Home » » अधिकारको लडाईं भन्दै अब आन्दोलन गर्ने दिन सकियो: प्रधानमन्त्री ओली

अधिकारको लडाईं भन्दै अब आन्दोलन गर्ने दिन सकियो: प्रधानमन्त्री ओली


अब कुनै पनि बहानामा भूकम्पपीडितलाई राहत
दिने काम नरोकिने

काठमाडौँ, १८ पुस । प्रधानमन्त्री केपी शर्मा
ओलीले भूकम्पपीडित जनतालाई राहत प्रदान गरेर
सरकार युद्धस्तरमा विकास निर्माणको काममा
केन्द्रित हुने बताउनुभएको छ ।
नेकपा(एमाले)को राष्ट्रिय सम्पर्क भेलाको आज
यहाँ उद्घाटन गर्दै उहाँले गलत कुरा गरेर मुलुकलाई
अस्तव्यस्त बनाउने, जनजीवन प्रभावित बनाउने काम
कोही कसैबाट पनि नहोस् भन्नेमा आफू प्रतिबद्ध
रहेको बताउनुभयो ।
कानुन बनाउन नदिने, जनतालाई राहत दिन नदिएर
हलो अड्काई गोरु चुट्ने काम भइरहेको उल्लेख गर्दै
प्रधानमन्त्री ओलीले अब कुनै पनि बहानामा भूकम्प
प्रभावित क्षेत्रका जनतालाई राहत दिने काम
रोकिंदैन भन्नुभयो ।
नेपालको संविधानले सबै वर्ग तथा क्षेत्रलाई
अधिकारसम्पन्न बनाएको भन्दै उहाँले अधिकार
प्राप्तिको लडाईं भन्दै केही मान्छे अझै पनि
तोडफोडमा उत्रिएको र जनजीवन प्रभावित
बनाउन लागिपरेको उल्लेख गर्नुभयो ।
संविधानसभाबाट संविधान घोषणा भएपछि
अधिकार प्राप्तिको लडाईं सकिएको उल्लेख गर्दै
प्रधानमन्त्री ओलीले अझै पनि अधिकार भन्दै
सडकमा उत्रनु र अराजकता मच्चाउनुको कुनै अर्थ
नभएको स्पष्ट पार्नुभयो ।
केही मान्छे संविधान जारी भएर समस्या भयो,
केही दिन पर सार्दा के हुन्छ भन्ने मान्यता पनि
सतहमा आएको भन्दै उहाँले संविधान जारी हुन
नदिने प्रवृत्तिलाई पाखा लगाएर मुलुक अगाडि
बढेको उहाँको कथन थियो ।
उहाँले भन्नुभयो– “आफ्नो नेतृत्वमा सरकार बन्नै
नदिने, बने पनि टिक्न नदिने खेल सुरु भएको छ ।
मलाई सरकार कति दिन टिक्छ भन्नेमा कुनै चिन्ता
छैन । जति दिन बसिन्छ, जनताको पक्षमा काम
गरिन्छ । मुलुकलाई समृद्ध बनाउने अभियान सुरु
गरिन्छ ।”
आफू सिंहदरबारमा फोटो झुन्ड्याउनका लागि
मात्रै प्रधानमन्त्री नभएको स्पष्ट पार्दै उहाँले
बढीभन्दा बढी समय जनताको पक्षमा काम गरेर
देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेकपा(एमाले)का उपाध्यक्ष
अष्टलक्ष्मी शाक्यले नेपालको संविधानले सबै वर्ग
तथा क्षेत्रलाई अधिकार सम्पन्न बनाएको भन्दै
अधिकार अधिकार भन्दै कोही कसैले पनि आन्दोलन
गरी हिँड्नुको अर्थ नभएको बताउनुभयो ।
उहाँले संविधानले राज्यका हरेक निकायमा ३३
प्रतिशत महिलालाई छुट्याएको, आदिवासी,
जनजाति, मधेसी र दलित समुदायलाई पनि पूर्ण
अधिकार सम्पन्न बनाएको स्पष्ट पार्नुभयो ।
एमाले सचिव प्रदीप ज्ञवालीले संविधानको
कार्यान्वयन नै वर्तमानको प्रमुख चुनौती रहेको
भन्दै आर्थिक, सामाजिक विकासमा अब मुलुक
केन्द्रित भएको बताउनुभयो ।
तराई मधेसमा प्रमुख राजनीतिक दलले ११६ सिटमध्ये
१०४ सिटमा विजयी भएको भन्दै एकाध सिटमा
जितेका दलले मधेसको सबै नै हामी हो, अरु केही
होइनन् भन्नु गलत रहेको उहाँको कथन थियो ।
रासस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved