Home » » एनआरएनले दियो जनकपुर, बुटवल र वीरगन्जका क्षेत्रीय अस्पताललाई निःशुल्क औषधि

एनआरएनले दियो जनकपुर, बुटवल र वीरगन्जका क्षेत्रीय अस्पताललाई निःशुल्क औषधि


काठमांण्डाै १६ मङ्सिर / गैरआवासीय नेपाली सङ्घले
नाकाबन्दीका कारण औषधि अभाव भोगिरहेका जनकपुर,
वीरगन्ज र बुटवलका क्षेत्रीय अस्पताललाई निःशुल्क
जीवनरक्षक औषधि हस्तान्तरण गरेको छ । यसअघि स्वास्थ्य
मन्त्रालयलाई पहिलो चरणमा करिब रु ३८ लाखको औषधि
दिएको सङ्घले पहिलोपटक तीन महिनादेखिको
आन्दोलनबाट प्रभावित तराई क्षेत्रका अस्पतालमा आफैँ
पुगेर औषधि हस्तान्तरण गरेको हो ।
सङ्घका अध्यक्ष शेष घलेसहितको टोलीले तीनवटै
अस्पताललाई करिब दुई–दुई हजार किलो औषधि हस्तान्तरण
गरेको हो । अध्यक्ष घलेले जनकपुर विमानस्थलमा हिजो
आयोजित कार्यक्रममा अस्पतालका अध्यक्ष डा
नगेन्द्रप्रसाद यादव र नि मेडिकल सुपरिटेन्डेन्ट डा राजकिशोर पण्डितलाई औषधि हस्तान्तरण गर्नुभयो । औषधि ग्रहण गर्न अस्पतालका
चिकित्सक र स्थानीय राजनीतिक दलका प्रतिनिधिसमेत विमानस्थल आइपुगेका थिए ।
यसैगरी सङ्घले हिजै नारायणी क्षेत्रीय अस्पताललाई पनि जीवनरक्षक औषधिहरु हस्तान्तरण गरेको छ । अध्यक्ष घलेले अस्पतालका निमित्त
मेडिकल सुपेरिटेन्डेन्ट उदयशंकर चौधरीलाई औषधि हस्तान्तरण गर्नुभयो । यसैगरी बुटवलस्थित क्षेत्रीय अस्पताललाई पनि हिजै सङ्घले औषधि
हस्तान्तरण गरेको छ । भैरहवामा आयोजित कार्यक्रममा सङ्घका अध्यक्ष घलेले अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा राजेन्द्र खनाललाई औषधि
हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा सङ्घका तर्फबाट अध्यक्ष घले, संरक्षक एवम् संयुक्त राष्ट्रसङ्घका पूर्वउपमहासचिव कुलचन्द्र गौतम, संरक्षक इन्द्रा वन र प्रवक्ता रन्जु
थापा उपस्थित हुनुहुन्थ्यो । औषधि ढुवानीका लागि नेपाली सेनाले सहयोगस्वरुप स्काई ट्रक उपलब्ध गराएको थियो । नेपालमा आएको
मानवीय विपत्मा सहयोग गर्न अग्रसर भएको गैरआवासीय नेपाली सङ्घले औषधिको अभावका कारण ज्यान जाने अवस्था आउन नदिन औषधि
सहयोग जारी राख्ने बताएको छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved