Home » » मलेसियामा हराएको छोरो खोज्न हिँडिन् विन्दादेवी

मलेसियामा हराएको छोरो खोज्न हिँडिन् विन्दादेवी


काठमाडौं, फागुन २३ – ‘हमर बेटाके कम्पनीके मालिक कम्पनीमे लेजाके बहुतै मारलर्के, कत है केना है कुछो पता नै चलल छै, हमर बेटाके के नाके होतै नेपाल झिकादिउ ।’ मलेसियामा हराएको छोरो खोज्दै काठमाडौं आएकी मोरङको टंकिसिनबारीकी विन्दादेवी ठाकुरले प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी)मा रोइकराई गर्नुभयो ।
परदेशबाट छोरा बलराम ठाकुरले फोन गर्न छाडेको एक हप्तामै उहाँ काठमाडौं आउनुभयो । कपाल सेतै फूलेकी बिन्दादेवीले काठमाडौंमा छोरी गंगियादेवीलाई भेटेपछि भन्नुभयो ‘बलरामलाई किन फोन लाग्दैन् । तेरो मोवाइलबाट गर त लाग्छ कि ?’ तर बलरामको मोवाइल स्विचअफ छ ।
त्यसअघि दिनदिनै फोन गर्थे । अहिले एक महिनादेखि फोन गरेका छैनन् । विन्दादेवी भन्नुहुन्छ, ‘हरेक साँझ मलाई फोन गर्ने छोराले किन फोन गर्न छाड्यो ? सन्चो भए मलाई फोन नगरी बस्दैनथ्यो ।’ डेढ वर्ष अघि मलेसिया गएका बलराम सम्पर्कविहिन भएपछि विन्दादेवि आफैं छोरो खोज्न एक महिना अघि काठमाडौं आउनु भएको हो । बलराम सम्पर्क बिहिन भएको एक हप्ता नवित्दै दलाललाई सँगै लिएर आएकी बिन्दाले म्यानपावर कम्पनीमा पुगेर छोरो खोजिदिन आग्रह गर्नुभयो ।
तर म्यानपावरले उहाँको अनुरोधको वास्ता गरेन । विन्दादेवीले चन्द्रमा ओभरसिजका सञ्चालकलाई छोरो खोजिदिन र नभए आफैंलाई मलेसिया पाठाइदिन आग्रह गर्नुभयो । म्यानपावर सञ्चालकले विन्दादेवीका दुवै आग्रह मानेन् । त्यसपछि जाने ठाँउ पनि भएन् । उहाँले काठमाडौंमा भएकी छोरीलाई लिएर धेरै ठाउँ डुलिसक्नुभयो । तर छोराको अवस्था पत्ता लाग्न सकेको छैन ।
गएको बुधबार पिएनसिसीको कार्यालयमा गएर रोइकराई गर्नुभयो । पिएनसिसीले तत्कालै मलेसियामा फोन गरेर उद्धारका लागि प्रक्रिया थाल्यो । तर पनि विन्दादेवीलाई सन्तोष लागेन । छिनछिनमै डाको छाडेर रुनुहुन्छ । त्यहाँका कर्मचारीलाई सम्झाउन मुश्किल परिरहेको छ ।
विन्दादेवीले भन्नुभयो, ‘हामर बेटाके आहा सव जल्दी निकाल्देव त हाम आहा सवके गोर लागव ।’ पिएनसिसीका कर्मचारीले खोजीका लागि प्रक्रिया थालिएको र छिट्टै पत्ता लाग्ने बताइरहँदा पनि विन्दादेवीलाई विश्वास लागेन । नेपाली राम्रोसँग बोल्न नजान्ने बिन्दादेवीलाई छोरीले पनि सम्झाई रहेकी थिइन, ‘भाई खोजके तयारी भेल्छइ, आहा चिन्ता नइ लु, आव मिल्जेतै अपना सव पीर चिन्ता लकै कुछ नइ होतै ।’
पिएनसिसीले उहाँका छोरा बलराम पत्ता लगाउन मलेसियामा रहेका आफ्ना प्रतिनिधिलाई फोन गरिसकेको थियो । सरकारी निकायसँग पनि समन्वय गरेर खोजी तथा उद्धार गर्ने प्रक्रिया अगाडि बढेको कार्यक्रम संयोजक सुजाता उप्रेती बताउनुभयो । त्यहि कम्पनीमा कार्यरत ९ जना भने भागेर नेपाल फर्किसकेका छन् । उनीहरुका अनुसार ‘एक दिन बलराम ड्युटिमा गएका थिएनन् । भोलिपल्ट कम्पनी मालिकले उनलाई बोलाएको र त्यहि दिन देखि उनी बेपत्ता भएका हुन् ।’
विन्दादेवीका दुई छोरीले विवाह गरे । घरमा भएका दुई छोरा पनि परदेश हिँडे । जेठो छोरो गंगाराम युएईमा छन् । विन्दादेवी भन्नुहुन्छ, ‘कमाउन गएका छोरा हराउन थाले । किन चाहियो सम्पत्ती ? १० धुर जग्गा र फुसको झुप्रो छ । त्यसैमा भेला भएर बस्न पाए पुग्छ, युएईमा रहेका गंगारामलाई पनि छिटो फर्क भनिसकेकी छु ।’
बलरामले ५ कक्षा पछि पढ्न छाड्दिए । गाउँमा अर्काले खोलेको सैलुनमा कपाल काटेर दिन बिताउन थाले । तर एक दिन कपाल काटेपछि हप्ताभरी बरालिन्थे । छोराले मन लगाएर गाउँमा काम नगरेपछि परिवारले उनलाई विदेश पठाउने निर्णय गरेका थिए । गाउँकै एक जना चिनजानका व्यक्ति मार्फत बलरामको विदेश जाने प्रक्रिया मिलाइएको थियो ।
एक लाख ३० हजार तिरेर मलेसिया पुगेका बलरामले कपाल काट्ने काम गर्थे । तलव महिनाको ९ सय रिगिंट थियो । कपाल काटेको टिप्सले उहाँलाई खर्च पुग्थ्यो । त्यसैले प्रत्येक महिना आउने तलब घरमा पठाउथे । तर केहि महिना देखि यो प्रक्रिया रोकियो । घरमा न पैसा आउँछ, न त बलरामकै टुंगो छ ।
छोरो हराएपछि मन नअडिएर घर छाडेकी विन्दादेवीले काठमाडौंमा सहयोगी गुहारी रहनु भएको छ । वैदेशिक रोजगारीका क्रममा अप्ठेरोमा परेका कामदारलाई सहयोग गर्ने संस्था पिएनसिसीले विन्दादेवीको हराएको छोरो खोजी गरिरहेको छ ।
- उज्यालोअनलाइनबाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved