Home » » सबै सङ्क्रमितलाई उपचारको दायरामा ल्याउनुपर्छ : प्रधानमन्त्री

सबै सङ्क्रमितलाई उपचारको दायरामा ल्याउनुपर्छ : प्रधानमन्त्री


काठमाडौं, १५ मंसिर । प्रधानमन्त्री केपी शर्मा
ओलीले एचआइभी परीक्षण सेवा जोखिममा परेका
समुदायको पहुँचमा पुगाई सबै सङ्क्रमितलाई
उपचारको दायरामा ल्याउनुपर्ने बताउनुभएको छ ।
विश्व एड्स दिवसको अवसरमा आज एक वक्तव्य
जारी गर्दै प्रधानमन्त्री ओलीले औषधि उपचार
सेवा एन्टिरेट्रोभाइरल (एआरभी)लाई विस्तार गर्दै
सङ्क्रमण देखिएका सबै सङ्क्रमितको घरदैलोमा
पुगाउन हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड
दिनुभएको छ ।
दिवस मनाउन लागेको २८ वर्ष पुग्दा पनि नेपालले
थुप्रै समस्याको सामना गर्नुपरेको बताउँदै उहाँले
अबका दिनमा राष्ट्रिय एड्स परिषद् पनि थप सबल
भई अब बन्ने रणनीति, नीति, योजना र
कार्यक्रममा सहयोग पुगाउनेछ भन्ने आशा लिएको
उल्लेख गर्नुभएको छ ।
वास्तविक समस्या पहिचान गरी र अनुसन्धानको
नतिजाबमोजिम सेवाको विस्तार गर्नुपर्ने
आवश्यकता औँल्याउँदै प्रधानमन्त्री ओलीले
वक्तव्यमा नेपाल सरकार सहयोग गर्न सदैव तत्पर
रहेको बताउँदै एचआइभीका कार्यक्रमलाई थप
प्रभावकारी गराउन र गरिरहेका कार्यक्रमलाई
सुदृढीकरण गर्न सबैको सहभागिता र सहकार्य
आवश्यक रहेकोले आफ्नो आफ्नो क्षेत्रबाट आवश्यक
सहयोग गर्न आग्रह गर्नुभएको छ ।
त्यसैगरी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री रामजनम
चौधरीले पनि आफ्नो सन्देशमा नेपालले हालै
प्रकाशित गरेको राष्ट्रिय स्वास्थ्य नीति २०७१
ले पनि एचआइभीलाई प्रमुख चुनौतीका रुपमा
राखेको उल्लेख गर्दै सो कार्यक्रमलाई थप
प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभएको छ ।
रणनीति (२०१६–२०२०)मा एन्टिरेट्रोभाइरल
(एआरभी) औषधि उपचार सेवालाई अति आवश्यक
आधारभूत स्वास्थ्य सेवाका रुपमा सूचीकृत
गर्नुपर्नेमा जोड दिएको बताउँदै उहाँले यसका
लागि एचआइभीसम्बन्धी रणनीति तथा
योजनाको कार्यान्वयनलाई पनि समीक्षा गरी
अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले जारी गरेको वक्तव्यमा एचआइभी
सङ्क्रमितलाई परीक्षणमा ल्याई तत्काल
उपचारमा ल्याएर यसको महामारीलाई अन्त्य
गरी एड्सरहित पुस्ताको परिकल्पना पुरागर्ने
प्रतिबद्धता जनाउनुभएको छ ।
यसैगरी, सन्देशमा स्वास्थ्य राज्यमन्त्री मोहम्मद
मुस्ताक आलमले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
सन् २०१५ सम्ममा एचआइभी सङ्क्रमणलाई ५० प्रतिशत
घटाउने र एड्सबाट हुने मृत्युलाई २५ प्रतिशतले घटाउने
लक्ष्य पूरा गर्न कटिबद्घ रहेको उल्लेख गर्नुभएको छ ।
स्वास्थ्य मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले
नेपालमा एचआइभी रोकथाम, परीक्षण, उपचार,
हेरचाह सेवामा लक्षित समुदायको पहुँच उल्लेखनीय
रुपमा बढ्दै गएको बताउँदै सन् २०३० सम्ममा एड्सको
महामारीलाई अन्त्यका लागि सबैको
प्रतिबद्धता, प्रयास र लगानीलाई अझ रणनीतिक,
सशक्त, सुदृढ र तीव्र बनाउन जरुरी भएको
बताउनुभएको छ ।
आफनो सन्देशमा राष्ट्रिय एड्स तथा यौन रोग
नियन्त्रण केन्द्रका निर्देशक डा दीपेन्द्ररमण सिंहले
सन् २०१५ सम्ममा एचआइभी सङ्क्रमित र
प्रभावितलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता
जनाउँदै एचआइभी सङ्क्रमणको दरलाई घटाउँदै लैजाने
सहश्राब्दी विकास लक्ष्य हासिल गर्ने कार्यमा
हामी प्रगति उन्मुख नै भएको बताउनुभएको छ ।
नेपालमा ३९ हजार २१४ मानिस एचआइभीको
सङ्क्रमणमा रहेको अनुमान छ, जसमा २५ हजार ४४९
पुरुष, १३ हजार ८०० महिला रहेको राष्ट्रिय एड्स
तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्याङ्क रहेको
छ ।
नेपालमा ८५ प्रतिशत एचआइभी सङ्क्रमण असुरक्षित
यौनसम्पर्कका माध्यमबाट हुनेगरेको केन्द्रका सूचना
अधिकृत वीरबहादुर राउतले जानकारी दिनुभयो ।
नेपालले यस वर्ष एड्सविरुद्धको विश्व
अभियानअन्तर्गत ‘दिगो विकास लक्ष्य
प्राप्तिका लागि एड्स महामारीको अन्त्य’ भन्ने
नाराकासाथ आज एड्स दिवस मनाउँदैछ । रासस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved