Home » » बलात्कारको आरोप लागेपछि पूर्वमन्त्रीको खण्डन, ‘अश्लील साहित्य’को संज्ञा

बलात्कारको आरोप लागेपछि पूर्वमन्त्रीको खण्डन, ‘अश्लील साहित्य’को संज्ञा


काठमाडौं, १ चैत । अर्घाखाँचीकी शारदा भुसालले पूर्व मन्त्री एवं पूर्व एमाले नेता मोदनाथ प्रश्रितलाई घृणित आरोप लगाएपछि प्रश्रितले त्यसको खण्डन गरेका छन् ।
सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी प्रश्रितले आरोपको खण्डन गरेका हुन् । ती महिलाले प्रश्रितलाई करिब २४ वर्ष अघि आफूलाई बलात्कार गरेको भन्दै एक पुस्तक प्रकाशन गरी आरोप लगाएपछि उनले त्यसको खण्डन गरेका हुन् । प्रश्रितले आफुलाई आरोप लगाउने ती महिलालाई ‘पागल’को संज्ञा दिएका छन् । प्रश्रितले त्यो पुस्तक नियन्त्रणमा लिन पनि प्रशासनसँग आग्रह गरेका छन् । प्रश्रितले शारदाको त्यो पुस्तकलाई ‘अश्लील साहित्य’ को संज्ञा दिए ।
आफ्नो लिखित मन्तव्य वाचन गर्दै प्रश्रितले भने, ‘केही दिनयता अत्यन्त काल्पनिक, मनगढन्त, दुराशयपूर्ण र समाजका लागि हानिकारक कुराहरु लेखी एउटा अश्लील साहित्यको पुस्तक बजारमा ल्याइएको रहेछ । यदि मैले पुस्तकमा भनेजस्तै कुनै अपराध गरेको थिएँ भने यतिका वर्षसम्म किन कतै, कुनै आवाज उठाइएन ?’ प्रश्रितले शारदा भुसालसँग आफ्नो पुरानो चिनजान रहेको भन्दै शारदा सानैमा मानसिक रोगी भएको पनि दाबी गरेका छन् ।
‘उनले लिखित मनतव्यमै भने– ‘सानैमा पागलपनको सिकार भएपछि उनका बुबाको आग्रहमा ०४८ सालमा मैले काठमाडौंमा ल्याएको थिएँ, मेरो स्वयंभूमा रहेको डेराकै नजिक मित्रसागर नेपालको घरमा डेरा खोजेर राखिदिएको थिएँ । तत्कालै एकजना मानसिक चिकित्सककहाँ लगेर औषधि पनि गरायौँ । तर, उनी १०–१२ दिनमै डेरा छाडेर भागिछन् । हामीले त्यसपछि उनका बाबुआमालाई तत्कालै खबर गरिदिएका थियौं,’ उनले भने, ‘उनले त्यो घटना ०४८ सालमा भएको भनेकी छिन् तर ०५४ सालमा भएको एक कार्यक्रममा निजले मलाई प्रमुख अतिथिका रुपमा निम्ता गरेकी थिइन् । मलाई निजबाट ‘मेरा अभिभावक तथा सम्मानित काका’ भनेर सम्वोधन भएको थियो । यदि मैले त्यस अश्लील साहित्यको पुस्तकमा भनेजस्तै कुनै अपराध गरेका थिएँ भने यतिका वर्षसम्म किन कतै कुनै आवाज उठाइएन किन मलाई कार्यक्रममा प्रमुख अतिथिसमेत बनाइयो ?’
साहित्यकार प्रश्रितले शारदा भुसालको चरित्र सानैदेखि आवारापाराको भएको पनि दाबी गरेका छन् । ‘चरित्र राम्रो थिएन र उमेरमा बिहे पनि भएन । पछि श्रीमती गुमाएका एकजना झा थरका व्यक्तिले बिहे गरे भन्ने सुनेको थिएँ,’ उनले भने ।
प्रश्रितले भविष्यमा यसखाले कुकर्म गर्नका लागि कुनै पनि प्रकाशक वा लेखक उद्यत नहोस् भन्नका लागि सबै साहित्यकार तथा पत्रकार मित्रहरुलाई आवश्यक वातावरण मिलाउन पनि अनुरोध गरेका छन् ।
प्रश्रितपत्नी साहित्यकार कविता पौडेलले पनि ‘धरातल’ नामको पुस्तकलाई घृणित पुस्तकको संज्ञा दिएकी छिन् । ‘पुस्तकमा मेरा श्रीमानमाथि अत्यन्त घिनलाग्दो आरोपहरु लगाइएको रहेछ ।
पुस्तककी लेखिका शारदा भुसाललाई मानसिक रोगको उपचारका लागि २०४८ सालमा काठमाडौँ ल्याइएको थियो । उनी बीचैमा डेराबाट भागेकी थिइन्,’ कविताले भनेकी छिन्, ‘एक महिला हुनुको नाताले उनको झुठो र कपोलकल्पित र समाजविरोधी लेखाईप्रति घोर घृणा र भ्रत्सना व्यक्त गर्न चाहन्छु ।’
दैनिक नेपाल डट कमबाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved