दाङ-पुस अन्तिम साता घोराही, तुलसीपुर खण्डको सौडिकुलामा ८ जनाको ज्यान जाने गरी सवारी दुर्घटना भयो । जिल्लामा यस वर्षकै सबैभन्दा ठूलो दुर्घटना हो यो ।
साउनयता जिल्लामा सवारी दुर्घटनाका ५४ वटा तथ्यांक छन् । तिनमा ३१ जनाको ज्यान गएको छ भने झन्डै १ सय हाराहारी घाइते भए ।
दुर्घटना न्यूनीकरणका लागि जिल्लामा प्रयास थालिए पनि दुर्घटनादर भने बढ्दो छ । मुख्य कारण हो– साँघुरा सडक । यातायातको चाप बढ्दो छ । प्रहरीको तथ्याङ्कलाई आधार मान्ने हो भने जिल्लामा प्रतिघण्टा १ हजार २० सवारीसाधन कुद्ने गरेका छन् । तर, सडकको स्तरोन्नति शून्य छ । 'यहाँ दुर्घटना बढ्नुको मुख्य कारण साँघुरा सडक हुन्,' जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक अरुणकुमार सिंहले भने, 'यातायात साधनको बढ्दो चाप यहाँका सडकले थेग्नै नसक्ने अवस्था भइसकेको छ ।' उनले आठ जनाको ज्यान जाने गरी भएको दुर्घटनाको कारण साँघुरो सडक पनि भएको बताए । सौडिकुलामा माइक्रो र स्कुलबस ठोक्किएका थिए । 'त्यो घटनामा लापरबाही बढी देखिएको हो,' उनले भने, 'तर सडक चौडा भइदिएको भए गाडी पास हुन सक्थे, यति ठूलो क्षति निम्तने थिएन ।'
जिल्लामा अधिकांश दुर्घटना घोराही–तुलसीपुर सडकमै हुन्छन् । दुई लेन रहेको यो सडकमा सवारीसाधनको चाप बढ्दो छ । सडकको छेउ फराकिलो नभएका कारण पनि सवारी दुर्घटना बढी हुने गरेको प्रहरी बताउँछ । सडकछेउ फराकिलो नहुँदा ओभरटेक गर्ने क्रममा साइड नपुग्ने र दुर्घटना निम्तने जोखिम रहेको प्रहरी भनाइ छ ।
सडक डिभिजन कार्यालयका अनुसार यो सडक २०३५-०३६ तिर ग्राभेलका रूपमा खोलिएको थियो । विदेशी प्रोजेक्टको सहयोगमा खोलिएको सडक तत्कालीन सरकारको पहलमा २०४५-०४६ ताका कालोपत्र गरिएको थियो । कालोपत्र गरिँदा सडकको चौडाइबारेमा ध्यान दिइएन । 'जति ग्राभेल थियो, त्यतिमै मात्रै कालोपत्रे गरियो,' सडक डिभिजन कार्यालयका लेखा अधिकृत जयन्द्र पौडेलले भने, 'कालोपत्रे गरिँदा यसको चौडाइबारे सोचिनुपथ्र्यो, त्यसो हुन सकेन ।'
सवारी चाप बढ्दै जाँदा यो सडकले बर्सेनि यात्रुको ज्यान लिइरहेको छ । 'एउटा अलि ठूलो गाडी रोकिए साइड दिने ठाउँ रहन्न,' ट्राफिक प्रहरी निरीक्षक सिंहले भने, 'दुई लेन भनिए पनि यसको चौडाइ अधिक कम छ ।'
यातायात व्यवस्था कार्यालय, राप्तीले पनि सवारी चापअनुसार यहाँका सडक स्तरोन्नति हुन आवश्यक रहेको जनाएको छ । 'सडकमा दिनदिनै गाडी थपिँदै छन्,' कार्यालयप्रमुख अच्युत दहालले भने, 'तर, सडकको हालत जस्ताको त्यस्तै छ, यसैकारण दुर्घटना बढिरहेको छन् ।'
अमिलिया–तुलसीपुर जोड्ने सडक पनि उत्तिकै जोखिमपूर्ण छ । यो सडक पनि जिल्लामा दुर्घटना बढी हुनेमध्येको हो । यसै गरी तुलसीपुर सल्यान जोड्ने सडक बढी दुर्घटना हुने अर्को सडक हो ।
सडक ऐनअनुसार सहायक राजमार्ग ४२ किलोमिटर चौडा हुनुपर्छ, यहाँका सडकले सरकारी मापदण्ड पूरा गरेका छैनन् । जिल्लाको लमहीदेखि तुलसीपुरसम्मको झन्डै ५० किलोमिटर सडक मापदण्डभित्र परेको छैन । फुटपाथ व्यापारले सडक क्षेत्र झनै साँघुरिँदै गएको छ । मुख्य सडककै यो अवस्था छ भने बजारका भित्री सडक झनै साँघुरा छन् ।
बढ्दो दुर्घटना न्यूनीकरणका लागि यहाँका सडक चौडा गर्न अनिवार्य देखिए पनि सरकारले कुनै काम गरेको छैन । सवारी चाप हुने कुनै पनि सडक स्तरोन्नति नगरिएको सडक डिभिजन कार्यालय नै स्विकार्छ । 'पहिला जुन साइजमा बने, अहिले पनि त्यही साइजमै सडक छन्,' कार्यालयका लेखाअधिकृत पौडेलले भने, 'पुराना सडकमा बढ्दो सवारी चापको व्यवस्थापन हुन नसक्दा दुर्घटना बढी हुन्छन् ।' Nagarik News बाट
६ महिनामा ३१ को मृत्यु, कारण साँघुरो सडक
Posted by Unknown
Posted on 8:25 PM
with No comments
Labels:
news

0 comments:
Post a Comment