विशुद्ध धार्मिक पर्व शिवरात्रिसँगै जोडिएर आउँने गरेको छ गाँजा,भाङ र धतुरो लगायतका विभिन्न लागू औषधहरु । यसले शिवरात्री जस्तो पवित्र पर्वको महत्वलाई धुमिल्याउँने मात्र होइन यसका सेवनकर्ताहरुमा विभिन्न किसिमका स्वास्थ्य समस्याहरु पनि देखा पर्ने गर्दछन् । गाँजा सेवन गर्नेहरुमा साइकोसिस अर्थात् कडा खालको मानसिक रोग देखिने र बिभिन्न रोगका औषधिले समेत काम नगर्ने भएकाले चाडपर्बको नाममा यस्ता लागुऔषधबाट टाढै रहन चिकित्सकको सुझाब छ ।
गाँजामा आखिर त्यस्तो के तत्व हुन्छ ? जसको सेवनले मानिसको स्वभावलाई क्षणभरमै परिवर्तन गरिदिन्छ ? यो सबैलाइ चासो लाग्ने कुरा हो । हाम्रो मस्तिस्कमा प्राकृतिक रुपमा पाइने क्यानाविनोइड भन्ने रसायन हुन्छ । जसले विचार र सोचाईलाई तेजिलो र तिखो बनाउने काम गर्छ । गाँजामा पनि ६० भन्दा बढी अलग प्रकारका क्यानाबिनोइड पाइन्छ । त्यसैले गाँजा सेवन गर्दा ती रसायन हाम्रो मस्तिष्कमा जान्छ । जसमध्ये टेट्रा हाइट्रो क्यानाबिनोल (टि.एच.सी.) प्रमुख हो । सामान्य त बाहिरी वातावरणले गर्दा हाम्रो ध्यान कुनै विषयमा केन्द्रीत हुन पाउदैन । तर गाँजामा पाइने यो क्यानाबिनाइड रसायनले बाहिरी वातावरणलाई प्रभावलाई खुम्च्याएर आफ्नो प्रभावलाई फैलाउछ । जसका कारण मानिस एकाग्र बन्न पुग्छ । त्यहि अवस्थालाई हामी नसा लागेको भन्छौँ । क्यानाबिनोइडले निन्द्रा, भोक, प्यास, भावना आदिमा पनि प्रभाव पार्छ जसको कारण कोही सुतिहरने, कोही भोक लाग्यो भनिरहने,कोही हाँसिरहने त कोही रोइरहने आदि असरहरु देख्न र सुन्न पाइन्छ । क्यानाविनोइडले मस्तिस्कमा रहेको आनन्दको केन्द्र डोपामाइन प्रक्रियामा प्रभाव पारी कतिपयमा आनन्ददायी भावना पैदा गरिदिन्छ । त्यसो त हरेक व्यक्तिको आ आफ्नो गुणको आधारमा हरेक व्यक्तिमा गाँजाको असर फरक फरक देखिन्छ । बैज्ञानिकहरुका अनुसार एउटा गाँजाको विरुवामा झण्डै ४ सय रसायनिक तत्वहरू हुन्छन् । यिनीहरू मध्ये चार तत्वहरूले मस्तिष्कमा विशेष असर गर्दछन् । जब गाँजालाई धुवाँमा तानिन्छ, यसका रसायनिक तत्वहरू बडो तेजीकासाथ रगतमा मिसिएर मस्तिष्क र शरीरका अन्य भागमा पुग्दछन् । यो दिमागको ती भागहरूमा गाँजाको असरले हुन्छ जुन भागहरूले भावना, सोचाई र अनुभुति नियन्त्रण गर्दछन् । गाँजा सेवन गरेका प्रत्येक १० मध्ये १ प्रयोगकर्ताहरूलाई भने उल्टो असर पर्न जान्छ । जसले गर्दा उनीहरुलाई नमज्जा हुने,तनाव बढ्ने र नभएका कुराहरू समेत देखिने या सुनिने,मन आत्तिने र कसैले हानी नोक्सानी गर्लाकि जस्तो लागेर आत्मवल कमजोर हुने असरहरु देखिन सक्छ । मनोचिकित्सकहरुका अनुसार गाँजाको लामो समय सेवनले व्यक्तिमा मानसिक रोग लाग्ने सम्भावना बढ्दै जान्छ । अष्ट्रेलियाका १४–१५ वर्षका १६ सय विद्यार्थीहरूमा सात वर्षसम्म गरिएको एक अध्ययनले गाँजा सेवन गर्ने बालबालिकाहरूमा डिप्रेसन या आत्तिने रोग गाँजा सेवन नगर्नेहरूको भन्दा पांच गुणा बढी देखिएको थियो । डेनमार्कमा गरिएको अनुसन्धानले गाँजा सेवन गरेर छोडेका ७५ प्रतिशतलाई एक वर्ष भित्रमै फेरि अर्को साइकोसिस अर्थात पागलपनको रोगले च्याप्ने संभावना बढिरहेको पाइएको थियो । अझ छुटाउँनै नमिल्ने कुरा त के हो भने गाँजा सेवनकर्ताहरुलाई अन्य स्वास्थ्य समस्या देखिएको खण्डमा कुनै पनि औषधिहरुले कम मात्र प्रभाव देखाउँने गर्दछ । त्यसैले चाड पर्वको नाममा गाँजा,भाङ र धतुरो जस्तो मन्द विष सेवन गरेर आफ्नो अमूल्य स्वास्थ्यमाथि खेलवाड नगर्नु बुद्धिमतापूर्ण कार्य ठहरिनेमा शायदै कसैको दुई मत होला । News24Nepal.com बाट
गाँजा,भाङ र धतुरोको सेवनले कडा खालको मानसिक रोग देखिने खतरा बढी
Posted by Unknown
Posted on 7:47 AM
with No comments
Labels:
news
0 comments:
Post a Comment