कालोबजारी र तस्करी रोक्न सरकार कटिबद्ध
रुपन्देही, २० मङ्सिर । गृहमन्त्री शक्तिबहादुर बस्नेतले
कालोबजारी र तस्करी रोक्न सरकार कटिबद्ध
रहेको बताउनुभएको छ ।
नाकाबन्दी र तराई आन्दालनको बेलामा
देखिएको कालोबजारी र तस्करी रोक्न सरकारले
सबै तहबाट काम गरिरहेको भन्दै सीमा क्षेत्रमा हुने
तस्करी रोक्न विशेष कदम चाल्ने बताउनुभएको छ ।
बुटवलमा आज लुम्बिनी अञ्चलका ६ जिल्ला र
मकवानपुर र चितवनका प्रमुख जिल्ला अधिकारी
तथा सुरक्षा अधिकारीको बैठकपछि पत्रकारसँग
कुराकानी गर्दैै मन्त्री बस्नेतले मुलकमा अझै भयावह
स्थिति नआएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “आन्दोलन र नाकाबन्दीले मुलकमा
असहज स्थिति आएको छ । तर भयावह स्थिति
चाहिँ होइन ।” सरकारले आपूर्ति व्यवस्था र
शान्तिसुरक्षा कायम गर्नका लागि कुनै कसर
बाँकी नराख्ने भन्दै असहज अवस्थामा
कालोबजारी र तस्करी मौलाएकोप्रति सरकार
सचेत र सजग रहेको बताउनुभयो ।
उहाँले तराईमा बाहिर चर्चा गरिए जस्तै भयावह
अवस्था नभएको भन्दै तराईको समस्या छिट्टै
समाधान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले
भारतले लगाएको नाकाबन्दी खोल्ने विषयमा
कूटनीतिक रुपमा सरकारले कुनै कमजोरी नगरेको
जिकिर गर्दैै छिट्टै खोलिने बताउनुभयो ।
सुरक्षा बैठकमा आठवटा जिल्लाका प्रमुख जिल्ला
अधिकारी र प्रहरी प्रमुख र अनुसन्धान प्रमुखको
सहभागिता रहेको रुपन्देहीका प्रमुख जिल्ला
अधिकारी विष्णुप्रसाद ढकालले बताउनुभयो ।
गृह मन्त्रालयले यस्तो क्षेत्रीयस्तरको बैठक देशका
विभिन्न ठाउँमा गर्ने योजना रहेको छ, जसअनुसार
बुधबार पोखरामा गर्ने जनाएको छ । देशभरबाट
आएका सुझाव र समस्यालाई समेटेर सुरक्षा रणनीति
तयार गर्ने पनि जनाइएको छ । रासस

0 comments:
Post a Comment