गुल्मी–विधवा बुहारीलाई छोरी सरह कन्यादान गरेर घरबाट धुमधामका साथ बिबाह गराइ दिने एक महिलालाई नागरिक अभिनन्दन गरिएको छ। अमर कल्याण महिला विकास बहुउद्देश्यीय सहरकारीको संयोजनमा जिल्लाका सात वटा संस्थाले उनलाई तम्घासमा एक कार्यक्रम गरेर अभिनन्दन गरेका हुन्।
छोराको निधनपछि बुहारीको उज्वल भविष्यको कामना गर्दै कन्यादान गरेकी तम्घास बाघमारेकी लक्ष्मी नेपालीलाई नागरिक अभिनन्दन गरिएको हो। उनीसँगै उनका पति इश्वरीलाई पनि सम्मान गरिएको थियो। सांसद कमला विश्वकर्मा र प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले लक्ष्मीका पति पत्नीलाई अभिनन्दन गरे। सांसद विश्वकर्माले गुल्मीबाट राम्रो कामको सुरुवात भएको र यहाँका महिलाहरु निकै उत्साहित भएको बताइन्। 'बुहारीलाई छोरी मानेर बिबाह गर्ने सासु नेपाल छैनन्,' उनले भनिन, 'उहाँले हिम्मतका साथ बुहारीलाई कन्यादान गरेपछि देशविदेशमा राम्रो सन्देश गएको छ।' विश्वकर्माले बिबाह गरेको छोटो समयमै विधवा बनेका बुहारीलाई लक्ष्मीले जस्तै अर्को घरबारको लागि वातावरण बनाइदिनुपर्ने बताइन्।
चार वर्ष अघि बुहारी उषाको लक्ष्मीले घरबाटै कन्यादन गरेकी थिइन्। बिबाह गरेको एक वर्षमै छोराको निधन भएपछि उनले बुहारीको कन्यादान गरेकी हुन्। धुर्कोट रजस्थलका आशिषकुमार नेपाली र उषाको दामत्य जीवन अहिले निकै सुन्तर ढंगबाट अघि बढेको छ। 'छोरोको मृत्युपछि कलिलै उमेरकी बुहारीको भविष्यप्रति चिन्ता लागेर घरबाटै छोरी समान बिबाह गरिदिएकी हुँ,' लक्ष्मीले भनिन, 'अहिले उनीहरुको जीवन राम्रोसँग चलेको छ। दुई वर्षको नाति पनि छ।'
चार वर्षअघि मलिन अनुहारमा बुहारीको कन्यादान गरेकी लक्ष्मी बिहीबारको अभिनन्दन कार्यक्रममा भने निकै हँसिलो मुद्रामा थिइन्। दुई वर्ष अघि जन्मिएको नातिलाई काखमा राख्दै उनले मञ्चमा चुम्बन गरिरहेकी थिइन्। सोही कार्यक्रममा उपस्थित भएकी उषाले अहिले आफूहरुको दामत्य जीवन राम्रोसँग चलिरहेको प्रतिक्रिया दिइन्। 'श्रीमान कतारमा हुनुहुन्छ, बाबु जन्मिएको छ । हामी निकै खुसी छौँ,' उनले भनिन, 'पहिलेको घरमा माइती सम्झेर आउने जाने गरिरहन्छु।' उनले श्रीमानको मृत्युपछि अर्को घरबारका लागि वातावरण बनाइदिने सासु ससुरा र घरपरिवारलाई धन्यबाद दिइन्।
Nagarik News बाट
बुहारीको कन्यादान गर्ने यी सासू
Posted by Unknown
Posted on 3:46 AM
with No comments
Labels:
news

0 comments:
Post a Comment