी प्रतिनिधित्व,
जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण
लगायत विषय समाधान गर्न नसकिने कुनै माग नै
नरहेको जिकिर गर्नुभयो ।

0 comments:
Post a Comment