हे वरै आमाले सोध्लिन् नि खोइ छोरा भन्लिन् रणमा पर्यो भन्दिनु,
बाबाले सोध्लान् नि ? खोइ छोरा भन्लान् ? रण जित्दैछ भन्दिनु ।
छोराले सोध्लान् नि खोइ बाबा भन्लान् टोपी झिक भन्दिनु
छोरीले सोध्लिन नि खोइ बाबै भन्लिन् सुनचुराको दान दिनु ।।
यस गीतका गायक स्वर्गीय झलकमान गन्धर्वको घरमा पुग्ने मेरो धेरै वर्ष पहिलेको इच्छा पूरा हुँदै थियो । रेडियोमा सांगीतिक कार्यक्रम सञ्चालन गर्ने बेला झलकमान गन्धर्वको परिचय र पृष्ठभूमिसहित बेला बेला उहाँको गीत बजाएकाले पनि उहाँको जन्मस्थान कास्कीको बाटुलेचौर मेरो मानसपटलबाट टाढा थिएन ।
तर बाटुलेचौर कता पर्छ भन्ने चाहीँ थाहा थिएन । पोखरामा कामको शीलशीलामा कयौं पटक पुगेपनि बाटुलेचौरसम्म पुग्ने मेरो वर्षौदेखिको चाहना पटक पटक स्थगित भएको थियो ।
‘आज त पुगेरै छाड्छु’ मनमनै अठोट गरें आफैसँग । गाडी चढेर हुइकिएँ । पोखराको पृथ्वीचोकबाट एउटा बसले बगरमा बिसायो, अर्को चढ्दा ठ्याक्कै झलकमान गन्धर्वको घरको आँगनमै पुर्याएछ । गाडीको दायाँ लहरमा बसेर राम्रो गरेछु । मनमनै सोचें, दायाँपट्टी नबसेको भए बसले कहाँ पुर्याउँथ्यो थाहा थिएन । किनकी बसको झ्यालबाट हेर्दै जाँदा झलकमानको सालिकमा आँखा अडिएपछि नै मैले बस रोक्न आग्रह गरेको थिएँ ।
झलकमानको सालिक भएकै ठाउँमा आईपुगेपछि झलकमानको घरमा अब चाहीँ पुगिन्छ भन्नेमा म ढुक्क भएँ । सालिकको अघिल्तिरको धारामा एक जना युवा कपडा धोइरहनु भएको थियो । ‘झलकमान गन्धर्वको घर कता पर्छ दाइ ?’ उहाँले जानकारी मात्र दिनुभएन, घर नै देखाइदिनुभयो । संयोगले मैले झलकमान गन्धर्वकै नाती (दिनेश गायक) लाई सोधेछु यो कुरा ।
‘नमस्कार बुबा !’ दाह्री काटिरहनुभएका उहाँले आश्चर्य मान्दै पुलुक्क हेर्नुभयो र नमस्कार फर्काउनुभयो । केही बेरमा दाह्री काटेर सिध्याएपछि भेटको उद्देश्यबारे सोध्नुभयो । मैले मेरो कामबारे खुलस्त पारेपछि उहाँ कुराकानी गर्न राजी भएर कोठातिर जानुभयो । केहीबेरमा फर्किंदा कपाल कोरेर, कपडा मिलाएर चट्ट बनेर आउनुभयो । विभिन्न सञ्चार माध्यममा अन्तर्वार्ता दिँदा दिँदा अभ्यस्त भईसकेका उहाँले ठान्नुभएछ म पनि टेलिभिजनबाटै आएको हो ।
स्वभाविकै पनि थियो । टेलिभिजनमा नभएपनि यूट्यूबमा अपलोड गर्ने विचारले मैले पनि भिडियो क्यामेरा तेस्र्याएको थिएँ । मलाई बढी भन्दा बढी गन्धर्व संगीत, सारंगी र झलकमान गन्धर्वको बारेमा बुझ्नु थियो । ‘एकैछिन है’ कुराकानी गर्न तयार भइसकेका उहाँ फेरि जुरुक्क उठेर भित्र छिर्नुभयो । यसपटक उहाँले सारंगी लिएर आउनुभयो । खोलबाट निकालेर उहाँले मेरो आग्रहमा सारंगी रेट्न थाल्नुभयो ‘अल्लारे नानी केसी, माया लाउने तिम्रै बेसी, नहुने रैछ र ! हरियो भन्नु यो काँचो पात, पहेंलो हो माया सुरती ........।’ ‘हेर्नुस् मेरा छोराहरुलाई यो सारंगी बजाउन पनि आउँदैन, दुई छोरा मध्ये दुवै सेक्युरिटी गार्ड भए । एक जना भारतमा छन् अर्को चाहीँ यही लामाचौरमा । पहिले पहिले गन्धर्व भने पछि धेरै हेला गर्ने चलन थियो । अरुको घर घरमा सारंगी बजाएर हिँड्दा अरुले गरेको दुर्व्यवहार देखेरै मेरा छोराहरुले सिक्ने चासो गरेनन्, यतिसम्म छोइछिटो थियो कि, खाएको थाल समेत आफैले माझ्नुपथ्र्यो, बरु अहिले नातिनीहरु चाहिं सिक्दैछन् ।’
आफ्नो कुरा नबिसाई व्यक्त गर्नुभयो । अब पालो आयो मेरो, म उहाँको संघर्षको कथा कोट्याउन चाहन्थें । ‘मेरा बुबाका दुईटी श्रीमती, म जेठी पट्टीको जेठो छोरा, कर्णबहादुर गन्धर्व । जेठीपट्टीका तीन सन्तान, एक जना भाइ अरबमा छन्, बहिनी चाहीँ काठमाडौंमा बस्छिन् ।’ कान्छी आमा पट्टी चार दिदीबहिनी र एक जना भाइ, कान्छी आमा चाहीँ अझै हुनुहुन्छ ।’ मनमा खुल्दुली जाग्यो अनि सोधिहालें, कान्छी आमा ? ‘हो बुबा रेडियो नेपालमा जागिरे भएपछि उतै मच्छे गाउँमा विवाह भएछ, अब घर परिवारबाट टाढा भएपछि परिवारको न्यास्रोपना मेटाउन पनि विवाह गर्नुभयो होला नि ?’ उहाँले सहजै उत्तर दिनुभयो ।
जेठो छोराको हैसियतले पारिवारिक जिम्मेवारी आफ्नो काँधमा आएपछिका संघर्षका दिनहरु दुई रात दुई दिनमा पनि नसकिने उहाँ बताउनुहुन्छ । ‘बुबाले दोस्रो बिहे गरेपछिका दिनहरुमा मैले धेरै संघर्ष गरेको छु, भन्न सकिने कुरा यत्ति मात्र छन्, सारंगी बजाउँदै थुप्रै जिल्लाका घर आँगनमा पुगेको छु, धरानको एउटा दोहोरी साँझमा महिनावरी तलबमा पनि काम गरें ।’ उहाँले आफ्नो कुरा बन्द गर्नुभयो ।
मैले जिज्ञासाको पोको खोल्दै गएँ । ‘रेडियो नेपालको जागिरे चाहीँ कसरी बन्नुभएछ ?’ केही क्षणको विश्रामपछि आफ्नो बुबाको बारेमा भन्ने रुचि देखाउनुभयो उहाँले । विक्रम सम्बत २०२२ साल फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा खुल्ला लोकगीत प्रतियोगिता रहेछ । त्यसका लागि गायक धर्मराज थापाले कास्कीबाट बुबा सहित १८ जना लाई लानुभएको थियो । बुबाले गाउनुभएको ‘हे बरै, आमाले सोध्लिन् नि ......’ भन्ने गीतले पहिलो स्थान हासिल गरेछ, त्यसपछि उहाँ २२ सालदेखि नै रेडियो नेपालमा जागीरे हुनुभयो ।’ त्यसपछि बेला बेलामा रेडियो नेपालमा बुबाका गीतहरु बज्दा खुसी भएपनि बुबाले दोस्रो विवाह गरेको बेला चाहिं धेरै दुःखी भएको उहाँले सुनाउनुभयो ।
‘अहिले चाहीँ कस्तो छ सम्बन्ध ?’ मैले सोधिहालें । ‘बिहे गरेकै बेला हामी दुःखी भएपनि बुबाको माया दुवैतिर बराबरी नै थियो । कान्छी आमा र उहाँ पट्टीका भाइ बहिनीसँग पनि राम्रो सम्बन्ध छ, कहिलेकाहीं काठमाडौं जाँदा हप्ता दिन बसेर आउँछु । बुबाको पेन्सन चाहीँ कान्छी आमाले पाउनुहुन्छ’ उहाँले भन्नुभयो ।
यत्ति कुरा गरिसक्दा उहाँकी नातिनी सुधाले चिया ल्याइसकेकी थिइन् । चियाको सुर्को तान्दै ‘यी मेरी तातिनी, यिनका बुबाले सारंगी बजाउन नजाने पनि नातिनीहरु सिक्दैछन्, भर्खरका केटाकेटी म भन्दा पनि राम्रो बजाउँछन्, यो देखेर मलाई आनन्द आउँछ’ कर्णबहादुरले भन्नुभयो । चिया खाँदै गफ गर्दै गर्दा उहाँकी धर्मपत्नी पनि आईपुग्नुभयो । उहाँहरु दुवै जनाको फोटो खिचें अनि म फर्किएँ । कर्णवहादुर गन्धर्व मलाई गाडी चढाएर पठाउन भन्दै घर अगाडिको सडकमा उभिनुभयो । म हात हल्लाउँदै गाडी चढेर फर्किएँ, उहाँ गाडी गुडेतिरै हेरिरहनुभएको थियो । Ujyaaloonline बाट
झलकमान गन्धर्वको घरको आँगन टेक्दा
Posted by Unknown
Posted on 8:04 PM
with No comments
Labels:
news
0 comments:
Post a Comment