Home » » नाकाबन्दी होइन भन्नेहरु भारतीय दलाल हुन्

नाकाबन्दी होइन भन्नेहरु भारतीय दलाल हुन्


अनुराधा थापामगर नेपाल मजदुर किसान पार्टीबाट व्यवस्थापिका संसदमा सांसद हुनुहुन्छ । सोमबार संसद बैठक सुरु
हुनासाथ एकातिर मधेसी मोर्चामा आवद्ध दलहरुले आफ्ना माग पूरा गर्नु पर्ने भन्दै नाराबाजी गरे । अर्को तर्फ
नेमकिपाका दुई जना सांसद अनुराधा थापामगर र प्रेम सुवालले नेपालका लागि भारतका राजदूत रञ्जित रेलाई फिर्ता
पठाउन माग गर्दै संसदमा नाराबाजी गर्नुभयो । दुई जना मात्रै सांसदले गरेको त्यो नाराबाजीले राष्ट्रिय र
अन्तर्राष्ट्रिय तरंग ल्यायो । नेमकिपाका केन्द्रीय सदस्यसमेत रहनुभएकी थापासँग सोही विषयको सेरोफेरोमा रहेर
कुराकानी गरिएको छ । प्रस्तुत छ सो को मुख्य अंशहरुः
जम्मा दुई जनाले गर्नुभएको नाराबाजीले ठूलै तरंग ल्यायो नी !
हो हामी दुई जनामात्रै थियौं भारतीय राजदूतको गैरजिम्मेवार व्यवहारविरुद्ध संसदमा नाराबाजी गर्ने । हामी
संख्यामा सानो भए पनि हाम्रो नाराबाजीले आम देशभक्त नेपाली जनताको प्रतिनिधिन्व गर्छ भन्ने मलाइ विश्वास
छ ।
भारतीय राजदूतविरुद्ध यति धेरै आक्रोश किन ?
यो क्षणिक आक्रोश मात्रै होइन । भारतीय शासकसम्म यो कुरा पुगोस् भन्ने हाम्रो चाहना हो । भारतीय दूत त भारत
सरकारका प्रतिनिधि मात्रै हुन् । एक कुटनीतिज्ञको काम दुई देशबीचको सम्बन्धलाई राम्रो बनाउन भूमिका खेल्ने हुनुपर्छ
। तर उनी त दिनदहाडै झुठ बोल्छन् । सुनसरीमा हाम्रा चार नेपाली दाजुभाईलाई भारतीय सीमा सुरक्षा बल
(एसएसबी)का जवानहरुले गोली प्रहार गरे । त्यो कुरा एसएसबीले नै स्वीकार गरिसक्यो । तर राजदूत वक्तब्यबाजी गर्दै
गोली प्रहार गरेकै हैन भन्छन् । भारतको गोली खाईखाई नेपालीले मर्नु पर्ने ? हेपिएर बाँच्नु पर्ने हुन सक्दैन । अर्को कुरा
संसारले भारतले नाकाबन्दी गरेको हो भनिरहेको । यी राजदूत चाहिँ नाकाबन्दी हैन भन्दै हिँडिरहेका छन् । फेरि उनैलाई
नेपालका बुद्धिजीवी भनाउँदाहरु भेटिरहेका छन् । उनले त्यस्तालाई भेट्न बोलाएर भारतअनुकुलको बोल्न लगाइरहेका छन् ।
यस्ता हस्तक्षेपकारी भारत सरकार र भारतीय राजदूतविरुद्ध बोल्न र प्रतिकार गर्न आवश्यक छ ।
संसदमा तपाईहरुको नाराबाजीमा अन्य दल र सांसदहरुले समर्थन गरेको देखिएन । तपाईहरु एक्लो वृहस्पति जस्तो बन्नुभएको
हो ?
हो हामीले गरेको नाराबाजीमा अन्य दलका सांसदहरुले समर्थन गर्नु भएन । बेलुका घर पुगेर टिभी हेर्दा पनि थाहा भयो
। मुलुकको राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता, सार्वभौमसत्ताका पक्षमा अरु पार्टीका सांसदहरु पनि हुनुहुन्छ । तर
उहाँहरुको पनि आफ्नो पार्टीको नीतिअन्तर्गत हुनु भएकोले बोल्न नसक्नु भएको होला ।
अब नेपाल सरकारले भारतीय दूतलाई फिर्ता पठाउला त ?
सरकारले भारतीय दूतलाई फिर्ता पठाउनु पर्छ भन्ने हाम्रो माग हो । अझ नेपालका प्रधानमन्त्री र अन्य उच्च पदस्थ
व्यक्तिहरुले यस्ता आचारणविपरीतका राजदूतसँग भेट्नै हुँदैन भन्ने पनि हाम्रो माग हो । नेपालमा जातीय राज्य हुनु पर्छ
भनेर अभिव्यक्ति दिने बेलायती राजदूत फिर्ता भएका थिए । अब भारतीय दूत पनि फिर्ता हुनु पर्छ । किनभने यीनले
आफ्नो कुटनीतिक मर्यादा नाघिसकेका छन् । अहिलेको परिवेशमा नाकाबन्दी हैन भन्नेहरु सबै भारतका दलाल हुन् भन्ने
सावित भइसकेको छ ।
भारतीय सुरक्षाकर्मीले नेपाली नागरिकलाई गोली हान्दा पनि मधेसी दलहरु चुइक्क नबोल्ने, तपाईहरु सरकारले गर्नै पर्ने
काम नगर्दा पनि नबोल्ने, यस्तो किन भइरहेको छ ?
पहिलो कुरा त यो बुझ्नु पर्छ कि मधेसीले कसको मुद्धा बोकिरहेका छन् भन्ने । नेपाली नागरिक त्यसमाथि चारै जना
यादव थरका मेधसी पनि । उनीहरुलाई गोली हानेर ढालीसक्दा पनि नबोल्ने दलहरुलाई कुन अर्थमा मधेसवादी भन्ने ?
उनीहरु मधेसवादी हैनन् । उनीहरुले बोकेको मुद्धा भनेको भारतको सात बुँदे माग हो । जुन भारतले मधेसीमार्फत नेपालको
संविधानमा लागु गर्न खाजेको छ ।
भारतको माग बोकेर मधेसीहरुले तराईमा आन्दोलन हैन उपद्रो मच्चाइरहेका छन् । यो आन्दोलन मधेसीको हित हैन राष्ट्रको
अहितका लागि भइरहेको छ । तराईमा जमिन्दारको शोषण, उत्पीडनमा परेका जनताको हितमा उनीहरु बोल्दैनन् । गरिब
मधेसी किसानका लागि शिक्षा, रोजगारी, स्वास्थ्य सेवामा यीनीहरु कहिल्यै बोल्दैनन् ।
भनेपछि मधेसीले उठाएका मागहरु कुनै पनि जायज छैनन् ?
अर्कै देशमा जन्मेका मान्छेलाई नेपालको राष्ट्रपति बनाउनु पर्छ भन्ने माग मधेसीको हुँदैन । नेपालमा सबैभन्दा बढी बसाई
सरेर आउने भारतीय हुन् । यसको सीधा अर्थ भारतीयलाई राष्ट्रको उच्च पद दिनु पर्छ भनिएको हो । तराईका गरिब
किसानको माग भनेको राष्ट्रपति हुन पाउनु पर्छ भन्ने होइन । अधिकार समान होस्, स्वाभिमानका साथ बाँच्न
पाइयोस, काम गरेर खान पाइयोस, बिरामी हुँदा उपचार पाइयोस्, बालबालिकाले गुणस्तरीय शिक्षा पाउन् भन्ने हो

अहिले मधेसका केही दलले गरिरहेको आन्दोलन र उनीहरुको माग जायज छैन । संविधानमा मधेसीले नपाएको र अरुले पाएको
कुनै एक अधिकार छ भने त्यो मैले पनि हेर्न पाउँ ।
मधेसमा त्यति धेरै मानिसहरु सडकमा उत्रेका छन्, त्यसलाई चाहिँ के भन्नु हुन्छ नी ?
तराईमा जो जो आन्दोलनमा जाँदैन त्यसको घर जलाइदिने धम्की बिहारीहरु नेपालमा आएर दिइरहेका छन् । त्यही डर र
त्रासका कारण सोझा नेपालीहरु आन्दोलनमा गएका हुन । १३ जना नाकामा धर्ना दिन जान्छन् । प्रहरले हस्तक्षेप गर्दा
८ जना आफ्नै देश भारत तीर भाग्छन् । पक्राउ परेका पाँच मध्ये २ भारतीय हुन्छन् ।
त्यही दिन प्रहरीको गोलीबाट ढुंगामुढा गरिरहेका भारतीयको मृत्यु हुन्छ । अनि मधेसी नेताहरु भन्छन् उनी त निर्दोश
हुन् । तर त्यही कुरा सुनसरीमा चार यादव दाजुभाईलाई गोली लाग्दा मधेसी नेताहरु बोल्दैनन् । उल्टै उनीहरुलाई तस्कर
भन्छन् । भारतमा इन्दिरा गान्धी प्रधानमन्त्री हुँदा नै नेपालको तराई भारतमा मिसाउने योजना बनेको थियो ।
त्यही भारतको योजना सफल पार्न मधेसी नेताहरु भारतको गोटी बनेर लागि परेका छन् । यो किमार्थ सफल हुन हामी
नै दिदैनौं ।
नाकामा बसेर गरिएको आन्दोलन सफल होला ?
खासमा मधेसीहरु नाकामा गएर बसेका हैनन् । उनीहरुलाई भारतले नाकामा लगेर बसाएको हो । नाकाबन्दी त युद्धको
बेला पनि लगाइदैन । यो युद्धको पर्याय हो । आफ्नै जनतालाई औषधिसमेत नदिएर मार्ने राजनीतिक आन्दोलन हुँदैन । यो
त राष्ट्रद्रोह हो । यस्ता राष्ट्रघातीसँग वार्ता होइन राष्ट्रद्रोहको मुद्धा लगाएर कारबाही गर्नु पर्छ । देश विखण्डन
गर्ने कामलाई आन्दोलन भनिदैन । यो अराजकता, उपद्रो हो ।
काठ्मान्डु टुडे बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved