Home » » यसरी बन्ने छ नेपालकै ठूलो नाका रसुवागढी

यसरी बन्ने छ नेपालकै ठूलो नाका रसुवागढी

मंसिर १५, २०७२- रसुवागढी
नाकामा केही दिनअघि
पुगेपछि हुम्लाका जनप्रतिनिधि कांग्रेस
नेता जीवनवहादुर शाहीले विकास
समितिको बैठकमा धेरैपटक उठाउनुभएको
प्रसंग पुन: स्मरणयोग्य छ । उहाँ धेरै
पहिलेदेखि भन्नुहुन्थ्यो, ‘उत्तरका
नाकाहरू खोल्नुपर्यो र त्यहाँ पूर्वाधार
बनाउनुपर्यो ।’
जीवनजीको भनाइको गाम्भीर्यता
मुलुकले यतिखेर बुझ्दैछ । विकास
समितिको संसदीय टोलीले रसुवागढी
नाकासम्म पुगेर सडकको अवस्था र
पारवहन सम्भावना अध्ययन गरेलगत्तै
भौतिक पूर्वाधार मन्त्री र अर्थमन्त्री
सहितको टोली सडक सम्भाव्यता
अध्ययन गर्न जानु यसको शुभ–संकेत हो ।
वास्तवमा उत्तर र दक्षिण नाका सहजता
र समृद्धिनिम्ति समान ढंगले विकास
गर्नेतिर कहिल्यै सोचिएन । त्यसैको
परिणाम हो, दक्षिणी छिमेकीको
नाकाबन्दीले २ महिना टेक्न नपाउँदै
मुलुक पक्षाघात अवस्थामा पुग्नु । अरू ५०
वर्षपछिका निम्ति सोच्दै तयारी
अवस्थामा राख्छन्, तर हामीकहाँ ५०
दिनको तयारी पनि हुँदोरहेनछ भन्ने
नाकाबन्दी पुष्टि भएको छ ।
यदि उत्तरी नाका विकास र विस्तार
गरेको भए संकट सामना गर्न यति धेरै कष्ट
उठाउनुपर्ने थिएन । यसो भनिरहँदा
उत्तरी नाका पहिले किन खोलिएनन्
भन्ने विषय महत्त्वपूर्ण हुनसक्छ । त्यसमा
भारतले नेपालमाथि नाकाबन्दी
पहिलोपटक लगाएको होइन । पटक–पटक
दु:ख पाउँदा पनि उत्तरी नाका सहज
गर्नेमा काम किन हुनसकेनन् ?
हामीले समाधान पनि यही प्रश्नबाट
खोज्नुपर्छ । भूकम्पपछि तातोपानी
नाका बन्द हुनपुग्यो, त्यसयता त्यो
नाका खुलाउनेतिर कुनै काम भएन ।
संसदीय समितिको अनुगमन भनेपछि
रसुवागढी नाकामा सडक सफा गर्ने
स्काभेटर र डोजर जाँदै थिए । यसले
हाम्रो शासकीय संयन्त्रको काम गर्ने
नियत र नियति प्रस्ट हुन्छ ।
उत्तरी नाका सहज गर्नु भनेको दक्षिणी
नाका बन्द गर्नु अवश्य होइन । दुवैतिर
नाका खोल्नु भनेको हिमाल, पहाड र
तराईका जनताका सहजता र समृद्धिका
ढोका खोल्नु हो । पहाड र हिमाली
वासिन्दाको उन्नति गर्न उत्तरी
नाकामा पूर्वाधार विकाससहित
बाह्रै महिना सुचारु गराउनुपर्छ भन्नुको
अर्थ सिंगो मुलुकको समृद्धिको प्रश्न हो

दक्षिण छिमेकीले अवरोध गर्यो भन्दैमा
लहड वा झोँकमा उत्तरी नाका सफा
गर्न जाने भन्ने अवश्य पनि होइन ।
भूकम्पका कारण बन्द नाका सुचारु गर्ने र
सम्भाव्यता हेरी थप नाका खुलाउने
विषय राष्ट्रिय प्राथमिकता हुन् र
हुनुपर्छ ।
आर्थिक र सामरिक दुवै हिसाबले
विश्वका महाशक्ति बन्न लम्किरहेका दुई
विशाल छिमेकी चीन र भारतका
बीचमा हामी छौं । दुई ठूला
छिमेकीको विकास र समृद्धिबाट
फाइदा लिन दुवैतिर नाका व्यवस्थित र
नियमित गर्नैपर्छ । नेपाल दुवै देशका
बीचमा विकासको पुल बन्ने हो ।
पुल बन्न खोलाको वारिदेखि
पारिसम्म तर्ने हुनुपर्छ । आधा पुलबाट
पार गर्न सकिन्न भन्ने यथार्थबोध
गराउन हामी चुक्नु हुँदैन । भारतले
अघोषित नाकाबन्दी लगाएपछि केरुङ
नाका चर्चामा छ ।
चीनले नेपालको इन्धन संकटमा साथ दिँदै
अनुदानस्वरुप उपलब्ध गराएको करिब १३
लाख लिटर पेट्रोल केरुङबाट रसुवागढी
हुँदै काठमाडौं ल्याउने सन्दर्भमा निकै
हल्लाखल्ला भए । धेरैले रसुवागढीको
सडकको दूरावस्था र हाम्रो भौगोलिक
बनावटलाई अतिरञ्जित गर्दै तेलका
ट्यांकर नेपाल आउनै नसक्ने कथा पनि
बनाए ।
आखिर ती कथाहरू पानामै सीमित भए ।
चीनले अनुदानमा दिएको पेट्रोल
केरुङबाट रसुवागढी–स्याफ्रुबेँसी–धुन्चे–
बेत्रावतीबाट गल्छी हुँदै काठमाडौं आएर
खपतसमेत भइसकेको छ । केरुङबाट छुटेका
अन्य मालवाहक नेपाली ट्रकहरू
रसुवागढी नाकाबाट नेपाल
भित्रिरहेका छन् ।
संसदीय टोलीले प्राविधिक
टोलीसहित स्थलगत भ्रमण गरेर
गल्छीदेखि रसुवागढीसम्म करिब १०५
किलोमिटर सडकको अवस्था अध्ययन
गर्यो । समितिले केरुङ नाका जोडिने
यो सडक ठूला ट्रक तथा ट्यांकरलाई सहज
आवागमनयोग्य बनाउन सकिने
निष्कर्षसहित प्रारम्भिक सुझाव
प्रतिवेदन दिएको छ ।
तर जसरी यो सडकको राम्चे–ग्राङ–
मूलखर्क खण्डको केही सय मिटर पहिरो
देखाएर केरुङ धकेल्न खोजिएको थियो,
त्यो गलत हो भन्ने स्थलगत अध्ययनपछि
पुष्टि भइसकेको छ । रसुवा सदरमुकाम धुन्चे
पुग्नुअघि राम्चे र मूलखर्क सडक खण्डका
केही ठाउँमा पहिरो रोकथामका काम
गर्नासाथ दीर्घकालीन रूपमा
रसुवागढीसम्म पुग्ने सडकमा अन्त कतै ठूला
समस्या छैनन् ।
यो पहिरोमा पनि सवारी चल्न कुनै
समस्या छैन । पहिरो रोकथाम गर्नै
नसकिने पनि होइन । तत्काल सडक
स्तरोन्नति गरेमात्रै पनि केरुङबाट
काठमाडौं टाढा छैन भन्ने रसुवाबाट
निर्वाचित सांसद जनार्दन ढकालको
भनाइ मननयोग्य छ । सम्भवत: विभागीय
मन्त्री र सरोकारवाला निकायका
अधिकारीहरूको स्थलगत निरीक्षणपछि
काठमाडौंदेखि रसुवागढीसम्मको यो
डेढ सय किलोमिटरको उपेक्षित सडकले
अब राष्ट्रिय प्राथमिकता पाउनेछ ।
सडक विभागका इन्जिनियर र
प्राविधिकहरूले भनेजसरी उत्तरको प्रमुख
सीमानाका जोड्ने यो सडकलाई
राष्ट्रिय प्राथमिकतामा राखेर फास्ट
ट्रयाकबाट विस्तार तथा स्तरोन्नति
गर्ने हो भने तत्कालको आवश्यक यसैले पुरा
गर्छ । यसमा धेरै ठूलो लगानी र धेरै
लामो समय लाग्दैन ।
१५३ किलोमिटरको धुन्चे–रसुवागढी
सडकको विकल्प तयार छ । बेत्रावती–
मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकको
काम सुरु भइसकेको छ । यो वैकल्पिक सडक
प्राथमिकतामा राखेर निर्माण गर्ने
हो भने १५३ बाट घटेर काठमाडौंसँगको
दूरी १३० किलोमिटरमा झर्नेछ ।
कतिपय काम सेनालाई जिम्मा दिने,
लाङटाङ राष्ट्रिय निकुञ्जले देखाएको
कानुनी अड्चन फुकाएर अघि बढ्नुपर्छ ।
मुलुकको समृद्धि र विकाससँग गाँसिएको
काम अघि बढाउन बाधक बन्ने ऐन—नियम
निलम्बन वा खारेज गर्न कसैले रोक्दैन ।
टोलीले निर्माणाधीन मैलुङ–
स्याफ्रुबेँसी सडक खण्डको पनि
निरीक्षण गरेको थियो । बीचमा केही
ठूला पहिरो दीर्घकालीन रोकथाम
गरी अघि बढ्ने हो भने यो सडक केरुङलाई
काठमाडौंसँग नजिक्याउन सबैभन्दा
उपयुक्त र छोटो रुट हुनेछ । माथिल्लो
सडकको विस्तार तथा स्तरोन्नति र
तल्लो सडक खुलाउँदा बहुआयामिक
फाइदा छन् । यसले निर्माणाधीन तीन
जलविद्युत आयोजनालाई फाइदा पुग्नेछ
भने अरू थप आयोजना निर्माण गर्न
पूर्वाधार खडा हुनेछ ।
यो सडक राष्ट्रिय प्राथमिकता
आयोजनामा राख्नुपर्छ । तत्कालै
आवश्यक बजेट विनियोजन गरेर काम सुरु
हुनुपर्छ । एउटा स्टेयरिङ कमिटी बनाएर
जहाँ जे समस्या आइपर्छ, त्यहीं निर्णय
गर्ने अधिकार दिएर डेढ वर्षभित्र बाटो
सम्पन्न गर्न सकिन्छ । सेनाले यसमा
प्रस्ताव पनि राखिसकेको छ । सडक
विभागका प्राविधिकहरूले पनि
स्वीकार गरिसकेका छन् । सरकारले आँट्ने
हो भने सम्भव छ ।
हाल चलिरहेको बेत्रावती,
कालिकास्थान, धुन्चे, स्याफ्रुबेँसी
सडकमा २ सय मिटरको फरकमा ठूला
गाडी पास हुनसक्ने गरी सडक
फराकिलो बनाउँदा तत्काल समाधान
हुन्छ । संसदीय समितिले स्थलगत
निरीक्षण गरेर फर्केलगत्तै सरकारका दुई
सरोकारवाला मन्त्रालयको नेतृत्व गर्ने
मन्त्रीहरूले रसुवामै पुगेर जुन प्रतिबद्धता
व्यक्त गर्नुभएको छ ।
त्यसलाई तत्कालै व्यवहारमा
कार्यान्वयन गर्दै अघि बढ्ने हो भने
काठमाडौंबाट केरुङको दूरी १३०
किलोमिटरमा सीमित हुनेछ । यो
नेपालको दीर्घकालीन विकासका
लागि अत्यावश्यक सडक हो । यो
सडकको निर्माण र माथिल्लो सडकको
विस्तार तथा स्तर उन्नति भएपछि
नेपालको सबैभन्दा व्यस्त र रणनीतिक
महत्त्वको उत्तरी नाका रसुवागढी–केरुङ
हुनेछ ।
यो सडक २ वर्षभित्र बनाउन सकियो भने
दक्षिण एसियाली मुलुकहरूलाई सडक
सञ्जालसँग जोड्ने यो सबैभन्दा छोटो
मार्ग हुनेछ । बेत्रावती, कालिकास्थान,
धुन्चे हुँदै स्याफ्रुबेँसीसम्मको सडकको दूरी
५४ किलोमिटर छ । अब बन्ने मैलुङ—
स्याफ्रुबेँसी सडकको दूरी ३२
किलोमिटर हुनेछ । यस हिसाबले
गल्छीबाट रसुवागढीसम्मको सडक दूरी
जम्मा ८४ किलोमिटर मात्र हुनेछ ।
चीनले दुई वर्षभित्रमा केरुङसम्म रेलवे सेवा
जोड्ने घोषणा गरिसकेको अवस्थामा
रसुवागढी नाकासम्म पुग्ने हाम्रो
सडकको रणनीतिक महत्त्व आफैंमा
अर्थपूर्ण छ । चीनले रसुवागढी—केरुङ सडक
मार्गलाई थप विस्तार गरेर यसको संकेत
दिइसकेको छ । यो हाम्रालागि
अवसरको ढोका खोल्ने नाका हो भन्ने
कुरा बुझ्न सकियो भने आगामी दिनहरू
राम्रा हुनेछन् ।
उता दक्षिणको छिमेकी भारतले पनि
नरकटियागन्जसम्म रेलवे सेवालाई
स्तरोन्नति गरी हाम्रो पर्सा
जिल्लाको ठोरी नाकासम्म विस्तार
गर्ने योजना बनाएको छ । पर्साको
ठोरीबाट रसुवागढीसम्मको सडक दूरी २
सय ८० किलोमिटर हुनेछ ।
यसरी भन्न सकिन्छ कि चीनले केरुङ र
भारतले ठोरीसम्म रेलवे सेवा विस्तार
गर्दा हाम्रो ठोरी—रसुवागढी सडक
जोडियो भने भारत र चीन जोड्ने
योभन्दा छोटो मार्ग अरू हुने छैन ।
हामीले त्रिदेशी व्यापार विस्तारका
लागि पनि रसुवागढीलाई विकास गर्न
सक्नुपर्छ ।
रसुवागढी नाका सञ्चालन गर्दै गर्दा
केही चुनौती, केही अप्ठेरा र केही
प्राविधिक समस्याहरू देखिएका छन् ।
कतिपय कूटनीतिक तहबाट हल गर्नुपर्ने छन्
भने कतिपय स्थानीय तहबाट समाधान
गर्न सकिन्छ । चीनको सुरक्षा चासो
रहेको तिब्बती क्षेत्र भएकाले अवश्य पनि
हामीले उसको कठिनाइ बुझ्नुपर्छ ।
रसुवागढी नाकामा विक्रम संवत् १९०८
मा जंगबहादुर राणाको पालामा
बनेको गढी संरक्षण नहुँदा अस्तित्व नै
खतरामा परेको छ ।
नेपाल र तत्कालीन भोट युद्धका बेला
हाम्रा वीर पुर्खाले फोर्टिफिकेसन
कसेर लडाइँ लडेको रसुवागढी
किल्लालाई पुरातत्त्व विभागमार्फत
तत्काल मर्मत—सम्भार तथा संरक्षणको
काम अघि बढाउनुपर्ने देखिएको छ ।
यसलाई पर्यटकीय स्थलका रूपमा संरक्षण
गर्न सकियो भने मुलुकले फाइदा लिन
सक्छ । किनकि यो नेपाल र चीनबीच
इतिहाससँग जोडिएको ऐतिहासिक
गढी हो ।
पारिपट्टि चीनले अत्याधुनिक भौतिक
संरचना र पूर्वाधारहरू खडा गरेको छ ।
वारि नेपालतिर प्रहरीको अस्थायी
सुरक्षा पोष्टसमेत बनाउन सकिएको छैन ।
माथि भीरबाट ढुंगा लडिरहने भएकाले
व्यवस्थित सुरक्षा पोष्ट निर्माण गर्नु
पर्नेछ ।
सीमानाकामा आधुनिक र सुरक्षित
भौतिक पूर्वाधारहरू निर्माण गर्न
सरकारले फास्ट ट्रयाक प्रक्रिया
अवलम्बन गर्नुपर्छ । भन्सार कार्यालय
व्यस्त भइसकेको छ । त्यहाँको पूर्वाधार
निर्माणमा त्यहींबाट उठ्ने राजस्व नै
पर्याप्त हुनसक्छ । केरुङ आउन—जान
नेपाली सवारी चालकहरूलाई केही
प्राविधिक समस्याहरू देखिएका छन् ।
तिनलाई अस्थायी पास जारी गर्ने र
सहज आवागमन व्यवस्था गर्न सरकारले
कूटनीतिक पहल चालिहाल्नुपर्ने
देखिएको छ । रसुवा जिल्लाका
बासिन्दा रहेका चालकले मात्र केरुङ
जान पाउने गरेका छन् । भाषाको
समस्यालाई पनि ध्यान दिनु पर्नेछ ।
चीनको असजिलो नेपालले बुझ्ने र
नेपालको असजिलो चीनले बुझ्ने
वातावरण बनाउनुपर्छ । मन राम्रो भएर
मात्र हुँदैन । यो बाटोबाट इन्धन
लगायतका सबै सामान नेपाल ल्याउन
सकिन्छ । दुई देशबीच व्यापारिक
सम्झौता गरेर इन्धन आपूर्ति गर्न बाटो
बाधक छैन ।
भविष्यमा केरुङबाट बेत्रावतीसम्म
पेट्रोलियम पाइप लाइन बिछ्याउने
सकियो भने त्यो सबैभन्दा फाइदाजनक
हुनेछ । मलाई विश्वास छ, भविष्यमा दुई
साँढे दुई वर्षभित्रमा रसुवागढी मुलुककै
सबैभन्दा ठूलो नाका हुनसक्छ ।
यतिखेरको आवश्यकता दृढ इच्छाशक्ति र
मुलुक बनाउने नियत हो, अरू कुनै समस्या
छैन ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved