Home » » नेताहरु बोलाएर सभामुख घर्तीले भनिन्- तत्काल राजनीतिक निकास निकाल्नुस् ....

नेताहरु बोलाएर सभामुख घर्तीले भनिन्- तत्काल राजनीतिक निकास निकाल्नुस् ....


काठमाडौँ, २८ मङ्सिर । सभामुख ओनसरी घर्तीले नेपाल र नेपाली जनतालाई
केन्द्रमा राखेर छलफल गरी वर्तमान सङ्कटको निकास निकाल्न राजनीतिक
दललाई आह्वान गर्नुभएको छ ।
संसद् सेवा दिवसको अवसरमा व्यवस्थापिका–संसद् सचिवालयले आज आयोजना
गरेको समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “संविधान तत्काल कार्यान्वयन
गरेर अघि नबढ्ने हो भने त्यसपछिको राजनीतिक परिदृश्य हामीले अपेक्षा गरेभन्दा
फरक आउन सक्नेछ । त्यसतर्फ बेलैमा ध्यान पु¥याएर तत्काल राजनीतिक निकास
निकाल्न म शीर्ष नेताहरुलाई आग्रह गर्दछु ।”
सरकारभित्र र बाहिर रहेका राजनीतिक दलको समझदारीपूर्ण प्रयासले नै
अहिलेको जटिल अवस्थाको अन्त्य सम्भव रहेको बताउँदै सभामुख घर्तीले भन्नुभयो,
“आशा गरौं, निकट भविष्यमै यो जटिल अवस्थाको अन्त्य हुनेछ ।”
संसद् सेवालाई अपेक्षितरुपमा पूर्ण स्वायत्ततासहितको व्यवसायी, विशिष्ट र
आकर्षक बनाउन अझै काम गर्नुपर्ने आवश्यकता आँैल्याउँदै उहाँले त्यसका लागि पनि
सामूहिक पहल र प्रयत्नको खाँचो रहेको बताउनुभयो ।
उपसभामुख गङ्गाप्रसाद यादवले राजनीतिक नेतृत्वसँगै अहोरात्र खटेर संसद् सेवाका
कर्मचारीले काम गरिरहेकाले संविधानसभाबाट संविधान जारी गर्न सम्भव भएको
हो भन्नुभयो । उहाँले भन्नुभयो – “संसद् सेवालाई अझ व्यवसायी र विशिष्ट
तुल्याउन सबै मिलेर काम गर्न आवश्यक छ ।”
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अग्निप्रसाद खरेलले ‘संविधानवाद र
शक्ति सन्तुलन सिद्धान्तमा बनेको संविधानलाई कसैलाई मन परेको वा नपरेको
विषयसँग जोडेर खोट लगाउनुको कुनै अर्थ रहन्न’ भन्नुभयो ।
संसद्बाट प्रदान गरिने सेवालाई गुणस्तरीय बनाउन सकिए सरकारको काम
कारबाही प्रभावकारी हुन सक्छ भन्दै उहाँले संविधान कार्यान्वयनको
सिलसिलामा आगामी २० दिनभित्रै १९३ वटा कानुन निर्माण हुने जानकारी
दिनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल संसदीय दलका प्रमुख सचेतक दीलनाथ गिरीले
संसद् सचिवालयका कर्मचारीले संविधान निर्माणमा अतुलनीय र प्रशंसनीय
भूमिका निर्वाह गरेको बताउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका प्रमुख सचेतक परशुराम तामाङले
सचिवालयका कर्मचारीले सीप र दक्षतालाई प्रयोग गरेर जनहितका लागि काम
गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
व्यवस्थापिका–संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले
स्रोतसाधनको अभाव र कमजोर प्रशासनिक पकडले कार्य सम्पादन अझ गाह्रो र
मुस्किल देखिएकाले आगामी दिनहरु चुनौतीपूर्ण रहेको धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “एकात्मकस्वरुपको राज्य व्यवस्थाबाट सङ्घीय व्यवस्थामा प्रवेश
गरेका छौँ, सङ्घको सिर्जनाको प्रशासनिक काम बाँकी नै छ, विद्यमान
गतिरोधको अन्त्यसँगै त्यो काम पनि सम्पन्न हुनेछ भन्ने विश्वास लिइएको छ ।”
सचिवालयका सचिव मुकुन्द शर्मा र संसद् सेवा दिवस मूल समारोह समितिका
संयोजक सोमबहादुर थापा, कर्मचारी युनियनका अध्यक्ष नेत्र भट्टराईले संसद्
सेवालाई नमुना र विशिष्ट तुल्याउन सामूहिक भावनाले अघि बढ्न जरुरी रहेको
बताउनुभयो ।
समारोहमा विशिष्ट योगदान पु¥याएबापत यस वर्षको ‘संसद् सेवा सर्वाेत्कृष्ट
पुरस्कार’ शाखा अधिकृत राजन घिमिरेलाई प्रदान गर्ने घोषणा गरिएको थियो
। सो पुरस्कारको राशि नगद एक लाख र प्रमाणपत्र रहेको छ ।
संसद् सेवामा नमुना र उदाहरणीय कार्य गरेबापत हलुका सवारी चालक राजाराम
थापालाई रु ७५ हजार राशिको ‘संसद् सेवा उत्कृष्ट पुरस्कार’ तथा उपसचिव सुर्दशन
कुइँकेल र कार्यालय सहयोगी शिवहरि अधिकारीलाई जनही ५०÷५० हजार
राशिको ‘संसद् सेवा पुरस्कार’ प्रदान गरिएको जानकारी दिइयो ।
समारोहमा संसद् दिवसको अवसरमा आयोजना गरिएका विभिन्न
प्रतियोगिताका विजयीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको
थियो । सो अवसरमा संसद् सचिवालयद्वारा प्रकाशित स्मारिकाको पनि
विमोचन गरिएको थियो ।
पहिले निजामती सेवाको अङ्गका रुपमा रहेकामा २०५८ साल मङ्सिर २८ गते बेग्लै
संसद् सेवा रहने घोषणा भएपछि हरेक वर्ष मङ्सिर २८ गते संसद् सेवा दिवस मनाउने
गरिँदै आएको छ । नीति र विधि निर्माणको मुख्य थलोका रुपमा रहेको संसद्
सेवामा हाल ३३४ जनाको दरबन्दी रहेको छ ।
आफ्नो भवन नरहेका कारण सञ्चालन खर्च बढेपनि दक्षता बढाउन नकिएको
स्वीकार्दै संसद् सचिवालले संसद् भवन बनाउने बारेमा सोच्न र त्यसको व्यवस्था
मिलाउन समारोहमा सरकारको ध्यानाकर्षण गरेको थियो । रासस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved